काठमाडौं– ‘एउटा कुरा नि... त्यो माओवादीले हाम्रो जग्गा खाएको थियो, त्यसलाई हेरिदिनुपर्यो।’ माइकको चर्को आवाजबीच ढालबहादुर बस्नेतको मधुर स्वर सुनियो। शुक्रबार बिहानै चुनाव केन्द्रित घरदैलो अभियानमा निस्किएका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापा रोकिए। बस्नेतले आवाज अलि चर्को बनाएर आफ्नो व्यथा सुनाउन खोजे। गगनले पनि नजिक गएर सुनिदिए।
छोटो समय गगनसँग कानेखुसी गर्न पाएका बस्नेतले आफ्नो माग दोहोर्याउन भ्याइहाले– माओवादीले खाएको त्यो जग्गाको क्षतिपूर्ति...। यति कुरा सुनेपछि गगनले बुझेझैं गरे। सकेसम्म छिटो चाबहिलका सबै घरदैलो भ्याउन हतारिएका उनले आफू पछि पुनः आउने वाचा गरे। जाँदाजाँदै दुई हात जोडेर भने– ‘हुन्छ। मैले बुझें, आउँछु पछि।’
गगनको आश्वासनले खुसी देखिएका बस्नेतले पनि उनलाई नै भोट दिने प्रतिबद्धता जनाए। बस्नेत आफैं पनि यसअघिका राजनीतिक आन्दोलनमा होमिएका व्यक्ति रहेछन्। अहिले उनलाई उभिनको लागि टेकोको सहारा चाहिन्छ। वैशाखीजस्तो लौरोको सहारामा मात्र उभिन सक्छन्। उनका अनुसार २०६२–०६३ को जनआन्दोलनमा उनको ढाड भाँच्चिएको थियो। ‘उहिले १९ दिन आन्दोलनमा हिँडियो। त्यहीबेला मेरो ढाड भाँचियो,’ बस्नेतले नेपाल समयसँग भने, ‘माओवादीले जग्गा पनि कब्जा गरिदियो। सोलुमा रहेको ५५ लाख पर्ने १० रोपनी जग्गा गुमाउनुपर्यो। त्यसैको क्षतिपूर्ति पाइन्छ कि भनेर आफ्ना उम्मेदवारलाई सुनाएको। उहाँले पछि भेट्ने भन्नु भा’छ।’
सो पार्कमा थापासहितका प्रदेशसभा उम्मेदवारलाई काठमाडौं महानगरपालिका–७ का पूर्ववडाध्यक्ष शुद्धकुमार डंगोलले फूलमाला र खादाले स्वागत गरे। त्यहाँ आयोजित कार्यक्रममा बोलेपछि उम्मेदवारहरु काठमाडौं महानगर वडा नम्बर ७ का गल्ली छिचोल्दै सिफलसम्म निस्किए। सोहीक्रममा चाबहिलस्थित गुरुङ टोलमा बस्नेतसँग थापाको भेट भएको थियो। त्यसपछि लामपोखरी हुँदै बहाल, शान्ति गोरेटो र गोपीकृष्णसम्म पुग्ने योजना गठबन्धनका उम्मेदवारहरुको थियो।
मतदातासँग भोट माग्दै हिँडेका गगनलाई हेर्न छत र बार्दलीमा मतदाताहरु निस्कन्थे। उनी हात हल्लाउँदै मतको अपिल गर्थे, कार्यकर्ताले नारा लगाउँथे। माथिबाट मतदाताले मुस्कानसहित मौन समर्थन जनाउँथे।
बेलामौका कार्यकर्ताले गीत पनि बजाउँथे। स्पिकर सानै देखिए पनि एउटा टोल गुञ्जायमान बनाउन त्यसको आवाज पर्याप्त थियो। रोचक के भने, कांग्रेसको गीत बज्दा गठबन्धनमा रहेका अन्य दलका कार्यकर्ताले कताकता नमज्जा मानेझैं देखिन्थ्यो। कतिले त मुखै फोरेर भनिहाल्थे– कांग्रेसको मात्र नबजाऔं। सबैलाई मत मागौं।
गठबन्धनको कारण अर्को रोचक कुरा पनि घरदैलोका क्रममा देख्न पाइयो। सुरुवाती चरणदेखि नै उम्मेदवारहरुले ‘रुट’बारे टुंगो लगाउन पर्याप्त छलफल गरेको देखिएन। काठमाडौंमा उसै पनि गल्लीहरुले मान्छेलाई झुक्याइदिन्छ। त्यसमाथि टोलमा छिर्ने र निस्कने बाटोको रुट नमिले अन्योल सिर्जना भइहाल्थ्यो। चुनावको मुखमा नेताहरुलाई पनि कुनै घर छुटाउनु थिएन। यस्तो बेला नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ‘यो बाटो जाऔं’ भन्दा कांग्रेसका कार्यकर्ताले अर्कै बाटो लगिदिने र कांग्रेसले भन्दा एसका कार्यकर्ताले त्यसै गरिदिने क्रम केही समय चल्यो।
