शुक्रबार, वैशाख ५, २०८२

आचारसंहिता उल्लंघनविरुद्ध स्पष्टीकरणको ओइरोः कारबाहीमा खुट्टा दरो बनाउला आयोगले?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेकपा माओवादी अध्यक्ष प्रचण्ड, संघीय मन्त्री, प्रतिपक्षी एमालेदेखि विभिन्न राजनीतिक दलका नेताहरूले निर्वाचन आफ्नो पक्षमा पार्न मतदातालाई आकर्षित गर्ने गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि आयोगले स्पष्टीकरणसहित पेस हुन निर्देशन दिएको छ। आयोगले निर्देशन दिए पनि राजनीतिक दलहरू र तिनका नेताले आचारसंहिता उल्लंघन गर्ने क्रम रोकेका छैनन्।
 |  आइतबार, कात्तिक २०, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, कात्तिक २०, २०७९

vianetvianet

काठमाडौं– निर्वाचन आयोगले सरकारी साधन–स्रोत दुरुपयोग गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सत्ता–प्रतिपक्षी उम्मेदवारमाथि कारबाही सुरु गरेको छ। आचारसंहिता लागू भएको १२ असोजदेखि १६ कात्तिकसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने विभिन्न राजनीतिक दलका उम्मेदवारलाई आयोगले कारबाही थालेको हो।

triton college

आयोगमा हालसम्म आचारसंहिता उल्लंघन गरेको भन्दै ७१ व्यक्ति तथा संस्थाविरुद्ध उजुरी परेको छ। उक्त व्यक्ति तथा संस्थालाई आयोगले स्पष्टीकरण सोधिसकेको छ। तर स्पष्टीकरणको जवाफप्रति आयोग सन्तुष्ट नभएपछि उजुरीउपर छानबिन गरी कारबाही प्रक्रियामा गएको छ। 

आयोगका अनुसार आचारसंहिता उल्लंघनको प्रमाण पुगेकालाई कारबाही सुरु गरिएको हो। आयोगले बिहीबार एक जनालाई मात्रै कारबाही गरेको छ। काठमाडौं महानगरपालिका वडा–१६ का मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिमाना तिराएको छ। काठमाडौं क्षेत्र–७ को प्रदेशसभा क्षेत्र–२ का उम्मेदवार सविन तामाङको प्रचार–प्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले रिजाललाई ५ हजार जरिमाना तिराउने निर्णय गर्दै कारबाही प्रक्रिया थालेको हो। 

आयोगले रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसारमा संलग्न भएको भन्दै २ कात्तिकमा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो। रिजाललाई कांग्रेसको प्रचार–प्रसारमा संलग्न भएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीको आधारमा स्पष्टीकरण सोधेको थियो। रिजालले आफू प्रचारमा संलग्न नभएको दाबीसहितको स्पष्टीकरण आयोगमा बुझाए पनि उनकै फेसबुकमा प्रचारमा संलग्न भएको आधारमा जरिमाना गरिएको आयोगका सहायक प्रवक्ता एवं उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले  बताए। 

आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड(क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ।

National life insurance

आयोगका उपन्यायाधिवक्ता वाग्ले आचारसंहिता उल्लंघनको सत्यतथ्य प्रमाण पुगेकालाई कारबाही गर्ने चरणमा पुगेको बताउँछन्। ‘हामी प्रमाण नपुगेसम्म कारबाहीको चरणमा पुग्दैनौं। आचारसंहिता उल्लंघन गरेका तर प्रमाण नपुगेका व्यक्ति तथा संस्थाबारे आयोगले प्रमाण जुटाइरहेको छ। आयोगले स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआएका १२ उम्मेदवारका बारे थप प्रमाण जुटाइरहेको छ। आयोगले थप प्रमाण जुटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आग्रह गरेको छ,’ वाग्लेले भने। 

आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो पटक स्पष्टीकरण सोधेको थियो। आचारसंहिता लागू भएपछि २६ असोजमै आयोगले उनलाई गोरखा–२ मा उम्मेदवारी दिन जाँदा बाजागाजासहित उम्मेदवारी दिन गएको भन्दै स्पष्टीकरण सोधेको थियो। दाहालले आफू स्वःस्फूर्त रुपमा उपस्थित भएका बेला स्थानीयले पञ्चेबाजा बजाएकोबारे जानकारी नभएको आयोगलाई स्पष्टीकरण दिएका थिए।

तर दाहालको फेसबुकमै सो बाजागाजासहितको भिडियो सार्वजनिक गरिएको छ। आयोगले उनको जवाफ चित्त नबुझेपछि थप प्रमाणका लागि जिल्ला प्रशासन कार्यालय गोरखा र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई लिखित प्रतिवेदन पठाई तीन दिनभित्र पेस गर्न आदेश दिए पनि जिल्लाबाट प्रतिवेदन आइसकेको छैन। प्रमाणसहित जिल्लाबाट प्रतिवेदन आए उनलाई पनि कारबाही हुने आयोगका एक कर्मचारीले बताए।

