काठमाडौं- गएराति डोटीको खप्तड क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीनवटा भूकम्प गएका छन्। भूकम्पका कारण ठूलो मानवीय क्षतिसमेत भएको छ।
बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण डोटीमा ठूलो मानवीय क्षति भएको हो।
डोटीको पूर्वी चौकीमा भूकम्पमा परी ६ जनाले ज्यान गुमाएका छन्। खप्तडलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो।
त्यसपछि अर्को भूकम्पको धक्का मंगलबार राति नै ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्निच्युडको महसुस भएको थियो।
बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ भूकम्पले भने मानवीय क्षति गरेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टका अनुसार उक्त भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षी प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया कीतुलछी बोहरा रहेका छन्।
घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा रहेका छन्।