शुक्रबार, जेठ २९, २०८३

तनहुँमा सुन्तला उत्पादन घट्दा किसान चिन्तित

अत्यधिक वर्षा र असिनाका कारण बगैँचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

तनहुँ- जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका-२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ।

National life

अत्यधिक वर्षा र असिनाका कारण बगैँचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो। गत वर्ष यो गाउँबाट दुई करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले बताए। 

उनले गत वर्ष ५५ लाख रुपैयाँको सुन्तला बिक्री गरेको र यस वर्ष ५० प्रतिशत पनि सुन्तला बिक्री गर्न नसकिएको बताए। यस वर्ष बोटमा सुन्तलाको दाना राम्रोसँग नलागेपछि किसान निरास भएका हुन्। सुन्तला पाक्ने सिजनमा बगैँचामा लटरम्म फल्ने गरे पनि यसपटक भने उत्पादनमा आधा कमी आएको किसान निर्मल अधिकारीले जानकारी दिए।  

उनले गत वर्ष ३० लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए। उनले भने, 'यसपटक छ/सात लाखको पनि कारोबार गर्न नसक्ने देखिएको छ।' यसपटक पानीले गर्दा सुन्तलाको उत्पादन राम्रो नभएका कारण त्यसक्षेत्रका किसान चिन्तित भएको उनले बताए। उमाचोकमा करिब ४० जना कृषकले सुन्तलाखेती गर्दै आएका छन्। 

केही कृषकले सुन्तला बिक्री गरेको र केही किसानको सुन्तला नपाकेका कारण बगैँचामै रहेको किसानहरु बताउँछन्। गतवर्ष त्यस क्षेत्रका प्रत्येक कृषकले पाँचदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए।

Shivam cement

यस वर्षको सुन्तला उत्पादनले उनीहरुमा निरासा छाएको बताइएको छ। जिल्लाको अन्य स्थानमा सुन्तला उत्पादन राम्रो भए पनि उमाचोक पकेट सुन्तला उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कूलप्रसाद तिवारीले बताए।   -रासस

प्रकाशित: Nov 11, 2022| 06:05 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्