आयोगले कांग्रेस महामन्त्री गगनकुमार थापालाई दुई पटकसम्म स्पष्टीकरण सोधेको छ। काठमाडौं क्षेत्र–४ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थापाले ट्वीटरमार्फत मतदातालाई प्रभाव पार्ने गरी डेंगुको निःशुल्क परीक्षण र परामर्श लिई टोलटोलमा आउँदैछौं भनी मोबाइल नम्बरसमेत प्रकाशन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो। थापाले ‘डेंगु प्रकोप फैलिरहेको अवस्थामा आमनागरिकको स्वास्थ्यलाई ख्याल राखी दिएको नियमित जनस्वास्थ्यसम्बन्धी भनाइ र पहिलेदेखि प्रदान भएको सेवाले निर्वाचन आचारसंहिता उल्लंघन भएको वा स्वतन्त्र र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गराउन कुनै अवरोध सिर्जना भएको भन्ने नदेखिएको’ भनी स्पष्टीकरण दिएका थिए।

त्यस्तै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आगालागीबाट पीडितलाई रकम दिएको भन्दै स्पष्टीकरण सोधेको थियो। तर शर्माले निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै राहत रकम दिएको फोटो सामाजिक सञ्जालमा पोस्ट भएको भन्ने जवाफ पेस गरेका छन्। शर्मा झापा–१ का उम्मेदवार हुन्। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया। 
प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट–१ मा मतदातालाई फ्रि भिसा फ्रि टिकटमा युवालाई विदेश पठाइदिने भनी प्रलोभन पारी अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको थियो। तर त्यसको जवाफ नआउँदै नेता नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगले पत्र काटेको थियो। तर उक्त पत्र हालसम्म पनि आयोगमै थन्किएको छ। नेपालले आफूले कसैलाई पनि प्रभाव पार्ने अभिव्यक्ति नदिएको स्पष्टीकरण दिएका थिए। उनले स्पष्टीकरणमा भनेका छन्,  ‘मैले कसैलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको छैन। दलले आफ्नो विचारधारा, दर्शन र कार्यक्रम पेस गर्न पाउने अधिकार संविधानले दिएको छ। सोही अधिकार प्रयोग गरी आफ्ना कार्यक्रम मतदातासमक्ष पेस गरिएको हो।’ उनको जवाफ आएपछि आयोगले अर्को निर्णय गरी पत्र पठाउने तयारी गरेको छ। तर नेपालले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। 

सहरी विकासमन्त्री मेटमणि चौधरीलाई पनि आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो। उनले जवाफमा ‘स्थानीय तहका जनप्रतिनिधिमार्फत एकद्वार प्रणालीबाट राहत वितरण गरिएको हा । समयमा राहत वितरण गर्नु राज्यलगायत समग्र सबैको जिम्मेवारी हो’ भन्ने जवाफ दिएपछि आयोग असन्तुष्ट बन्दै जिल्ला आचारसंहिता अनुगमन समिति, मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न आदेश दिएको छ। उक्त प्रतिवेदन आयोगमा आइपुगेको छैन। 

आयोगले आचारसंहिता लागू भएको समय आचारसंहिता उल्लंघन गर्ने ७१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोधेको छ भने चित्तबुझ्दो जवाफ नदिएका व्यक्ति तथा संस्थाको सत्यतथ्य प्रमाणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको छ। 

आयोगका उपन्यायाधिवक्ता वाग्लेका अनुसार कतिपय उजुरीका जवाफ निर्वाचन आचारसंहिता लागू हुनुपूर्व तय भएको कार्यक्रम आचारसंहिता लागू भएको समयमा गरिएको भन्ने आएको छ। ‘तर आचारसंहिता अगाडि तय भएको कार्यक्रम पनि रमाना नलिएको अवस्थामा आचारसंहिता लागू भएको समयमा गर्न मिल्दैन। आयोगले आचारसंहिता लागू भएको समयमा नगर्न भनेको कार्यक्रम गर्न मिल्दैन’, वाग्लेले भने।

आयोगले क–कसलाई सोध्यो स्पष्टीकरण? 
पुष्पकमल दाहाल, अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
स्पष्टीकरणः मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको सम्बन्धमा
जवाफः मनोनयन दर्ता गर्ने क्रममा स्थानीयहरू स्वःस्फूर्त रूपमा उपस्थित भएका हुन्। सो विषयमा पार्टी र आफूलाई कुनै जानकारी नभएको।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
स्पष्टीकरणः श्रम काउन्सिल र श्रम सहचारीको पदपूर्ति गर्न लागेको।
जवाफः उक्त कार्य स्थगित गर्न लेखिपठाइएको।

जलन्धरसिंह जैसवार, नगरप्रमुख, पचरौता नगरपालिका, बारा
स्पष्टीकरणः वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएबाहेकका अन्य कार्यक्रम गरेको।
जवाफः बाँकी।

गोकुल वस्ती, अधिकृत सातौं, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पुल्चोक, ललितपुर
स्पष्टीकरणः निज दलको राजनीतिक गतिविधिमा तथा प्रचार–प्रसारमा संलग्न भएको।
जवाफः असावधानीका कारण भएको हो। सम्मानित आयोगसमक्ष क्षमाप्राथी छु।

