काठमाडौं–निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ४४ राष्ट्रिय र ३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण अनुमति दिएको छ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको बताएका हुन्।
देशभर स्वयंसेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई आयोगले ग्रहण गर्ने उनको भनाइ छ।
यस्तै, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ७५० बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ। इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले १६५ निर्वाचन क्षेत्रमा ७५० बढी निर्वाचन पर्यवेक्षक खटाइने जानकारी दिए।
कार्यकारी निर्देशक गौतमले प्रजातन्त्र स्थापनापछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै यस पटक पनि निर्वाचनमा पर्यवेक्षक खटाउन थालेको बताए।