काठमाडौं- ललितपुर क्षेत्र नम्बर १ लोकतान्त्रीक वाम गठबन्धनका साझा उम्मेदवार उदय शम्शेर राणाले कान्ति लोकपथ सडक निर्माण रोकिँदा सडक आसपासका जनताले सास्ती भोग्नु परेको बताएका छन्।
२०७४ सालपछि विकास भन्दा पनि विनास बढी भएको बताउँदै नेता राणाले कान्ति लोकपथ सडक तराईसँग ललितपुर र काठमाडौं जोड्ने मेरुदण्ड भएको बताए।
आज टिकाभैरबमा घरदैलो सभालाई सम्बोधन गर्दै उनले कान्ति लोकपथ सडक राम्रो र कालोपत्रे गर्न सके टिकाभैरब र लेले क्षेत्र अर्को थानकोट, नारायणघाट जस्तै व्यापारिक हब बन्न सक्ने सम्भावना रहेको बताए।
उनले भने, ‘हामी गठबन्धनका साथीहरू जितेर गैसकेपछि यो कान्ति लोकपथ सडकलाई प्राथमिकताकासाथ विकास गर्छौं। यो सडक मात्रै नभएर यस क्षेत्रका सबै सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कुरामा हामी प्रतिबद्ध छौं।’
त्यस्तै क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का साझा उम्मेदवार मीनकृष्ण महर्जनले आफु निस्वार्थ भावनाले राजनितिमा आएको बताए। उनले ललितपुरको समग्र विकास र जनताको सुख दुःखमा साथ दिन राजनितिमा प्रवेश गरेको बताए।
नेता महर्जनले ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रचुर सम्भावना बोकेको ललितपुरको विकास र निकासका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूको जित अपरिहार्य भएको बताए।