अर्थ मन्त्रालय
स्पष्टीकरणः सञ्चय कोषको प्रमुख प्रशासक नियुक्त गर्न खोजेको।
जवाफः उक्त कार्य स्थगित गर्न लेखिपठाइएको।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
स्पष्टीकरणः निर्वाचन आचारसंहिता लागू भइसकेपछि स्थानीय तहका कर्मचारीको वृत्तिविकास (बढुवा तथा तहवृद्धि) सम्बन्धी प्रक्रिया अगाडि बढाएको।
जवाफः निर्वाचन आचारसंहिता लागू हुनुपूर्व नै अध्यादेश आई कार्यान्वयनमा रहेको। कानुन अभावमा लामो समयदेखि कर्मचारीमा नैराश्य उत्पन्न भएकाले उक्त प्रक्रिया अगाडि बढाइएको। साथै, वार्षिक नीति तथा कार्यक्रमअनुसार नै कर्मचारीको स्तर तथा तह वृद्धि गर्न लागिएको हो।

गोरखा-१ का उम्मेदवार प्रचण्ड। 
सहरी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं

स्पष्टीकरणः एनजीओ सर्भिस फर पब्लिक अवारनेस राइजिङ प्रोग्राम इन टुभेल म्युनिसिपालिटज् अन द बेसिक अफ पोलुटर पेज प्रिन्सिपल नामक कार्यक्रमलाई छुट्याइएको ६ करोड रकम कन्सल्टेन्सीको नाममा आफ्नो मान्छेको एनजीओलाई दिएको।
जवाफः वार्षिक स्वीकृत कार्यक्रमअनुसारकै कार्यक्रम गरिएको। कुनै नयाँ कार्यक्रम नगरिएको। उजुरी सत्य नभएको।

नेपाल प्रज्ञा  प्रतिष्ठान, कमलादी, काठमाडौं
स्पष्टीकरणः प्रतिष्ठानले आजीवन सदस्यता प्रदान गर्न सिफारिस समिति गठन गर्ने, स्थायी तथा करार सेवाका कर्मचारीलाई सरुवा, बढुवा, नयाँ करार नियुक्ति र म्याद थप, भत्ता तथा ग्रेड वृद्धिलगायतका काम–कारबाही भएको। 
जवाफः निर्वाचन आचारसंहिता लागू हुनुअगावै मिति ११ भदौको निर्णयबाट प्रतिष्ठानमै कार्यरत कर्मचारीको कार्य जिम्मेवारी मात्र हेरफेर गरिएको हो। कर्मचारीको ग्रेड वृद्धि सम्बन्धमा प्रोत्साहनस्वरूप केही कर्मचारीको ग्रेड वृद्धि गरिएको र उक्त वृद्धि आयोगको निर्देशानुसार हाललाई स्थगित गरिएको।

अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं
स्पष्टीकरणः निर्वाचन आचारसंहिता लागू भइसकेपछि नेपाल सरकारले नेपाल धितोपत्र बोर्ड र बिमा कम्पनीमार्फत लाइसेन्स वितरण गर्न लागेको सम्बन्धमा।
जवाफः उक्त विषयमा सम्पूर्ण कार्य गर्ने अधिकार तत्–तत् निकायलाई रहेको।

धितोपत्र बोर्ड, खुमलटार, ललितपुर
स्पष्टीकरणः निर्वाचन आचारसंहिता लागू भइसकेपछि नेपाल सरकारले नेपाल धितोपत्र बोर्ड र बिमा कम्पनीमार्फत लाइसेन्स वितरण गर्न लागेको सम्बन्धमा।
जवाफः विभिन्न समयमा भएका निर्णय कार्यान्वयन गरिएको र उक्त कार्य बोर्डको नियमित कामसमेत भएको।

बिमा समिति, कुपण्डोल, ललितपुर
स्पष्टीकरणः निर्वाचन आचारसंहिता लागू भैसकेपश्चात नेपाल सरकारले नेपाल धितोपत्र बोर्ड र बिमा कम्पनीमार्फत लाइसेन्स वितरण गर्न लागेको सम्बन्धमा।
जवाफः बिमा कम्पनीलाई  इजाजत दिने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको र ४ मंसिरसम्म लाइसेन्स वितरणसम्बन्धी कुनै पनि निर्णय नगरिने।

डा. चन्द्रकान्त राउत, अध्यक्ष, जनमत पार्टी
स्पष्टीकरणः निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी उम्मेदवारी दर्ताका क्रममा सयौं बढी मान्छेको भीड जम्मा गर्ने तथा निजको दलको चुनाव अंकित टिसर्ट लगाई प्रदर्शन गर्ने गतिविधि गरेको।
जवाफः उम्मेदवारी दर्ताको दिन राष्ट्रिय अध्यक्षको नाताले आफू अबेरसम्म देशभरिकै मनोनयनपत्र वितरणमा व्यस्त रहेको र आफूले कुनै भीड जम्मा नगरेको तथा चुनाव चिन्ह अंकित टिसर्ट लगाएर प्रदर्शन आयोजना नगरेको।

बद्री मैनाली, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी), प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार
स्पष्टीकरणः निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) विपरीत औषधोपचारको बहानामा नगद वितरण गरेको।
जवाफः हाल मैले बिरामीलाई कुनै किसिमको रकम वितरण गरेको छैन। मैले पहिले नै बिरामीलाई रकम वितरण गरेको तस्बिर हाल सामाजिक सञ्जालमा राखेको हो।

