काठमाडौं- बाग्मती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता लागू भइसकेपछि बाग्मती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएको विषयमा आयोगले मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको हो।
आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ।
प्रदेश सरकारले गएकाे असोज ३० गते ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो। यो निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिकूल रहेको देखिन्छ। आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई यी अध्यादेश राजपत्रमा प्रकाशित नगर्नसमेत निर्देशन दिएको छ।