सोमबार, वैशाख २८, २०८३

सिकारमा रमाउँदै पर्यटक

ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकार याम चलिरहेको छ। विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

बागलुङ- ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकार याम चलिरहेको छ। विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा नौ नाउर र छ झारलको सिकार अनुमति दिएको थियो।

National life

केही सिकारी सिकार खेलेर फर्किसकेका छन् भने कोही आरक्ष पुग्ने सुरसारमा छन्। सिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीका अनुसार तोकिएका कोटामध्ये पाँच नाउर र दुई झारलको सिकार भइसकेको छ। उनको कम्पनीमार्फत ढोरपाटन पुगेका जर्मन सिकारीले फागुने ‘ब्लक’मा झारलको सिकार गरेर फर्किसकेका छन्। नाउर सिकारका लागि केही दिनमा अमेरिकन सिकारीसहित जाने तयारी भइरहेको प्रबन्ध निर्देशक पराजुलीले बताए।

‘बार्से’ ब्लकमा नाउरको सिकार गरिनेछ। 'हाम्रो कम्पनीमार्फत नाउर सिकारका लागि क्यानेडियन नागरिक पनि आउने तय भएको थियो, अस्वस्थताका कारण अन्तिममा उहाँ आउन सक्नुभएन', प्रबन्ध निर्देशक पराजुलीले भने, 'अरु पनि केही सिकारी नआएका कारण तोकिएजति नाउर र झारलको सिकार नहुने भएको छ'

सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले दुई अमेरिकन सिकारी दोगाडी र घुस्तुङ ‘ब्लक’मा सिकार खेलेर गत मङ्गलबार फर्किएको बताए। 'यही कात्तिक २ गते आरक्ष पुगेको हाम्रो कम्पनीको सिकार टोली झण्डै दुई साता त्यहाँ बिताएर फर्किसकेको छ', उनले भने, 'यो यामको सिकार अब अन्तिमतिर आइपुगेको छ, आउँदो मङ्सिर दोस्रो साताभित्र सबै फर्किसक्छन्।'

आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन्। बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ। सिकार खेल्न खर्चिला पर्यटक ढोरपाटन आउँछन्।

विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी सिकारीलाई नेपाल भित्र्याउँछन्। यो याममा एउटा नाउर सिकारमा २० लाख र झारललाई छ लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताए। 

सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ। कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन्। माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन्।

सिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन्। उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन्। आधारशिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगीसहित उनीहरू सिकार ‘ब्लक’सम्म पुग्छन्। आधारशिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न दुई/तीनसम्म लाग्छ। 

सिकार टोली हतियारसहित सबै बन्दोबस्ती लिएर जाने गर्छन्। आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन्। सिकारीले ‘बल्क’ अनुसार तोकिएको सङ्ख्यामा नाउर र झारलको सिकार गर्न पाउने आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए।

हरेक पाँच/पाँच वर्षमा गरिने नाउर र झारलको गणनाका आधारमा विभागले सिकारको कोटा तोक्ने गरेको उनको भनाइ छ। अहिले वर्षमा २० नाउर र ११ झारलको सिकार गरिँदै आएको छ। सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन्। 

सौखिन र खर्चिला सिकारी पर्यटकको रोजाइमा ढोरपाटन पर्ने गरेको छ। विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो। एक हजार तीन सय २५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ। ढोरपाटनको सिकार पर्यटनबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा जम्मा हुन्छ।    -रासस

प्रकाशित: Nov 08, 2022| 00:05 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।