काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ।
स्कुल बस निर्देशिका-२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाँचका क्रममा हिजो स्कुल बस निर्देशिका अनुसार सञ्चालन नगरेका २० वटालाई नियन्त्रणमा लिएको थियो। सवारी चालक अनुमतिपत्र नभएको, बसको झ्यालमा डण्डी नराख्ने, कागजपत्र साथमा नराख्ने र ट्राफिक नियम उल्लङ्घन गरेका स्कुल बसलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। विद्यार्थीको सुरक्षाका लागि स्कुल बस निर्देशिका अनुसार गाडी सञ्चालन गर्न पनि ट्राफिक प्रहरीको आग्रह छ।
विशेषगरी पछिल्लो समयमा मापदण्ड विपरीत विद्यार्थी बोक्ने गर्दा दुर्घटना समेत बढेको छ। गएको बिहीवार स्कुलबाट घर फर्किने क्रममा बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर ज्यान गएको थियो।
मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए-नभएको निरन्तर अनुगमन गर्ने र मापदण्ड विपरीत सञ्चालन गरेमा प्रचलित नियमअनुसार कारबाही हुने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।