काठमाडौं- सिरहाका उद्योग वाणिज्य संघहरुले आइतबार बैंकको ब्याजदर घटाउन, सम्झौताभन्दा बढी लिएको रकम फिर्ता गर्न तथा बैंकिङ आतंक बन्द गर्न माग गर्दै जुलुश प्रदर्शन गरेका छन्। त्यसअघि उनीहरुले स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन्।
मागको सुनुवाइ नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि उद्योगी व्यवसायीहरुले दिएका छन्। मुलुकको आर्थिक अवस्था निकै चिन्ताजनक अवस्थामा रहेकोमा नेपाल राष्ट्र बैंकले सहजीकरणको भूमिका खेल्नुपर्नेमा एकपछि अर्को सर्कुलर जारी गरेर निजी क्षेत्रलाई आतंकित पारेको उद्योगी व्यवसायीहरुको आरोप छ।
उनीहरुले राष्ट्र बैंक नियमनकारी निकाय नभएर बैंकहरुको सारथी जस्तो बनेको गुनासो गरेका छन्। सरकारले यस विषयमा चासो नलिए चरणवद्ध आन्दोलन गरेर उद्योगको तालाचाबी नै सरकारलाई बुझाउनुपर्ने अवस्था आउन नदिन सरकारले समयमा नै माग सम्बोधन गर्नुपर्ने उद्योगी व्यवसायीहरुको भनाइ छ।
सिरहा जिल्लाका उद्योग वाणिज्य संघहरुले आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म बजार–पसल बन्द गरेर सडकमा मौन जुलुश प्रदर्शन गरेका थिए। सोमबार बैंकहरुको प्रवेशद्वारमा धर्ना दिने र ग्राहकलाई समेत बैंकले गरेको ज्यादतीको बारेमा जागरण गराउने उनीहरुको कार्यक्रम छ।