अनन्तराज घिमिरे, अध्यक्ष, हाम्रो नेपाली पार्टी
स्पष्टीकरणः निजको दलबाट उम्मेदवार भएका व्यक्तिले आफूहरू स्वतन्त्र अभियानको अंग भएको वा देशभरका स्वतन्त्रहरू लौरो  निर्वाचन चिन्हको छातामा रहने भनी प्रचार–प्रसार हुँदा निज र निजको दल किन मौन बसेको?
जवाफः उम्मेदवार पार्टीका उम्मेदवार भएको र निजहरू हाम्रो नेपाली पार्टीको उम्मेदवार भएपछि स्वतन्त्र हैसियतमा प्रचार–प्रसार नगरेको।

मधुसूदन पाठक, प्रतिनिधिसभा सदस्य उम्मेदवार, हाम्रो नेपाली पार्टी
स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह ‘लौरो’ स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको।
जवाफः काठमाडौं निर्वाचन क्षेत्र–५ को निर्वाचन कार्यालयमा परेको उजुरीमा २५ असोजमा स्पष्टीकरण दिइसकेको छु। सोपश्चात् आफ्नो दलको नाम र चुनाव चिन्ह प्रयोग गरी निर्वाचन प्रचार–प्रसार गरेको।

रौतहट-२ का उम्मेदवार माधवकुमार नेपाल।
प्रख्यात बन्जाडे, प्रतिनिधिसभा सदस्यका उम्मेदवार, हाम्रो नेपाली पार्टी

स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको।
जवाफः हाम्रो नेपाली पार्टीको उम्मेदवार भएपछि स्वतन्त्र हैसियतमा प्रचार–प्रसार नगरेको।

शिवशंकर यादव, प्रतिनिधिसभा सदस्य उम्मेदवार, हाम्रो नेपाली पार्टी
स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको।
जवाफः हाम्रो नेपाली पार्टीको उम्मेदवार भएपछि स्वतन्त्रको हैसियतमा प्रचार–प्रसार नगरेको।

योगेशकुमार सिंह, प्रदेशसभा सदस्य उम्मेदवार, हाम्रो नेपाली पार्टी
स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको।
जवाफः हाम्रो नेपाली पार्टीको उम्मेदवार भएपछि स्वतन्त्र हैसियतमा प्रचार–प्रसार नगरेको।

विजय कालिकोटे, प्रदेशसभा सदस्य उम्मेदवार, हाम्रो नेपाली पार्टी
स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको। 
जवाफः बाँकी।

वीरवंश बैठा, प्रतिनिधिसभा सदस्य उम्मेदवार, हाम्रो नेपाली पार्टी
स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको। 
जवाफः बाँकी

राज लाल यादव, प्रदेश सभा सदस्यका उम्मेदवार, हाम्रो नेपाली पार्टी
स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह “लौरो“ स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको। 
जवाफः निर्वाचन आचारसंहिताको विपरित हुने गरी कुनै कार्य नगरेको र मैले दलीय आबद्धतासहित प्रचार–प्रसार गर्नेछु।

राजकुमार तिमिल्सिना, प्रदेशसभा सदस्य उम्मेदवार, हाम्रो नेपाली पार्टी
स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको।
ज्वाफः हाम्रो नेपाली पार्टीको उम्मेदवार भएपछि स्वतन्त्र हैसियतमा प्रचार–प्रसार नगरेको।

मेटमणि चौधरी, मन्त्री, सहरी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं‌
स्पष्टीकरणः निजले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले निर्वाचन आचारसंहिता उल्लंघन भएको।
ज्वाफः स्थानीय तहका जनप्रतिनिधिमार्फत एकद्वार प्रणलीबाट राहत वितरणको कार्य गरेको हो। समयमा राहत वितरण गर्नु राज्यलगायत समग्र सबैको जिम्मेवारी हो।

पुकार बम, प्रतिनिधिसभा सदस्य उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी
स्पष्टीकरणः निर्वाचन प्रचार–प्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्ट प्रयोग गरेको।
जवाफः निर्वाचन चिन्ह अंकित टिसर्ट प्रयोग नगरिएको तर समर्थकहरूले मेरो नाम उल्लेख गरेको टिसर्ट प्रयोग गरेका हुन्।

शिशिर खनाल, प्रतिनिधिसभा सदस्य उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी
स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह गोलाकारभित्र घन्टी स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको।
जवाफः हाम्रो नेपाली पार्टीको उम्मेदवार भएपछि स्वतन्त्र हैसियतमा प्रचार–प्रसार नगरेको।

दिपेश ढुंगाना,  बागमती प्रदेश नुवाकोट क्षेत्र–१ (ख)
स्पष्टीकरणः आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह गोलाकारभित्र घन्टी स्वतन्त्र अभियान भनी प्रचार–प्रसार गरेको।
जवाफः हाम्रो नेपाली पार्टीको उम्मेदवार भएपछि स्वतन्त्र हैसियतमा प्रचार–प्रसार नगरेको।

