काठमाडौं– नेपाली साहित्यमा कथा पछाडि परिरहेको समय हो, यो। कमजोर कथा लेखिएको आरोप छ, कथा साहित्य सर्जकहरूलाई। ओझिला कथा आउन नसके पनि कथाकृति भने बाक्लै बजारमा आइरहेका छन्। यही भीडमा लेखक अशोक थापा ‘सन्तापको धून’ कथा संग्रहसहित देखा परेका छन् ।
त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागका प्राध्यापक अशोक थापाको सिर्जनात्मक पहिलो कृति हो, सन्तापको धून। उनका नेपाली भाषा साहित्यसँग सम्बन्धित झन्डै तीन दर्जन समालोचना प्रकाशित भइसकेका छन्।
२०५८ तिर ‘जनमत’मा पहिलो समीक्षा प्रकाशन गरेका थापा साहित्यको गहकिलो समालोचकीय दृष्टिसहितका समालोचक मानिन्छन्।
तीन दर्जन बढी समालोचना तथा पुस्तकालय विज्ञान विषयमा अनुसन्धानात्मक लेखहरू लेखिसकेका थापाले साहित्यिक कृति ढिलो गरी आउनु सैद्धान्तिक र व्यावहारिक दुई पक्ष रहेको बताउँछन्। ‘उमेरलाई छाडेर भन्नुपर्दा राम्रो सिर्जना गर्न कहिल्यै ढिलो हुँदैन’, उनी भन्छन्, ‘हामी मध्यमवर्गीय परिवारबाट आएका लेखकको पहिलो प्राथमिकता परिवार र करियर हुँदो रहेछ। ऋनि, त्यसपछि सिर्जनात्मक क्षेत्र। यसो हुँदा ढिलो भएको भन्न सकिन्छ।’
कोरोनाको बन्दाबन्दीको एकान्तबासमा १३ थान कथा लेखेर सन्तापको धून कथासंग्रहलाई आकार दिएका थिए, उनले। उनी आफ्ना कथाको भूमिकामा लेख्छन्, ‘मलाई थाहा छैन, कथालेखन र बन्दाबन्दीमा परेका थुनुवा जीवनका बीचमा के–कस्तो अन्तर्सम्बन्ध छ। त्यतिबेला हृदयमा चिन्ताको आतंक छुट्टै धून बनेर निस्किरहेको भान भइरह्यो मलाई। एकान्तबासको त्रासलाई परास्त गर्न मनमा एउटा छुट्टै झंकारको आवश्यकता बोध भयो। हो, त्यही बेग्लै त्रासदीको धूनबाट सिजर्ना भए जिन्दगीका केही अविश्रान्त लयहरू।’
थापाले गण्डकी र बागमतीको सेरोफेरोमा आफ्ना कथाको प्लट उनेका छन्। आफ्नै निजी अनुभव र अनुभूतिका रङलाई कथामा पोतेका छन्। जापानी कथाकार हारुकी मुराकामीका कथाबाट बढी प्रभावित थापा आफ्ना कथालाई समय–सान्दर्भिक मान्छन्।
उनका अनुसार समाजभित्रकै नभनिएको कथा हो, सन्तापको धून। अझ फरक तरिकाले भनिएको कथाजस्तो पनि लाग्छ उनलाई। समाजमा दिनदिनै देखेर पनि अनदेखा व्यवहार गरेका घटना टिपेर लेखिएको कथा भएकाले यो कृति पाठकको रोजाइमा पर्छ भन्ने लाग्छ, थापालाई। तर उनी सन्तापको धूनलाई समालोचकीय दृष्टिकोणबाट हेर्दा पूरापूर नम्बर भने दिन सक्दैनन्। उनी भन्छन्, ‘विश्वविद्यालयको प्रध्यापक र समालोचकको नाताले रातो कलम लिएर सन्तापको धूनलाई केरकार गरें भने सायद ५९–६० नम्बरको हारहारीमा राख्न सक्छु होला। त्योभन्दा माथि छुन्छजस्तो लाग्दैन। लेख्दै जाँदा प्रशस्त कमजोरी हुने रहेछन्।’
पुस्तक बजारमा आएपछि लेखकको भय कसले के भनिदिने हुन् भन्ने हुने भइहाल्यो। बजार समीक्षा पनि हुन्छ तर उनलाई सन्तापको धूनबाट सकारात्मक प्रतिक्रिया पाएकाले ढिलो भएकामा पछुतो छैन। आफ्नो किताब सोह्रैआना ठीक भन्ने भ्रमबाट आफू मुक्त रहेको लाग्छ उनलाई।
दैनिक विद्यार्थीहरूमाझ नेपाली साहित्यको व्याख्या गरेर जीविका चलाउँदै आएका प्राध्यापक थापा आफ्नै कथासंग्रह बजारमा आएपछि चाहेजति खुसी छैनन्, जति छापिनुअघि खुसी थिए। त्यस्तो किन भयो? थापा भन्छन्, ‘पुस्तकमा कमी–कमजोरी विस्तारै थाहा लाग्दै जाने रहेछ। लेखक पहिला समालोचक भएर लेख्न सक्दैन, केवल लेखककै दृष्टिकोणमा लेखिने भएकाले यस्ता कमजोरी भेटिन्छन्।’
