काठमाडौं- ९० वर्षीय मदनविक्रम पाण्डे मंगलबार बिहान ८ बजेतिर सिफलस्थित जयबागेश्वरी मार्गमा एक्लै हिँडिरहेका थिए। लौरोको सहारामा हिँडिरहेका उनको गति सुस्त थियो।
एकाएक पाण्डेको पछाडिबाट ‘स्पिकर’मा नेकपा एमालेको चुनावी गीत घन्काउँदै तन्नेरीहरुको टोली पनि निस्कियो। सँगसँगै थिए, काठमाडौं क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार राजन भट्टराई। योजनाअनुसार तोकिएका सबै घरदैलोमा छिटै पुग्नुपर्ने दबाबमा रहेका भट्टराईको टोलीले ती वृद्ध पाण्डेलाई सडकमै भेटे। हातमा पर्चा थमाए र मतको अपिल गर्दै शीर झुकाए– एकपटक मलाई मौका दिनुपर्यो हजुर। आशीर्वाद दिनुस्।
पाण्डेले पनि भट्टराईलाई आशीर्वाद दिएझैं गरे। मत दिने प्रतिबद्धता जनाए। तर जब भट्टराईको टोली पाण्डेलाई छोडेर अघि बढ्यो, उनको मुखबाट नेताहरुप्रतिको आक्रोश सुनिन थाल्यो। आफूले मनमोहन अधिकारीदेखि अघिल्लो चुनावसम्म निरन्तर भोट खसालेको दाबी गर्ने उनमा अब भने उम्मेदवारबाट कुनै आश थिएन।
भट्टराईका कार्यकर्ताले दिएको पर्चा हेर्दै केहीबेर घोत्लिए ९० वर्षे पाण्डे। थोरै आश राख्ने ठाउँ छ कि भन्दै मसिना अक्षरमा लेखिएको प्रतिबद्धता पढ्ने प्रयत्न गरिरहे। पर्चामा लेखिएका केही अक्षरहरु छिचोलिसकेपछि पाण्डेले आफू अगाडि उभिएका सञ्चारकर्मीलाई हेरे। सन्तुष्ट देखिएका थिएनन् उनी।
मंगलबार बिहान भट्टराईको घरदैलोमा कतै यस्तै असन्तोष सुनिन्थ्यो त कतै फूलमाला र खादा लिएर बसेका मतदाता भेटिन्थे। मतदाता सडकमै आएर एमालेको चुनावी गीतमा नाचिरहेका केही दृश्य पनि देखिए। कतिपयले भट्टराईलाई नौलो मानेर हेरिरहेको दृश्य पनि घरदैलोमा देखियो।
त्यसपछि हामीले उनको मतबारे जिज्ञासा राख्यौं। भर्खरै पर्चा थमाएर गएका भट्टराई र कांग्रेसबाट उम्मेदवार रहेका गगन थापा दुवैप्रति उनी असन्तुष्ट सुनिए। बरु लेखेको कुरा पूरा नगर्ने बानी नेताहरुलाई लागिसकेको बताउँदै आक्रोश पोखे, ‘उबेला झापामा ओलीलाई जिताइयो। अहिले यता छु। आजसम्म यति दुःख गरेर भोट हालियो, आखिर कान फुकेरै प्रधानमन्त्री बनाउँछन्। देउवा, ओली जो भए पनि कान फुकेर प्रधानमन्त्री बनाउँछन्। अनि के आशले लाइन लाग्न जाने?’
