सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाल्पाको तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो

पाल्पाको तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो

सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

पाल्पा- पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन्। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन्। 

National life

आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुंगाबाट हुने आम्दानी पनि बढ्न थालेको छ। हाल दैनिक दुई सयदेखि तीन सयसम्म आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन्। 

फेवातालको झल्को दिने तालपोखरामा बेलाबखतमा परिवारसहित घुम्न आउने गरेको शौरभ सिं ठकुरीले बताए। 'ताल वरपर घुम्दा निकै रमाइलो लाग्छ, यो मलाई फेवाताल जस्तै लाग्छ, प्रचारप्रसार गर्न सकियो भने यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ', उनले भने। 

पछिल्लो डेढ महिनामा मात्र आन्तरिक पर्यटकबाट दुई लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए। उनका अनुसार दसैँ र तिहारका अवसरमा करिब एक लाख ५० हजार बराबरको आम्दानी टिकट बिक्रीबाट मात्रै भएको छ। 

यहाँ रहेका पाँच वटा डुंगामध्ये दुई वटा काठका डुंगा नियमित सञ्चालन भइरहेका छन्। तीन वटा डुंगा बिग्रेर मर्मत गर्नुपर्ने अवस्थामा छन्। आन्तरिक पर्यटक बढेसँगै अब बिग्रिएका डुंगा मर्मत गरी पाँचवटै डुंगा चलाउने समितिको तयारी छ।

हाँस आकारको डुंगा चढ्दा प्रतिव्यक्ति एक सय र काठको डुंगा चढ्दा प्रतिव्यक्ति ५० रुपैयाँको टिकट कायम गरिएको छ। यहाँ २०७४ माघदेखि डुंगा चलाउन सुरु गरिएको हो। यहाँ शनिबार र सार्वजनिक विदाका दिन, विशेष चाडपर्वमा आन्तरिक पर्यटकको खचाखच रहन्छ। 

नियमितरुपमा हरेक समय पानी व्यवस्थापन गर्न सकियो भने वार्षिक १५ लाख रुपैयाँ बराबरको कमाइ गर्न सकिने समितिको अनुमान छ। सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा तालपोखरा नै घुम्न भनेर बाहिरबाट विभिन्न संघ संस्थाको समूह आउँदा यसले सकारात्मक सन्देश प्रवाह गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाको भनाइ छ।

'सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ, व्यापक प्रचारप्रसारले तालपोखराका कारण रामपुरलाई चिनाउने राम्रो अवसर मिलेको छ, यो एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिएको छ', उनले भने।

तालपोखरमा दसैँ, तिहार, माघेसङ्क्रान्ति, शिवरात्रि, नयाँवर्षका अवसरमा ठूलो भिड लाग्दछ। अन्य समय पनि परिवार, साथीभाईसहित ताल वरपर घुम्नेको उत्साह देखिन्छ। मनोरञ्जन गर्ने र आफन्त, साथीभाई भेटघाट तथा घुमघामस्थलका रुपमा लिइएको छ। 

तालको मनमोहक सुन्दर दृश्यावलोकन गर्न पटकपटक एउटै व्यक्ति पनि आइरहने र रामपुरमा कोही नयाँ व्यक्ति आयो भने यहाँ घुम्न लिएर आउने राम्रो संस्कारको विकास भएको डुंगा चालक दिपेन्द्र भट्टराईले बताए। 

तालको मनोरम दृश्यले सबैलाई लोभ्याएको हुन्छ। यहाँ सेल्फीजोनको व्यवस्था गरिएपछि तालका बीचमा रहेको मन्दिरलाई पृष्ठभूमिमा राख्दै फोटो, भिडियो खिचाउने, टिकटक बनाउनेको रौनक देखिन्छ। तालसम्म पुग्ने पक्की सडक सुविधा भएकाले रामपुर भित्रने जो कोही पनि तालपोखरा घुम्न पुगेकै हुन्छ।

सानो उमेरमा पानी जमेको सामान्य खालको पोखरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदा रामपुरकै गहना बनेको रामपुर नगरपालिका–६ का वडाध्यक्ष दिवाकर देवकोटाको भनाइ छ। उनले तालको पर्यटन बिस्तारका लागि नगरपालिकाले बजेट उपलब्ध गराउने बताए।  

सामान्य पानी जम्ने खाडललाई यहाँका स्थानीयवासीले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने परिकल्पनासहित पूर्वाधार निर्माण सुरु गरेका हुन्। कृत्रिम ताल भए पनि अहिले कालीगण्डकीवेशीकै अवलोकनयोग्य ठाउँका रुपमा विकसित भएको छ। तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ। यहाँ शिवरात्रिमा समितिले विशेष पूजाआजाण्सहित मेला आयोजना गर्दै आइरहेको छ। 

ताल करिब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ। समितिको नाममा ताल र पार्कसहित करिब ७५ रोपनी जग्गा छ। पार्कमा पूर्वाधार विकास गर्नुपर्ने आन्तरिक पर्यटक तथा स्थानीयको सुझाव छ। समितिले पार्कमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनाएको छ। तालका रुपमा विकास गर्न श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर २०६६ बाट पूर्वाधार विकासको काम सुरु गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको हो।   -रासस

प्रकाशित: Nov 06, 2022| 04:05 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।