जनस्वास्थ्य केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान
स्पष्टीकरणः उक्त विभागबाट शिक्षक सहायक (शिक्षक) पद करारमा पदपूर्ति गर्ने सम्बन्धमा गोरखापत्रमा सूचना प्रकाशित भएको।
जवाफः अध्ययन संस्थान कार्यान्वयन समितिले २२ असार २०७९ मै उक्त निर्णय गरेको र भर्ना भएका विद्यार्थीको पठनपाठनमा गम्भीर असर पर्ने भएकाले प्रक्रिया अगाडि बढाइएको हो। हाल उक्त नियुक्ति प्रक्रिया स्थगित गरिसकेको।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बायाँ) र दाङ-३ की उम्मेदवार कोमल वली।
जीवन यादव, शिक्षक, आधारभूत विद्यालय, लहान नगरपालिका–१०, सिरहा

स्पष्टीकरणः सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधि तथा प्रचार–प्रसारमा संलग्न भएको तथा शिक्षक पदमा बहाल रहँदै कुनै दलको सदस्य बनेको।
जवाफः भुलवश कुनै आचारसंहिता विपरीतका पोस्ट भएको भए माफी माग्दै आगामी दिनमा आचारसंहिता विपरीतका कार्य नगर्ने।

भरतपुर अस्पताल, चितवन
स्पष्टीकरणः भरतपुर अस्पतालमा कार्यरत डा. प्रशन्न नापितलाई स्वास्थ्य सेवा विभाग, टेकुमा कामकाज गर्न २५ असोजको रमाना दिई आचारसंहिता उल्लंघन गरेको।
जवाफः बाँकी।

स्वास्थ्य सेवा विभाग, टेकु
स्पष्टीकरणः आचारसंहिता विपरीत कर्मचारीको सरुवा तथा रमाना दिएको र त्रियुगा नगरपालिकामा ह्विलचियर र अन्य सामग्री वितरण गरेको।
जवाफः  ५ असोजको विभागको निर्णयानुसार सरुवा, रमाना तथा सरुवा भई आउनुभएका कर्मचारीलाई हाजिर गराइएको। त्रियुगा नगरपालिकाले गरेको कार्यक्रममा सहयोगका लागि कर्मचारी सहभागी भएका।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार
स्पष्टीकरणः दूरगामी महत्त्वका निर्णय गरेको सम्बन्धमा पत्रपत्रिकामा समाचार प्रकाशित भएकाले आयोगको सहमति बेगर त्यस्ता कार्य नगर्न/गराउनू।
जवाफः नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट नयाँ नीति तथा कार्यक्रम पारित नभएको र सो सम्बन्धमा कुनै कार्यक्रम घोषणासमेत नगरिएको। निर्वाचन आचारसंहिताको पालनामा पूर्ण प्रतिबद्ध रहेको।

कृष्णकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य उम्मेदवार, क्षेत्र–४ बारा
स्पष्टीकरणः फ्रि भिसा फ्रि टिकटमा विदेश पठाइदिने भनी प्रलोभन देखाएको।
जवाफः आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा व्यस्त रहेकाले सो विषयमा कुनै जानकारी नभएको।

हरिपूर्वा नगरपालिका, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत, सर्लाही
स्पष्टीकरणः दोस्रो नगरसभाको विशेष नगर अधिवेशन आह्वान गरेको सम्बन्धमा।
जवाफः कर्मचारी र शिक्षकलाई तलब तथा चाडपर्व खर्च भुक्तानीका लागि र नगरपालिकाको दैनिक कार्य सञ्चालनका लागि अधिवेशन बोलाइएकामा हाल निर्वाचन आयोगको पत्रानुसार स्थगित गरिएको।

दुर्लभ थापा, प्रतिनिधिसभा सदस्य उम्मेदवार, भक्तपुर क्षेत्र–२, भक्तपुर
स्पष्टीकरणः दलको झन्डा र चुनाव चिन्ह आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा टाँस गरेको।
जवाफः निर्वाचन आचारसंहिता लाग्नुभन्दा अगाडि नै राखिएका ब्यानर हुन्। त्यस्ता निर्वाचन चिन्ह, झन्डा तथा ब्यानर हटाउँदै आएको र अन्य सबै पनि हटाउने प्रतिबद्धता व्यक्त गर्दछु।

मुकुन्द रिजाल, वडाध्यक्ष, काठमाडौं महानगर वडा–१६, काठमाडौं
स्पष्टीकरणःसामाजिक सञ्जालमा उम्मेदवारलाई भोट दिई जिताउन अनुरोध गरेको।
जवाफः आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि प्रचार–प्रसारमा सहभागी नभएको।

माधवकुमार नेपाल, प्रतिनिधिसभा सदस्य उम्मेदवार, रौतहट क्षेत्र–१, रौतहट
स्पष्टीकरणः मतदातालाई फ्रि भिसा फ्रि टिकटमा युवालाई विदेश पठाइदिने भनी प्रलोभनमा पारी अभिव्यक्ति दिएको।
जवाफः मैले कसैलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको छैन। दलले आफ्नो विचारधारा, दर्शन र कार्यक्रम पेस गर्न पाउने अधिकार संविधानले दिएको छ। सोही अधिकारको प्रयोग गरी आफ्ना कार्यक्रम मतदातासमक्ष पेस गरिएको हो।

