काठमाडौं- साताको तेस्रो दिन आज (मंगलबार) नेप्से परिसूचक ६.७७ अंकले बढेको छ। नेप्से बजारमा आएका अधिकाकांश समूहहरुको परिसूचक हरियो हुँदा समग्र नेप्से बजार एक हजार २१७.६५ विन्दुमा पुगेको छ। साथै ‘क’ बर्ग कम्पनीहरुको सेन्सेटीभ इन्डेक्स समेत १.८५ प्रतिशत बढेर दुई सय ५८.०१ बिन्दु पुगेको छ।
सोमबार भने नेप्से परिसूचक ८.१ अंक घटेर एक हजार २१०.८८ विन्दुमा पुगेको थियो। मंगलबार १६७ कम्पनीको चार हजार ९७ कारोबारबाट दश लाख ९७ हजार ९११ पटक भएको शेयरको खरिद बिक्रीबाट ३३ करोड ३२ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ।
होटेल समूहको परिसूचकमा उच्च वृद्धि
नेप्से बजारमा आएका ११ समूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने दुई समूहको घटेको छ। जसमा सबैभन्दा बढी होटेल समूहको परिसूचक ४९.४८ अंक बढेर एक हजार ८७६.४८ विन्दुमा पुगेको छ।
त्यसपछि उत्पादनमुलक समूहको परिसूचक २४.७, लाईफ इन्स्योरेन्सको परिसूचक १८.६३, विकास बैंकका परिसूचक १५.६४, माइक्रोफाइनान्स समूहको परिसूचक ११.८ अंक बढेको छ।
बैंकिङ समूहको परिसूचक ७.२३, व्यापार समूहको परिसूचक ०.८४, हाइड्रो समूहको परिसूचक २.८५, अन्य समूहको परिसूचक ३.७२ अंक बढेको छ। फाइनान्स र ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक भने क्रमशः ०.२६ र ६५.२८ अंक घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४