काठमाडौं- दाङका उद्योगी–व्यवसायी सडकमा उत्रिएका छन्। बैंकले बढाएको व्याजदर विरुद्ध उनीहरु आन्दोलित भएका हुन्।
आन्दोलन स्वरुप जिल्लाका उद्योगी व्यवसायीहरुले जिल्लाका ११ वटा सहरी क्षेत्रमा एकै पटक विरोध र्याली तथा कोणसभा गरेका छन्। दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा सुरु भएको आन्दोलनस्वरुप सोमबार आन्दोलन भएको हो।
दाङको घोराही, तुलसीपुर, लमही, भालुवाङ, सिसहनीया, बंगलाचुली, गढवा, नारायणपुर, विजौरी, हापुरे र शान्ति नगरमा एकैपटक विरोध र्याली तथा कोणसभा भएको थियो।
संघले कात्तिक १६ गते पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। कार्यक्रमअनुसार घोराही क्षेत्रमा रहेका बैंकका शाखा प्रमुखहरुसँग छलफल, वस्तुगत समितिहरुसँग छलफल, जिल्लामा रहेका उद्योग वाणिज्य संघका पदाधिकारीहरु तथा व्यावसायिक संघसंस्थाहरुसँग छलफल गरिसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ। कात्तिक २३ गते सरकारी बैंकहरुमा प्लेकार्ड सहित धर्ना दिइने भएको छ।
निजी क्षेत्रलाई धरासयी बनाउने गरी बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे बढाइरहेको कर्जाको व्याजदरको विषयलाई लिएर निजी क्षेत्र आन्दोलित छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।