तिलक कुँवर, प्रधानाध्यापक, राष्ट्रिय माध्यमिक विद्यालय साँफेबगर नगरपालिका वडा–१३, अछाम
स्पष्टीकरणः प्रधानाध्यापक एमालेको चुनाव प्रचार–प्रसारमा लागेको।
जवाफः म ट्रेड युनियनकर्मी भएकाले मलाई उम्मेदवार चुन्ने र मन परेको उम्मेदवारको प्रचार–प्रसार गर्न पाउने अधिकार रहेको र  मलाई आचारसंहिताबारे जानकारी पनि थिएन।

प्रेस काउन्सिल नेपाल, सिनामंगल, काठमाडौं
स्पष्टीकरणः पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट निज निवेदक रञ्जिता सिलवालको चरित्र हत्या हुने गरी प्रचार–प्रसार गरेको।
जवाफः निवेदकबारेका सामग्री मेचीकाली खबर नामक अनलाइनबाट प्रकाशित भएकाले उक्त सामग्री हटाउन लगाई उक्त अनलाइनलाई कारबाही गर्न लेखिपठाइएको।

भक्तपुर-२ का उम्मेदवार दुर्लभ थापा।
ऐनबहादुर महर, प्रतिनिधिसभा सदस्य उम्मेदवार, बझाङ

स्पष्टीकरणः बझाङ जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार भनी नगद ४१ हजार प्रदान गरी सामाजिक सञ्जालमा प्रचार–प्रसार गरेको।
जवाफः कहीँ–कतै नगद पुरस्कार दिने घोषणा गरेको छैन र दिएको पनि छैन। बिनाकारण विवादमा ल्याउन यो सब गरिएको हो।

इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट कम्पनी, ग्वार्को, काठमाडौं
स्पष्टीकरणः मतदातालाई प्रभावित पार्ने हिसाबले मलेसियामा ८०० युवालाई फ्रि भिसा र टिकटमा रोजगारीका लागि पठाउने भनी फाराम संकलन गरेको।
जवाफः निर्वाचनका लागि उठेका उम्मेदवारलाई जिताउन वा हराउन वा कुनै प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सहयोग गर्ने कार्य कम्पनीले नगरेको।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
स्पष्टीकरणः प्रदेश सरकारले करका दरमा हेरफेर गरेको।
जवाफः आचारसंहिता लागू हुनुपूर्व ७ असोजको बैठकले करका दर पारित गरेको, प्रस्ताव तयार गर्ने र लागू गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको भएकाले यस कार्यालयको कुनै भूमिकासमेत नरहेको।

आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
स्पष्टीकरणः प्रदेश सरकारले करका दरमा हेरफेर गरेको।
जवाफः निर्वाचन आचारसंहिता नलाग्दै २ असोजमा अर्थ मन्त्रालयबाट उक्त विषयलाई मात्र सम्बोधन गरी मन्त्रिपरिषद्मा पेस गरिएको हो।

प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेश, पोखरा
स्पष्टीकरणः प्रदेश सरकारले करका दरमा हेरफेर गरेको। आचारसंहिता लागु हुनुपूर्व मिति ७ असोजको बैठकले करका दर परिणत गरेको, प्रस्ताव तयार गर्ने र लागू गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको भएकाले यस कार्यालयको कुनै भूमिकासमेत नरहेको।

सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेश, पोखरा
स्पष्टीकरणः प्रदेश सरकारले करका दरमा हेरफेर गरेको।
जवाफः गण्डकी प्रदेशका प्रमुख सचिवबाट ७ असोजमा भएको निर्णय कार्यान्वयनका लागि लेखिआएकाले माननीय मन्त्रीस्तर २६ असोजको निर्णयानुसार निमित्त सचिवज्यूमार्फत राजपत्रमा प्रकाशनका लागि पठाइएको।

वीरबहादुर बलायर, प्रतिनिधिसभा सदस्य उम्मेदवार, कैलाली क्षेत्र–४, कैलाली
स्पष्टीकरणः आयोग र आयोगका पदाधिकारीका बारेमा लान्छनापूर्ण अभिव्यक्ति दिएको।
जवाफः पत्रपत्रिकामार्फत प्रकाशित भएका कुरा कपोकल्पित भएको र सम्मानित आयोगप्रति कहीँ–कतै पनि गलत अभिव्यक्ति नदिएको। आयोगका माननीयज्यूहरूप्रति तथा राष्ट्रसेवक कर्मचारीप्रति आँच आउने अभिव्यक्ति नदिएको।

दीर्घबहादुर सोडारी, प्रदेशसभा सदस्य उम्मेदवार, कैलाली क्षेत्र–४ (क), कैलाली
स्पष्टीकरणः आयोग र आयोगका पदाधिकारीका बारेमा लान्छनापूर्ण अभिव्यक्ति दिएको। 
जवाफः पत्रपत्रिकामार्फत प्रकाशित भएका कुरा कपोकल्पित भएका र सम्मानित आयोगप्रति कहीँ–कतै पनि गलत अभिव्यक्ति नदिएको। आयोगका माननीयज्यूहरू तथा राष्ट्रसेवक कर्मचारीप्रति आँच आउने अभिव्यक्ति नदिएको।

