बैतडी– ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो।
कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए।
मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले पनि मतदान गर्न पाउनेछन्। बैतडीमा पाँच कैदीबन्दीसहित करिब आठ सय अस्थायी मतदाता छन्।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन्।
अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ। जिल्लाभरि १२९ मतदान स्थल र २१० मतदान केन्द्र छन्।
निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ। मतपत्र र निर्वाचन सामग्री जिल्ला पुगिसकेको छ।
निर्वाचनमा खटिने आवश्यक जनशक्तिलाई तालिम दिने क्रम जारी रहेको र केही दिनपछि खटाइने फुँयालले जानकारी दिए। साथै, राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसार कार्य जारी राखेका छन्।
प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशसभाका दुई सिटका लागि पनि ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। यहाँ १ लाख ५० हजार १५६ मतदाता रहेका छन्।