शनिबार, वैशाख १५, २०८१

यसकारण फेरि विद्रोह गर्दैछ चिसापानी

साविकको हटिया गाविसमा पर्ने चिसापानी अहिले हेटौंडा उपमहानगरपालिकाको १७ नम्बर वडा पर्छ। अधिकांश बसाइँसराइ गरेर आएका मानिसहरुको बस्ती रहेको यो क्षेत्र राजनीतिक रुपमा उच्च चेतना भएको क्षेत्र हो।
 |  मंगलबार, कात्तिक २२, २०७९

खिला कार्की

खिला कार्की

मंगलबार, कात्तिक २२, २०७९

मकवानपुर (चिसापानी)– मकवानपुर जिल्ला राजनीतिक रुपमा धेरै नै सचेत जिल्ला हो। अझ मकवानपुरलाई विद्रोहको चेत भएको जिल्ला पनि भनिन्छ। थाहा अभियन्ता रुपचन्द्र विष्ट, कम्युनिष्ट नेता भक्तबहादुर श्रेष्ठ जस्ता विद्रोहका चेत भएको नेताहरुको जिल्ला भएकाले पनि मकवानपुरलाई साँच्चै राजनीतिक रुपमा विद्रोह चेत भएको जिल्लाका रुपमा लिने गरिन्छ।

triton college

रुपचन्द्र विष्ट मकवानपुरको अहिलेको क्षेत्र नम्बर २ को थाहा नगरपालिकाका बासिन्दा हुन्। उनले मकवानपुरको दामन–पालुङ क्षेत्रका नागरिकलाई सचेत बनाएका थिए। त्यस्तै हटिया, चिसापानी, बागमती, बकैया क्षेत्रमा कम्युनिष्ट नेता भक्तबहादुर श्रेष्ठले नागरिकलाई सचेत बनाएका थिए। यी दुई क्षेत्रमध्ये रुपचन्द्र विष्टको क्षेत्र अहिले मकवानपुर क्षेत्र नम्बर २ मा पर्छ भने चिसापानी मकवानपुर क्षेत्र नम्बर १ मा।

साविकको हटिया गाविसमा पर्ने चिसापानी अहिले हेटौंडा उपमहानगरपालिकाको १७ नम्बर वडा पर्छ। अधिकांश बसाइँसराइ गरेर आएका मानिसहरुको बस्ती रहेको यो क्षेत्र राजनीतिक रुपमा उच्च चेतना भएको क्षेत्र हो। २००९ सालदेखि नै यो क्षेत्रका नागरिक सचेत थिए। २००९ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री थिए। चिसापानी क्षेत्रमा प्रधानमन्त्री निकट मान्छेहरुले धमाधम जग्गा कब्जा गर्न लागेपछि स्थानीयले विद्रोह गरेर सरकारी जग्गा जोगाए। स्थानीयवासीको यो विद्रोही चेत अझै कायम छ। स्थानीयको यो विद्रोहको चेतलाई सो क्षेत्रका क्रान्तिकारी नेता भीमबहादुर श्रेष्ठले नेतृत्व गरे अनि सिंगै चिसापानीलाई लालकिल्ला बनाए। 

पञ्चायतकालमा हटिया गाविसको चिसापानीका तत्कालिन मालेका महासचिव सीपी मैनालीको ‘सेल्टर’ थियो। सीपी मैनाली मकवानपुरमा गएको बेलामा हटियाकै बेलकुमारी थापाको घरमा बस्ने गर्थे। त्यही जम्मा हुने गर्थे मकवानपुरे कम्युनिष्टहरु। २०३९ सालतिर एक पटक ञ्चायती प्रशासनले कम्युनिष्ट नेताहरु रहेको सूचनाका आधारमा घेरावन्दी गरेर पक्राउ गर्ने प्रयासलाई समेत यो क्षेत्रका नागरिकले असफल पारेका थिए। त्यही बेलादेखि यो क्षेत्रलाई पञ्चायती प्रशासनले ‘रेड जोन’ घोषणा गरेर निगरानी बढाएका थियो। 

