काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नक्वीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो।
शिष्टाचार भेटका क्रममा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए।
युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ। सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनलाई भेटेका थिए।
भेटवार्ताको क्रममा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको समेत भेटमा जानकारी गराएका थिए। साथै उनले नेपालसँग सहकार्यका लागी उनलाई प्रस्ताव गरेका थिए।
मन्त्री पुनले लगानीको सुरक्षाका लागी सरकारले कुनै कसुर बांकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पुर्याईदिन आग्रह गरेका थिए ।
युएईले नेपालको शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराए।
ऊर्जामा युएईको लगानी आवश्यक परे सरकारसँग औपचारिक आग्रह गर्ने राजदूतले भेटमा बताए। ‘त्यसपछि युएईले लगानी प्रक्रिया अघि बढाउन सक्नेछ,’ उनले भने।
भेटका क्रममा युएईले १७० देशको सहभागिता हुने गरी सम्मेलन गर्न लागेको राजदूतले जानकारी गराए। सम्मेलनमा प्रत्येक बर्ष नेपालले प्रतिनिधीत्व गर्दै आएको छ।
गत वर्ष तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले समेत उक्त सम्मेलनमा भाग लिएका थिए।
मन्त्री पुनले पछिल्लो समय निजी क्षेत्र र विभिन्न देशका राजदूतहरुसंग नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४