धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ गैरीगाउँका ४० वर्षीय तेजबहादुर लिम्बूले बुधबार बिहान ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका छन्।
बिहान उठेर घरमा बसिरहेका बेला आएका तेजबहादुरले पछाडिबाट धारिलो हतियारले घाँटी काटेको प्रहरीले जनाएको छ। साइनोले काका पर्ने भगिश्वरको तेजबहादुरले हत्या गरेका हुन्।
मानसिक सन्तुलन ठीक नभएका तेजबहादुरले धारिलो हतियारले आक्रमण गरेका थिए। आक्रमण पछि घाइते भएका भगीश्वरको स्थानीय अस्पताल पुर्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
घटनापछि सूचना पाएको प्रहरीले टोली पठाएको र अहिले घटनास्थल पुगेर प्रहरी अनुसन्धान तथा शव जाँचबुझको काम गरिरहेको छ। प्रहरीले ओरोपी तेजबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ।
मृतक भगिश्वरको शव पोष्टमार्टमको लागि धनकुटा अस्पताल ल्याउने तयारी भइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मिराज अधिकारीले जानकारी दिए।