एमालेको पर्चा समाएका पाण्डेले ओलीप्रति लक्षित गर्दै थप भने, ‘रेल ल्याउँछु भन्छ, आफू हवाईजहाजमा हुइँकिन्छ। के पत्याउने?’ आक्रोश पोख्दै उनले आफ्नो बाटो तताए। यद्यपि, मुर्मुराउन भने छोडेका थिएनन्। बेलाबेला सबै दलहरुलाई एउटै डालोमा हालेर मूल्यांकन गरिहाल्थे– ‘जो आए पनि उस्तै हो।’
मंगलबार बिहान भट्टराईको घरदैलोमा कतै यस्तै असन्तोष सुनिन्थ्यो त कतै फूलमाला र खादा लिएर बसेका मतदाता भेटिन्थे। मतदाता सडकमै आएर एमालेको चुनावी गीतमा नाचिरहेका केही दृश्य पनि देखिए। कतिपयले भट्टराईलाई नौलो मानेर हेरिरहेको दृश्य पनि घरदैलोमा देखियो। मंगलबार बिहान सिफल चौरबाट सुरु गरेर नाली टोल, जयबागेश्वरी, इटा टोल, दथु टोल, पाचा टोलहुँदै भुवनेश्वरीसम्म उनको घरदैलो कार्यक्रम थियो।
यही क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि उम्मेदवार रहेका छन्। केही दिनअघिबाट थापाले पनि घरदैलो अभियान सुरु गरेका छन्। दुवै उम्मेदवारको घरदैलो हेर्दा थापाको तुलनामा भट्टराईको क्रेज कम देखियो। जस्तो– थापालाई स्वागत गर्न मतदाता सके आँगनमै नसके छत र बार्दलीमा स्वतस्फुर्त निस्किएका हुन्थे भने भट्टराईले मतदातालाई बोलाउँदै भेट्नुपर्थ्यो। थापालाई मतदाताले खादा लिएर कुरेर बसिरहेको दृश्य देख्न पाइन्थ्यो भने भट्टराईले मतदातालाई कुरेर बस्नुपर्ने अवस्था थियो।
अर्को कुरा, थापाले आफूलाई ‘गगन थापा’ भनेर चिनाइरहनु आवश्यक थिएन भने भट्टराईले अधिकांश घरमा परिचय दिँदै हिँड्नुपर्ने अवस्था थियो। हरेक मतदातालाई आफ्नो परिचय दिँदै भट्टराईले भन्थे– मलाई एकपटक मौका दिनुहोस्।
मंगलबार बिहान प्रायः घरमा भट्टराईले आफूलाई चिनाइरहनुपर्यो। चिनाउनको लागि मतदातासामु दुई हात जोडेर उनी भन्थे– ‘हजुर नमस्कार! हामीचाहिँ सूर्य चिन्हका उम्मेदवार। म राजन भट्टराई।’ अनि प्रदेश ‘क’ का उम्मेदवार पनि पछिपछि आएर भनिहाल्थे– ‘म पनि है, तेजप्रसाद ढकाल।’
मतदाता बोलाउँदै परिचय दिएर मत मागेका भट्टराईले गगनको तुलनामा एउटै घरमा धेरै समय खर्चिएको पाइयो। जस्तो– भट्टराईको टोली घरभित्र आँगनमा गएर ठाडो घाँटी पार्दै माथि हेर्थे। उनका एकजना कार्यकर्ता माथि जान्थे र घरमूलीलाई बोलाउँथे। यसरी प्रायः घरमा घरमूली बोलाउँदै भट्टराईले दोहोर्यारहन्थे– यसपटक हामीलाई मौका दिनुपर्यो।
मत माग्दै हिँडेका उनी मतदातासँग परिचितझैं व्यवहार गर्थे। मान्छे नै नउठेको घरमा निन्द्राबाट बिउँझाउन लगाएर पनि उनले भेट गरे। घरको ‘वाल’भन्दा माथि देखाइएको एमालेको ब्यानरलाई पृष्ठभूमिमा राखेर भन्थे– ‘नमस्कार हजुर, हामी सूर्य चिन्हको उम्मेदवार। म राजन भट्टराई।’
कतिपय घरमा रोचक जवाफ सुनिए। जस्तो– सिफलकै एक घरमा भट्टराईले ‘एक मौका’ दिन अनुरोध गर्दा घरमूलीको ‘ठट्यौली’ जवाफ थियो– ‘मौका दिइरहिएकै छ नि! हरेकपटक दिएकै हो।’ झट्ट सुन्दा ठट्टा गरेझैं लागे पनि यसको गहिरो अर्थ छ। उनको हाउभाउले भट्टराईसँग मात्र हैन, सिंगो राजनीतिक नेतृत्वप्रति चरम निराशा मतदातामा रहेको बुझिन्थ्यो। आजसम्म निर्वाचित सांसद बन्न नपाएका भट्टराई पनि यस्ता जवाफ सुनेपछि मुसुमुसु मुस्काउँथे मात्र।
