तनहुँ- तनहुँ जिल्लाको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करीब ५०० मिटर लामो जीपलाइन निर्माण गरिएको छ। मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ।
बिदाका दिन होस् या अन्य दिन जीपलाइनको मज्जा लिन विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल पनि परिवारसहित उक्त स्थानमा पुगे। आफूलाई यस्ता साहसिक खेलप्रति रुचि भएकोले बिदाको समय मिलाएर खेलको मनोरञ्जन लिन आएको उनले बताए।
यसअघि प्याराग्लाइडिङ गरिसकेको बताउँदै प्रजिअ अर्यालले सहजै खेलमा भाग लिई मनोरञ्जन लिएपछि भने, ‘सुरक्षित तरिकाले बनाइएकोले खासै डराउनुपर्दैन। यस्ता खेलले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्छ।’
त्यसैगरी गोरखादेखि आएकी सुविना भण्डारीले जीपलाइनको यात्रा मनोरञ्जन हुने भएकोले दोस्रो पटक खेलमा सहभागी हुन आएको बताए। पहिलो पटक चितवनमा रहेको जीपलाइनमा सहभागी भए पनि त्यहाँको भन्दा यहाँको लामो भएकोले थप अनुभव लिन आएको उनले बताइन्।
कात्तिक ३ गतेदेखि जीपलाइन सञ्चालनमा ल्याइएको सञ्चालक विवेक सापकोटाको भनाइ थियो।
भारतको दिल्लीस्थित द एड्भेन्चर प्लान्टले १ करोड १० लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरी उक्त जीपलाइन निर्माण गरेको हो। उनले भने, ‘करीब ५ महिनाको अवधिमा सबै जडान कार्य सम्पन्न भएपछि जीपलाइन सञ्चालनमा ल्याइएको हो।’ जीपलाइन सञ्चालन भएदेखि हालसम्म २५० जना साहसिक खेलमा सहभागी भइसकेको सञ्चालक सापकोटाले बताए।
जीपलाइनमा १ हजार ५०० शुल्कमा खाजासेट र अन्य रमणीय दृश्यवलोकन समेत हेर्न पाइने गरी व्यवस्था मिलाइएको छ। एकैपटक २ जनासम्म खेलमा सहभागी हुन सक्नेछन्। शुरू स्टेसनबाट मादी नदीका साथै रमणीय डाँडा, फाँटको मनोरञ्जन लिँदै ल्याण्ड स्टेसन करीब ४५ सेकेण्डमा पार गर्न सकिन्छ। ल्याण्ड स्टेसनबाट पैदलमा करीब ५/७ मिनेटमा पुनः वारिको स्टेसनमा आउन सकिन्छ। -रासस