विश्वप्रकाश शर्मा, प्रतिनिधिसभा सदस्य उम्मेदवार, झापा क्षेत्र–१, झापा
स्पष्टीकरणः आगलागीपीडित केवल निरौलाको घर निर्माणका लागि रकम वितरण गरी सामाजिक सञ्जालमा पोस्ट गरेको।
जवाफः निर्वाचन आचारसंहिता लागू हुनुअगाडि नै राहत रकम दिएको फोटो सामाजिक सञ्जालमा पोस्ट भएको हो।

लक्षीराम आचार्य, केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
स्पष्टीकरणः आयोग र आयोगका पदाधिकारीका बारेमा लान्छनापूर्ण अभिव्यक्ति दिएको।
जवाफः पत्रपत्रिकामार्फत प्रकाशित भएका कुराहरू कपोकल्पित भएको र सम्मानित आयोगप्रति कहीँ–कतै पनि गलत अभिव्यक्ति नदिएको। आयोगका माननीयहरू तथा राष्ट्रसेवक कर्मचारीप्रति आँच आउने अभिव्यक्ति नदिएको।

झापा-१ का उम्मेदवार विश्वप्रकाश शर्मा।
इन्द्र बानियाँ, प्रदेशसभा सदस्य उम्मेदवार, मकवानपुर, क्षेत्र–२ (ख), नेपाली कांग्रेस

स्पष्टीकरणः आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई भ्रमणका लागि अग्रिम सहयोग रकम १५–१५ हजार रुपैयाँ उपलब्ध गराएको।
जवाफः उक्त समाचार कुनै सत्य नभएको। आफूले कुनै रकम वितरण नगरेको।

विरोध खतिवडा, प्रतिनिधिसभा सदस्य उम्मेदवार, मकवानपुर क्षेत्र–२, एकीकृत समाजवादी 
स्पष्टीकरणः आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई भ्रमणका लागि अग्रिम सहयोग रकम १५–१५ हजार रुपैयाँ उपलब्ध गराएको।
जवाफः उक्त समाचार कुनै सत्य नभएको। आफूले कुनै रकम वितरण नगरेको।

उमाकान्त चौधरी, मन्त्री, खानेपानी मन्त्रालय एवं प्रतिनिधिसभा सदस्य बारा क्षेत्र–१
स्पष्टीकरणः चुनावी प्रचार–प्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको।
जवाफः निर्वाचन प्रयोजनका लागि सरकारी नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेको होइन।

डा. प्रदीप पराजुली, सह–प्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटन
स्पष्टीकरणः नेपाली कांग्रेस पार्टीको सचिवको रूपमा कार्यरत रहेको।
जवाफः कुनै पनि राजनीतिक दलको साधारण सदस्यता, क्रियाशील सदस्यता वा सक्रिय सदस्यता नलिएको, क्याम्पसमा २६ साउनमा  जानकारी गराई कांग्रेस केन्द्रीय कार्यालयमा गैरराजनीतिक पद (विज्ञ) सचिवमा आंशिक रूपमा कार्यरत रहेको।

गगनकुमार थापा, प्रतिनिधिसभा सदस्यका उम्मेदवार काठमाडौं क्षेत्र–४, महामन्त्री, नेपाली कांग्रेस
स्पष्टीकरणः ट्वीटरमार्फत मतदातालाई प्रभाव पार्ने गरी डेंगुको निःशुल्क परीक्षण र परामर्श लिई टोल–टोलमा आउँदैछौं भनी मोबाइल नम्बरसमेत प्रकाशन गरेको।
जवाफः डेंगु प्रकोप फैलिरहेको अवस्थामा आमनागरिकको स्वास्थ्यलाई ख्याल राखिदिएको नियमित जनस्वास्थ्यसम्बन्धी भनाइ र पहिलेदेखि प्रदान भएको सेवाले निर्वाचन आचारसंहिता उल्लंघन भएको वा स्वतन्त्र र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गराउन कुनै अवरोध सिर्जना भएको भन्ने नदेखिएको।

भगवती चौधरी, प्रतिनिधिसभा सदस्य उम्मेदवार, सुनसरी क्षेत्र–३, नेकपा एमाले
स्पष्टीकरणः एक कार्यक्रममा विपक्षीलाई  गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की।
जवाफः विपक्षी वा कुनै व्यक्ति कसैलाई पनि तोकेर गोली ठोक्ने र छुरा रोप्ने अभिव्यक्ति नदिएको। आफ्नो अभिव्यक्तिलाई इलेक्ट्रोनिक्स टेक्नोलोजीको माध्यमबाट दुरुपयोग गराई आफूलाई बदनाम गराउन मात्र खोजेको हो।

लीलाबहादुर न्यौपाने, प्रतिनिधिसभा सदस्य उम्मेदवार, रसुवा
स्पष्टीकरणः फेसबुक ग्रुपपमार्फत व्यक्तिगत चरित्र हत्या गर्न लगाएको।
जवाफः रवीन्द्र पौडेललाई मैले अन्य उम्मेदवारका बारेमा कुनै पनि कार्य गर्नू भनी भनेको छैन, होइन। निजले के, कुन बेहोराको फेसबुक ग्रुपमार्फत व्यक्तिगत चरित्र हत्या गर्न लगाएको हुन्, मलाई जानकारी भएन। निज मेरो चुनावी अभियानमा लाग्ने नजिकका व्यक्ति पनि होइनन्।