तर यस्ता कुरा मिलाउन गठबन्धनका उम्मेदवारलाई गाह्रो परेन। गगन आफैं पनि घरी ‘घले दाइ’को घर जाने बाटो सोध्थे, घरी कसको। कार्यकर्ताहरुले उम्मेदवारको सोहीअनुरुप रुटहरु मिलाउँदै हिँडिरहेका थिए। घरदैलोको पहिलो दिन भएकोले केही समस्या देखिए पनि भोलिबाट यस्तो नहुने नेताहरुको जिकिर थियो। त्यसैले भोलि हुने घरदैलोका लागि कुमारीगल–गौरीघाटको रुट टुंगो लगाउन आजै बेलुका स्थानीय नेताहरु बसेर छलफल गर्ने तयारी रहेको घरदैलोमा सहभागी एक नेताले बताए।
कांग्रेस महामन्त्रीसमेत रहेका थापा बेलाबेला फोनमा पनि व्यस्त देखिन्थे। आपूm १२ बजेसम्म अफिस आइपुग्ने जनाउ दिन्थे। फोनमार्फत नै विभिन्न कार्यक्रमहरु तय गर्थे। शुक्रबार भएको घरदैलो अभियानलाई आधार मान्दा पार्टीको भन्दा पनि गगनको व्यक्तिगत पकडको मत नै उनको जितको आधार हो। जस्तो– विष्णु गल्ली कटेपछि आउने एक घरमा भएको मतदातासँगको संवादलाई हेरौं। गगनलाई शुभकामना दिन आएकी सुनिता चापागाईंले ‘पार्टी हेरेर भन्दा पनि गगन थापा हेरेर मत दिएको’ अभिव्यक्ति दिइन्। ती महिलाले खादा लगाउँदै गगनलाई भनिन्, ‘वनस्थलीको भाइ भनेर मात्र हो भोट दिने। कांग्रेस–सांग्रेस भनेर हैन। म चिन्दिन पार्टी–सार्टी।’
यस्तो छ काठमाडौं–४ को अंकगणित
कांग्रेस महामन्त्री गगन थापासँग दोस्रो पटक चुनावी मैदानमा चिरपरिचित प्रतिद्वन्द्वी राजन भट्टराई मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। कांग्रेस महामन्त्री थापा र एमाले विदेश विभाग प्रमुख भट्टराईको काठमाडौं–४ मा दोस्रो भेट हो। गगन काठमाडौं–४ बाटै फेरि ह्याट्रिक सुरले चुनावी मैदानमा छन्।
यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू १, ७, ८ र ३० पर्छन्। यस्तै, बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन्। गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत विश्लेषण गर्दा काठमाडौं–४ मा एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एसको २ हजार ४१४, राप्रपाको २ हजार २९३, नेकपा माओवादीको ८४४ र जसपाको ३१७ मत छ। अहिले काठमाडौं–४ मा क्रियाशील दलमध्ये कांग्रेस, माओवादी र नेकपा एसबीचमा गठबन्धन छ। यस्तो अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनको मत १९ हजार २१ देखिन्छ।
यसअघिका दुई चुनावमा सोही क्षेत्रबाट विजयी भएका गगन तेस्रो जित निकाल्न तम्सिएका छन्। अघिल्लो चुनावमा पनि थापाले वाम गठबन्धनका उम्मेदवार भट्टराईलाई ३ हजार ४ सय १८ मतान्तरले पराजित गरेका थिए। थापाले २१ हजार ५ सय ५८ मत पाउँदा भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका थिए।