दार्चुला- आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहालवाला मन्त्री र पूर्व मन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो।
मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र लगायतको साथ छ भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा छन्।
आसन्न निर्वाचनमा एमालेले कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमित भूमिको मुद्दालाई चुनावी मुद्दा बनाएर केन्द्रीय नेतृत्वलाई नै यहीबाट चुनावी अभियान सुरूआत गरेको थियो। २०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट ठगुन्ना लगातार २ पटक निर्वाचित भएका थिए।
२०७४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका मन्त्री बडूलाई यसपटक सत्ता गठबन्धनको दरिलो साथ रहेको बताइन्छ। उनलाई हारको बदला लिने र प्रदेशसभामा सत्ता गठबन्धनका दुवै उम्मेदवारलाई निर्वाचन जिताउनुपर्ने चुनौती छ भने पूर्वमन्त्री ठगुन्ना तेस्रोपटक जीतलाई निरन्तरता दिने दाउमा छन्।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार ८९ हजार १५४ मतदाता रहेको जिल्लामा ९ पालिका रहेका छन्। प्रतिनिधिसभामा बडू, ठगुन्नासहित ९ जना उम्मेदवार रहेका निर्वाचन कार्यालयले जनाएको छ। २०७४ सालको निर्वाचनमा पराजित विक्रमसिंह धामी दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (१) बाट सत्ता गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार छन्। प्रदेश (२) बाट गठबन्धनले माओवादी नेता एवं सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी उम्मेदवार छन्।
यसैगरी प्रदेशसभा क्षेत्रमा एमालेले (१) मा नेता हरदेव जोशी र (२) मा रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ। एमाले दार्चुला अध्यक्ष प्रेमसिंह धामीले आफ्नो पार्टी निर्वाचन जित्नेमा ढुक्क रहेको बताए।
कांग्रेस दार्चुलाका पार्टी सभापति एवं प्रतिनिधि सभाका समानुपातिक तर्फका उम्मेदवार ललित बोहराले दार्चुलामा गठबन्धन सफल हुने दाबी गरेका छन्।