काठमाडौं- डोटीमा ६ जनाको ज्यान जानेगरी गएको भूकम्पका कारण स्थानीय त्रसित बनेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युटको भूकम्पपछि पराकम्प जाने क्रम जारी रहेकाले स्थानीय त्रसित बनेका हुन्।
पूर्वीचौकी गाउँपालिकाकी सरस्वती साउदले लगातार पराकम्प जाने क्रम जारी रहेको बताएकी छन्। 'जिल्लाका विभिन्न स्थानमा घरहरू भत्किएका छन्। ६ जनाको ज्यान गएको गैरा गाउँमा त झनै अधिकांश घरमा क्षति पुगेको छ। म अहिले घटनास्थलमै छु,' उनले भनिन्। साउदले तीन घरका ६ जनाले ज्यान गुमाउनुका साथै ८ जना घाइते भएको बताइन्।
पहिलो पटक ९ बजेर ७ मिनेटमा ५.७ भूकम्प म्याग्निच्युटको भूकम्प जाँदा डोटी सदरमुकाम शिलगढीस्थित एक होटेलमा खाना खाइरहेको उनले बताइन्। 'चुनावी प्रचारप्रसारका क्रममा रहेकाले हामी होटेलमा खाना खाइरहेका थियौं। भूकम्प आएपछि मान्छेहरूको भागाभाग भयो। दोस्रो पटक ९ बजेर ५६ मिनेटमा भूकम्प जाँदा साजघाट सुत्न जानका लागि गाडीमा थियौं। राति २ बजेर १२ मिनेटमा रातबाजको बोगटी होटेलमा सुतेका थियौं। भूकम्पले नमज्जाले हल्लाउँदा भागाभाग भयो,' उनले भनिन्।
पूर्वी गाउँपालिकाकी पूर्व उपाध्यक्ष निर्मलादेवी साउदले आज मानवीय क्षति भएकै गाउँमा एमालेको चुनावी कार्यक्रम रहेकाले त्यसकै तयारीमा रहेको बेला अप्रिय घटना घटेको बताएकी छन्। अहिले आफूहरू घटनास्थल पुगेर उद्धारमा खटेको उनको भनाइ छ।
भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीय सीता बोहरा, ४० वर्षीय बगबती बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले बताए।
सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, विस्ना देवी बोहरा, थाना बोहरा, महावीर बोहरा, केशर सिंह बोहरा र जगु देवी बोहरा घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको डीएसपी भट्टले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले थप उद्धार गरिरहेको प्रहरीले जनाएको छ।

