काठमाडौं– २०७० को निर्वाचन परिणामसँगै सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्र काठमाडौं–१० थियो। काठमाडौं–१० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेस उम्मेदवार राजन केसीले पराजित गरेपछि यो क्षेत्र चर्चित बनेको हो। आगामी ४ मंसिरको निर्वाचनमा पनि यो क्षेत्र चर्चामा छ।
सत्तारुढ गठबन्धनबाट दुई जना उम्मेदवार भएपछि यो क्षेत्र चर्चामा रहेको हो। सत्ता गठबन्धनकै दुई दल कांग्रेसबाट केन्द्रीय सदस्य राजन केसी र नेकपा माओवादी केन्द्रकी अञ्जना बिशंखे प्रतिस्पर्धामा उत्रिएका छन्। नेकपा एमालेले हिमेश केसीलाई मैदानमा उतारेको छ। २०७० र २०७४ मा समेत प्रत्यक्ष चुनाव जितेका राजनलाई समानुपातिकबाट माओवादीबाट सांसद बनेकी अन्जनाले टक्कर दिन लागेकी छन्।
सत्ता गठबन्धनमा आएको विभाजनको फाइदा उठाउन एमालेले ३९ वर्षीय हिमेश केसीलाई उम्मेदवार बनाएको छ। २०५८ बाट एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कीर्तिपुर नगर वडा सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका केसीले युवा संघकै नगर सहसचिव, क्षेत्रीय सदस्य, जिल्ला सदस्य, केन्द्रीय सदस्य, ललितपुर जिल्ला इन्चार्ज, काठमाडौं जिल्ला इन्चार्ज, स्थायी कमिटी सदस्य हुँदै केन्द्रीय सह–कोषाध्यक्ष, प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पूरा गरेका छन्।
त्यसपछि उनी पार्टी राजनीतिमा सक्रिय हुन थालेका हुन्। पार्टीकै काठमाडौं जिल्ला सदस्यका रूपमा सक्रिय भइरहँदा उनलाई एमालेले युवा उम्मेदवारका रूपमा काठमाडौं क्षेत्र–१० बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ। केसी पार्टीसहित आफ्ना विकास, युवा एजेन्डा र जनताका जल्दाबल्दा समस्यालाई हल गर्ने एजेन्डा बोकेर मत माग्दै जनतामाझ पुगिरहेका छन्।
उनले भने, ‘मेरो पार्टी एमालेले अगाडि बढाएको सुखी नेपाली समृद्ध नेपाल नारासहित राजनीतिक स्थायित्व, राष्ट्रियता र समृद्धि नै चुनावका मुख्य एजेन्डा हुन्। त्योसँगै मेरो निर्वाचन क्षेत्रभित्रका थुप्रै एजेन्डालाई अगाडि बढाउनेछु । राजधानीको जिल्ला भएर पनि यो क्षेत्र विकासमा पछाडि परेको छ।’
उनले चुनावी एजेन्डामा सडक, स्वास्थ्य, शिक्षा, रोजगारीसहित सांस्कृति सम्पदाको संरक्षण गर्ने विषय पनि समेटेका छन्। उनले विकास निर्माणदेखि समाज सुधारका काममा युवा परिचालनमा जोड दिने, दक्षिणकाली–कीर्तिपुर, चन्द्रागिरिलगायत सहरको खानेपानी समस्यालाई दीर्घकालीन रूपमा अन्त्य गर्ने एजेन्डा अगाडि सारेको बताए।
निर्वाचन क्षेत्रभरि रहेका साना–ठूला सबै सडक स्तरोन्नति गरी कालोपत्र गराउने अभियान विजय हुनासाथ थाल्ने उनको भनाइ छ। केसीले चुनाव जित्नका लागि आफ्ना एजेन्डा मुख्य आधार भएको दाबी गरे। काठमाडौं–१० का मतदाता परिवर्तनको पक्षमा देखिएको भन्दै विगतमा २÷२ पटक कांग्रेसका उम्मेदवारलाई विजय गराउँदा १० वर्ष त्यसै खेर फाल्यौं भनिरहेको उनको भनाइ छ।
उनले भने, ‘काठमाडौं–१० का जनताले परिवर्तन खोजेका छन्। मैले त्यो परिवर्तनलाई पूरा गर्न सक्छु। म आफैं युवा भएकाले यहाँका अधिकांश युवाको रोजाइ–खोजाइमा छु। यो नै मेरो जित्ने आधार हो।’ उनले एमालेको पूरै पार्टीपंक्ति चुनावी अभियान लिएर टोलटोल, गाउँ–गाउँमा परिचालित भइरहेको सुनाए।