जुलीकुमारी महतो, प्रतिनिधिसभा सदस्य उम्मेदवार, धनुषा क्षेत्र–३, धनुषा
स्पष्टीकरणः तपाईंको तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको फोटो।
जवाफः कुनै पनि अटो रिक्साको पछाडि फ्लेक्स बोर्ड लगाउने कार्य भएको छैन। न त फ्लेक्स बोर्डसहितको रिक्सा प्रयोग गरी कुनै ¥याली आयोजना भएको छ। तस्बिरसहितको फ्लेक्स अटो रिक्सामा कसले राखे, ज्ञात हुन सकेन।

सूर्यबहादुर थापा क्षेत्री, प्रतिनिधिसभा सदस्य उम्मेदवार, प्युठान
स्पष्टीकरणः निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको।
जवाफः उक्त प्रचार–प्रसार मैले गराएको र निर्देशन गरेको होइन। सो सामग्री स्थानीय बासिन्दाले स्वतःस्फूर्त रूपमा सामाजिक सञ्जालमा प्रचार–प्रसार गरेका हुन सक्छन्।

गगनकुमार थापा, प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र–४, महामन्त्री नेपाली कांग्रेस
स्पष्टीकरणः डेंगुविरुद्ध अभियान किन चलाएको भनी स्पस्टीकरण सोधेको तर आफूले अझ पनि त्यस्ता अभियान चलाउने भन्ने वक्तव्य दिएको।
जवाफः डेंगु प्रकोप फैलिरहेको अवस्थामा आमनागरिकको स्वास्थ्यलाई ख्याल राखी दिएको नियमित जनस्वास्थ्यसम्बन्धी भनाइ र पहिलेदेखि प्रदान भएको सेवाले निर्वाचन आचारसंहिता उल्लंघन भएको वा स्वतन्त्र र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गराउन कुनै अवरोध सिर्जना भएको भन्ने नदेखिएको।

राजीव गुरुङ, मन्त्री, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखरा 
स्पष्टीकरणः निर्वाचन आयोगले ३३ लाख ३० लाखभन्दा बढी खर्च गर्नुहुँदैन भनेको छ। ३० लाखमा नेपालमा चुनाव जित्छ यार? मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ।
जवाफः आफ्नो निर्वाचन क्षेत्रमा छुट्याएको खर्चको सीमाबमोजिमको रकम खर्च गर्ने व्यक्तिगत हैसियतसमेत आफूमा नरहेको। निर्वाचनको समयमा रक्सीउपर आयोगले प्रतिबन्ध लगाउनुपर्छ भन्ने हो। अन्यथा उम्मेदवारलाई मर्का पर्छ भन्ने आशय हो।

काठमाडौं-४ का उम्मेदवार गगन थापा।
मनोजकुमार यादव, शाखा अधिकृत, राजविराज नगरपालिका, सप्तरी

स्पष्टीकरणः सप्तरी (प्रतिनिधिसभा क्षेत्र–२ का उम्मेदवार उपेन्द्र यादवको प्रचार–प्रसार गरेको। 

उदय सुवेदी, अध्यक्ष, राष्ट्रिय भूमि आयोग, पर्वत
स्पष्टीकरणः निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको।

राम शर्मा लामिछाने, अध्यक्ष, कुश्मा नगरपालिका वडा–९, पर्वत
स्पष्टीकरणः निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको।

राजु आचार्य, अध्यक्ष, जलजला गाउँपालिका, पर्वत
स्पष्टीकरणः निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको।

सुभन्तराज सुवेदी, शिक्षक, नारायणी मावि, कुश्मा नगरपालिका वडा–८, पर्वत
स्पष्टीकरणः निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको।

प्रधानाध्यापक, पञ्चकोशी मावि, कुश्मा नगरपालिका वडा–१४, आर्थर, पर्वत
स्पष्टीकरणः विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपी, कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोसिस गरेको।

अर्जुनप्रसाद जोशी, नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार, पर्वत
स्पष्टीकरणः विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपी, कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोसिस गरेको।

कृष्ण तिवारी, शिक्षक, सरस्वती मावि,  मध्यबिन्दु नगरपालिका वडा–१३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्पष्टीकरणः नेपाली कांग्रेसको विभिन्न चुनावीसभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भइरहेको।

अनन्तलाल भण्डारी, प्रधानाध्यापक, महेन्द्र आदर्श मावि, मुसिकोट नगरपालिका वडा–७, वामीटक्सार, गुल्मी
स्पष्टीकरणः एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको तथा निर्वाचन घोषणा भएपछि चुनावी कार्यक्रम तथा बैठकमा सहभागी हुँदै आएको।

योगेश भट्टराई, एमाले उम्मेदवार, ताप्लेजुङ
स्पष्टीकरणः आचारसंहिता विपरीत हुने गरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको।
जवाफः बाँकी

बिना मगर, माओवादी केन्द्रका उम्मेदवार, कञ्चनपुर क्षेत्र–१
स्पष्टीकरणः२५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको। 
जवाफः बाँकी

प्रकाशित: Nov 06, 2022| 13:26 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...