साविकको हटिया गाविसमा पर्ने चिसापानी अहिले हेटौंडा उपमहानगरपालिकाको १७ नम्बर वडा पर्छ। अधिकांश बसाइँसराइ गरेर आएका मानिसहरुको बस्ती रहेको यो क्षेत्र राजनीतिक रुपमा उच्च चेतना भएको क्षेत्र हो।

चिसापानी क्षेत्रको चिया पसलमा भेटिएका लोकनाथ बाँस्तोलालाई ४ मंसिरमा हुने चुनावको अवस्थाका बारेमा सोध्दा उनले यो पटकको चुनाव ‘गज्याङमज्याङ’ टिप्पणी गरे। उनले भने, ‘आफू त किसान हो, धेरै कुरा जानकारी पनि हुँदैन। तर यो पटकको चुनाव मंसिरमा धान काटेपछि मुठ्ठा बाँधेर राखेको सग्लो पराल जस्तो हैन, मेसिनले काटेर टुक्रा टुक्रा बनाएको पराल जस्तो चुनावी माहोल छ।’ उनको आशय चुनावी परिणाम यसै भन्न सक्ने अवस्थाको नहुने थियो। बाँस्तोला ०३० कै दशकमा नगरकोटबाट चिसापानी पुगेका रहेछन्। उनले केही स्वतन्त्र उम्मेदवार पनि रहेको र परिणाम यसै हुन्छ भन्ने अवस्था अझै नबनेको बताए।

corrent noodles
Metro Mart

उनले भने, ‘अहिलेसम्म चुनावी अवस्था मिश्रित छ। हामी त हलो कोदालो ताक्ने मान्छे हो। धेरै कुरा राजनीति ताक्नेलाई जानकारी होला।’  पञ्चायतकालदेखि नै यो क्षेत्रमा राजनीति गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाको अवस्थाका बारेमा सोध्दा बाँस्तोलाले भने, ‘कमल थापाको क्रेज उसको पार्टीमा होला। जनतामा केही क्रेज छैन।’ पञ्चायतकालदेखि पञ्चायत विरोधी यो क्षेत्रका मतदाता नेकपा एमालेले कमल थापालाई उम्मेदवार बनाएकोमा पनि असन्तुष्ट देखिए। धेरै एमालेका नेताहरु पनि कमल थापाको अभियानमा नदेखिएको यो क्षेत्रका नागरिकको भनाइ छ। 

निर्वाचनबारे गफिँदै चिसापानीका स्थानीय।
लामो समयदेखि शिक्षण पेशा गर्दै आएका विष्णुमान श्रेष्ठले त आफूलाई  भोट हाल्न नै मन नभएको बताए। उनले भने, ‘भोट हाल्न पनि मन छैन। तर हामीले भोट नहाले पनि एउटा न एउटाले त जितिहाल्छ। अब चोरमध्येको अलि कम चोरलाई भोट हाल्ने हो।’ नेकपा एमाले निकट शिक्षक संगठनमा आवद्ध रहेका शिक्षक श्रेष्ठ पनि ०३० को दशकदेखि नै कम्युनिष्ट राजनीति चेत भएका त्यो क्षेत्रका अगुवा हुन्। उनले मकवानपुरमा रुपचन्द्र विष्ट र भक्तबहादुर श्रेष्ठले राजनीतिक चेतनाको विकास गरेको बताए। श्रेष्ठले मकवानपुरको हटिया, चिसापानीका साथै बागमती र वकैया गाउँपालिकाको भोट विगतमा पनि विचित्र ढंगले ‘पुलिङ’ हुने सुनाए।

उनले भने, ‘यहाँ एउटै घरको भोट कहिल्यै पनि एउटै पार्टीलाई गएको छैन। यो भेगलाई मकवानपुरको लालकिल्ला भनिन्थ्यो। निवर्तमान सांसद कृष्णप्रसाद दाहालले त्यही लालकिल्लाको ब्याज खाए। अहिले कमल थापालाई उम्मेदवार बनाएपछि एमालेमा उत्साह देखिएको छैन।’ शिक्षक श्रेष्ठले कमल थापाले २०७४ सालमा कांग्रेसको सहयोगमा उम्मेदवार बन्दा करिब ३५ हजार भोट ल्याएको बताए। उनले भने, ‘२०७४ सालमा कमल थापाले कांग्रेसको सहयोगमा चुनाव लड्दा ३५ हजार मत ल्याएका थिए। त्यो भोटमा सबैभन्दा धेरै कांग्रेसको थियो। अहिले कमल थापाले राप्रपा नेपाल खोलेपछि राप्रपाको पनि मत विभाजित भएको छ।’ 