कतिपय घरमा उम्मेदवारसँग फोटो खिच्न खोज्नेहरु थिए। सिफलकै एक घरमा दोलखाका जगन्नाथ कार्कीले फोटो खिच्न रुची देखाए। त्यसपछि भट्टराई आफैं ‘ल जगन्नाथजीसँग फोटो खिचौं’ भन्दै तम्सिए। भर्खरै दोलखाबाट आएको बताएपछि भट्टराईले कार्कीसँग दोलखाको चुनावबारे पनि चासो राखे। जसमा उनको जवाफ थियो– कम्पिटिसन छ, भन्न सकिन्न।
यसरी फोटो खिच्दाखिच्दै भट्टराईले मतदातालाई चिन्न भ्याइसक्थे। मत माग्दै हिँडेका उनी मतदातासँग परिचितझैं व्यवहार गर्थे। मान्छे नै नउठेको घरमा निन्द्राबाट बिउँझाउन लगाएर पनि उनले भेट गरे। घरको ‘वाल’भन्दा माथि देखाइएको एमालेको ब्यानरलाई पृष्ठभूमिमा राखेर भन्थे– ‘नमस्कार हजुर, हामी सूर्य चिन्हको उम्मेदवार। म राजन भट्टराई।’
कतिपय मतदाता भट्टराईलाई पहिलेको तुलानामा ‘दुब्लाएको’ भन्दै ठट्टा गर्थे। ‘राजन भट्टराई दुब्लाउनु भएजस्तो पो लाग्यो पहिलाभन्दा...,’ एक मतदाताको आवाज घरदैलोको क्रममा सुनियो। यसबाट बुझ्न सकिन्थ्यो, भट्टराई लामो समयपछि मतदातासँग ‘एक मौका’ माग्न दौडिरहेका छन्। यद्यपि, उम्मेदवारले नसुन्नेगरी यस्तो ‘कमेन्ट’ गरेकी ती महिलाले आफूले भोट हाल्ने प्रतिबद्धता भने जनाइन्।
बेलाबेला त एउटै मान्छे दोहोर्याएर भेटेको र आफूलाई चिनाएकोसम्म पनि भट्टराईले भेउ पाएनन्। तैपनि मतदातको जवाफ सकारात्मक सुनिन्थ्यो। पृष्ठभूमिमा जे–जे भने पनि उनको अगाडि भने मतदाताको जवाफ हुन्थ्यो– केही भन्नै पर्दैन नि दाइ।
यस्तो छ अंकगणित
कांग्रेस महामन्त्री गगन थापासँग दोस्रो पटक चुनावी मैदानमा छन्, एमालेका राजन भट्टराई। महामन्त्री थापा र एमाले विदेश विभाग प्रमुख भट्टराईको काठमाडौं–४ मा दोस्रो भेट हो यो। गगन काठमाडौं–४ बाटै फेरि ह्याट्रिक गर्ने सुरले चुनावी मैदानमा छन् भने भट्टराई पहिलो जितको खोजीमा छन्।
यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू १, ७, ८ र ३० पर्छन्। यस्तै, बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन्। गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत विश्लेषण गर्दा काठमाडौं–४ मा एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एसको २ हजार ४१४, राप्रपाको २ हजार २९३, नेकपा माओवादीको ८४४ र जसपाको ३१७ मत छ। अहिले काठमाडौं–४ मा क्रियाशील दलमध्ये कांग्रेस, माओवादी र नेकपा एसबीचमा गठबन्धन छ। यस्तो अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनको मत १९ हजार २१ देखिन्छ।
यसअघिका दुई चुनावमा सोही क्षेत्रबाट विजयी भएका गगन तेस्रो जित निकाल्न तम्सिएका छन्। अघिल्लो चुनावमा पनि थापाले वाम गठबन्धनका उम्मेदवार भट्टराईलाई ३ हजार ४ सय १८ मतान्तरले पराजित गरेका थिए। थापाले २१ हजार ५ सय ५८ मत पाउँदा भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका थिए।