विराटनगर- राजनीतिक दलका उम्मेदवारले निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेश निर्वाचन कार्यालय विराटनगरले कारवाही प्रकृया अघि बढाउन बाध्य नपार्न निर्देशन दिएको छ।
राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसारका क्रममा सिटी सफारीहरुमा आचारसंहिता विपरिताका पर्चा पम्प्लेटहरु टाँसेको तथा तुल ब्यानरहरु राखेर ध्वनी प्रदुषण नै हुनेगरि सडकका चोक–चोक गल्लीहरुमा हिँड्ने गरेको भन्दै निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण गराएपछि प्रदेश निर्वाचन कार्यालयले सोमबार निर्वाचनमा सहभागि राजनीतिक दलका प्रतिनिधिहरु राखेर आचारसंहिता विपरिताका गतिविधि नगर्न निर्देशन दिईएको छ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले भने, ‘आचारसंहिता उल्लंघनमा कारवाही अघि बढाउनु नपरोस्।’ राजनीतिक दल तथा उम्मेदवारलाई कारवाहीको भागीदार बनाउनु नपरोस् भन्ने आफुहरुको चाहना भएको उनले बताए। आचारसंहिता भित्र रहेर निर्वाचनकामे प्रचारप्रसार गर्न उनको अनुरोध छ।
जुलुस, आमसभा, कोणसभा, घरदैलो बाहेकको अवस्थामा सवारीमा माईक जोडेर हिड्न नपाईने उनले बताए। मोरङमा निर्वाचन व्यवस्थापनको काम भईरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए। मोरङमा राजनीतिक दलका उम्मेदवारहरुवीच अहिले सम्म स्वस्थ प्रतिष्पर्धा रहेको उनको भनाई छ। नमूना मतदान सवै स्थानीय तहमा सकिएको अधिकारीको भनाई छ। निर्वाचन कार्यालयले आमसभा लगायतका मञ्च प्रयोग गरि गरिने कार्यक्रहरुको खर्च विवतरण निर्वाचन सम्पन्न भएको १५ दिन भित्र बुझाउन पनि राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अनुमति नलिएका सवारीमा झण्डा, तुल ब्यानर राख्ने नपाईने बताए। उनले भने, ‘अनुमति लिएका सवारी बाहेकमा पार्टीका झण्डा, व्यानरहरु नराख्नुहोला।’ अनुमति विनाका सवारीमा झण्डा, तुल ब्यानर राखेको पाईएमा कारवाही हुने प्रजिअ दाहालले बताए।
मोरङमा मतदानस्थल तीन सय ६ र केन्द्र आठ सय ३९ निर्धारण गरिएको छ। मोरङ जिल्ला कारागार र आदर्श पुस्तकालय विराटनगरमा गरी दुई स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा सदस्यका लागि आगामी मंसीर ४ गते निर्वाचन हुँदैछ। मोरङमा कूल मतदाता सात लाख ३५ हजार पाँच सय २५ रहेका छन्।