मकवानपुर-२  का उम्मेदवार कमल थापा। 
उनले एमालेका ५० प्रतिशत कार्यकर्ताले मात्र कमल थापालाई भोट हाल्ने दाबी गरे। उनले भने, ‘केपी ओलीले दिए भन्दैमा हुँदैन। पदका लागि जहाँ पनि जाने जे पनि गर्ने भन्ने छवि कमल थापाको छ। अहिलेकै अवस्था कायम रहे कमल थापालाई हम्मेहम्मे पर्छ।’ शिक्षक श्रेष्ठले बकैया र मकवानपुर गढीमा स्थानीय तहको चुनावमा नै वडाध्यक्षहरुको अत्यधिक खर्च भएको ठाउँ भएकाले यो क्षेत्रमा पैसाको प्रभाव बढी हुने बताए। पैसाको चलखेल हुने बेलामा कमल थापा र राप्रपाका उम्मेदवार दीपक सिंह दुवैले खर्च गर्ने भएकाले भोट कता जान्छ भन्ने सक्ने अवस्था नभएको उनको तर्क छ।

भर्खरै पार्टी छोडेका कांग्रेसका जिल्ला सदस्य नामदेव सिलवालले भने आफू राजेन्द्र लिङ्देनको भ्रष्टाचार विरोधी नारा राम्रो भएका कारण राप्रपाका उम्मेदवार दीपक सिंहको प्रभाव पनि राम्रो रहेको बताए। भ्रष्टाचार विरोधी नाराका कारण प्रत्यक्ष मात्र नभएर समानुपातिक तर्फको मतमा पनि राप्रपाको प्रभाव राम्रो हुने सिलवालको तर्क थियो। सिलवालको तर्कमा शिक्षक श्रेष्ठ पनि सहमत देखिए। श्रेष्ठले भने जनताले विकासका नारा पत्याउने छोडेको बताए। उनले भने, ‘विकास भनेको एउटा प्रक्रियाले हुने हो भन्ने जनताले बुझेका छन्। अर्को विकास गर्ने भनेको स्थानीय सरकारले रहेछ भन्ने पनि जनताले पाँच वर्षमा बुझेकाले विकासको नारा प्रतिनिधिसभा र प्रदेशसभामा बिक्न छोडेछ।’

मकवानपुर-की उम्मेदवार महालक्ष्मी उपाध्याय। 
मकवानपुरको यो क्षेत्रमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार छिन्। एमालेको सहयोगमा राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन्। त्यस्तै राप्रपाबाट दीपक सिंह उम्मेदवार बनेका छन्। गत स्थानीय तहको चुनावमा हेटौंडा उपमहानगरपालिको मेयरको उम्मेदवार बनेका सिंह अहिले डिना र थापाका प्रतिष्पर्धी बनेका छन्।

गत स्थानीय तहको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सिंह, नेकपा एकीकृत समाजवादीकी मीना लामा र नेकपा एमालेका अनन्त पौडेलबीच मेयरमा प्रतिष्पर्धा भएको थियो। समाजवादीकी लामा २३ हजार ७५ मत ल्याएर प्रमुखमा विजयी भइन्। कडा काउन्टर दिएका पौडेलले २० हजार ९०८ र सिंहले २० हजार ५३१ मत ल्याएका थिए। स्थानीय चुनावमा नेपाली कांग्रेसको उम्मेदवार नहुँदा सिंहलाई भोट दिने मतदाता धेरैले यो पटक कांग्रेस उम्मेदवारलाई भोट दिने हुँदा सिंह प्रतिष्पर्धामा आउने अनुमान गर्न नसकिने बुद्धिजीवीहरुको भनाइ छ।

प्रकाशित: Nov 08, 2022| 17:25 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...