रुपन्देही- रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले निर्वाचन लक्षित आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। पौडेलले कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेले केन्द्रीय उपाध्यक्ष पौडेल र प्रदेशसभा सदस्य पदमा (१) बाट केन्द्रीय सदस्य लीला गिरी र (२) बाट प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उम्मेवार बनाएको छ।
एमालेलाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ। आज बुटवलमा आयोजना गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता तथा राप्रपाका नेता पूर्वगृहमन्त्री नीरञ्जन थापा, प्रदेश अध्यक्ष प्रदीप उदयसहित कार्यकर्ताहरू सहभागी थिए।
विसं २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका एमाले उम्मेदवार पौडेलले उक्त निर्वाचनमा पनि कालिगण्डकी डाइभर्सनलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा राखेका छन्। यो परियोजनालाई पुनः अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरेका हुन्। चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले त्यहाँ देखिएको अवरोध तथा व्यवधान हटाएर कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। पौडेलको घोषणापत्रमा लेखिएको छ, ‘सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण कार्यअघि बढाइनेछ।’
बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने उनले बताए। उनको घोषणापत्रमा आफ्नो निर्वाचन क्षेत्रमा भन्दा बढी आसपासका निर्वाचन क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिइएको छ। तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ।