काठमाडौं– निर्वाचन आयोगले उद्योगी, व्यवसायीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार एवं मतदाता शिक्षामा सहयोग गर्न आग्रह गरेको छ। मंगलबार आयोगको मुख्यालय कान्तिपथमा आयोजित अन्तरक्रियामा आयोगले यस्तो आग्रह गरेको हो।
निजी क्षेत्रका विभिन्न संगठन तथा उद्योग, व्यवसायी संलग्न कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाहका लागि आग्रह गरे।
उनले आयोगको सामाजिक सञ्जालमा आवद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश आफ्नो सांगठनिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गर्न उद्योग, व्यवसायीसँग सहयोग मागे। थपलियाले हाल देशको अर्थतन्त्र अप्ठेरोमा रहे पनि निर्वाचनपछि विस्तारै तंग्रिँदै जाने विश्वास व्यक्त गरे।
उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई सम्झिएकामा धन्यवाद दिए। उनले आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।
महासंघ उपाध्यक्ष अञ्जन श्रेष्ठले मतदानका दिन व्यवसायीका सवारीसाधन प्रयोग गर्न दिन र आफूहरूलाई पर्यवेक्षकका रुपमा जिम्मेवारी दिन प्रमुख निर्वाचन आयुक्त थपलियासँग आग्रह गरे।