ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन्। जङ्गली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका-३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङलाई शनिबार दिउँसो भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिबार नै झापामा रहेको बीएनसी अस्पतालमा पुर्याएर थप उपचार सुरु गरिएको बताइएको छ।
शनिबार गाउँ नजिक गुम्बाडाँडा क्षेत्रमा मालिङ्गो सङ्कलन गर्न गएको समयमा तामाङलाई भालुले आक्रमण गरेको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिए।
उपाध्यक्ष कडरियाका अनुसार तामाङसँगै मालिङ्गो सङ्कलन गर्न गएका अन्य दुई जना भने सकुसल जङ्गलबाट फर्किएका थिए।