थापा आफ्ना कमजोरीलाई स्वीकार्न हिचकिच्याउँदैनन्। उनले सन्तापका धूनबाट संगीन प्रश्न धेरैबाट झेले। यस्ता प्रश्नबाट भाग्नुहुँदैन भन्ने लाग्छ उनलाई। भन्छन्, ‘यसबाट मैले सिक्नैपर्ने हुन्छ, भाग्नेले सिक्न सक्दैन।’
साहित्य सर्जकलाई कृति प्रकाशनअघि आफ्नो रचना उत्पात राम्रो लाग्छ। छिटो प्रकाशन गर्न पाए हुन्थ्यो भन्ने हुन्छ। प्रकाशनपछि पनि पुस्तक लेखकलाई मन पर्नु स्वाभाविकै हो। साहित्यकारहरू आफैंले सिर्जना गरेको कृतिमाथि खोट देखाउनेप्रति रिसाउँछन्। कतिपयले टिप्पणी किन गरेको भनेर प्रश्न गर्छन्। आफ्नाबारे राम्रा–राम्रा मात्रै लेखिदिनू भनेर अनुरोध गर्छन्।
तर थापा कृतिको निर्मम समीक्षा हुन सके लेखकको लेखनमा सुधार आउन सक्ने सुनाउँछन्। त्यो अनुभव सन्तापको धूनले दिएकामा उनी खुसी छन्।
विश्वविद्यालयका प्रध्यापकले थुप्रै कथा लेखे पनि नामोनिशानै नभएका प्रशस्तै उदाहरण छन्। बजारले नसुनेका सिर्जनात्मक पुस्तक विद्यार्थी पढ्न बाध्य छन्। यो अर्को पाटो भयो। तर थापालाई सन्तापको धूनले त्यो दुर्दशा भोग्ला कि भन्ने डर थियो। कक्षामा आफ्नै विद्यार्थीले सन्तापको धूनमाथि झुर किताबको ट्याग लगाइदिन्छन् कि भन्ने चिन्ता थियो। उनी भन्छन्, ‘एक प्राध्यापक भएको नाताले मलाई त्यो चुनौती थियो।’
नेपाली भाषा साहित्य अध्यापन गराइरहेका प्राध्यापकबाट बलियो कथा कृति किन जन्मिन सकेको छैन भन्ने प्रश्नमा थापा गम्भीर हुन्छन्। उनी जीवन चलाउनकै लागि पेसामा केन्द्रित हुनुपर्ने कारण देख्छन्।
त्रिविबाट नाटकमा विद्यावारिधि गरिसकेका थापा पछिल्लो समय नेपाली कथा खस्किएको स्वीकार्छन्। उनी कथा लेख्न गाह्रो देख्छन्। कथा हामीमाझ नै भए पनि न्यायपूर्वक त्यसलाई टिप्न आजका पुस्ताले नसकेको बताउँछन् उनी। थापाका अनुसार अहिलेको समय नेपाली कथा संख्यात्मक हिसाबले उर्भर देखिए पनि गुणात्मक हिसाबले कमजोर छ।
‘आजका कथामा विषयवस्तु छ तर शिल्पशैली र भाषा कमजोर छ। भाषाशैली राम्रो भनिएका लेखकबाट भने विषयवस्तुमाथि न्याय हुन सकेको छैन,’ उनी भन्छन्।
म उदारवादी समीक्षक हुँ जस्तो लाग्छ। सिर्जनाको मूलो जरो निमोठेर अब्बल समीक्षक बन्न सकिन्छ भन्नेमा मैले कहिल्यै विश्वास गरिनँ। समीक्षा खास विचारले मात्र भेदिएर गर्नुहुँदैन।
विभिन्न समालोचकले मैनाली र भिक्षुकै शैलीमा कथा बढी आउनु भनेको कथामा नयाँ प्रयोग गर्न डराउनु पनि हो। थापा पनि मैनाली र भिक्षुको लेखनबाट अछुत छैनन्।
‘कथानकको भँचाइ (डाइभर्सन), कूतुहल र पाठकलाई कथाको अन्तिम वाक्यसम्म बल्झाउन सक्ने प्रविधि मेरो कथामा भएको खास कुरा हो भनेर समीक्षकले बताएका छन्। मेरो कथामा पनि कमी–कमजोरी नभएका होइनन्’, उनी भन्छन्, ‘अहिलेका कथा सयकडा दस राम्रा छन् भन्न सकिन्छ।’
नेपाली केन्द्रीय विभागबाट प्रकाशित हुने कुञ्जिनी, वाङमय शार्दूल साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने शार्दूल तथा पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रिविबाट प्रकाशित हुने इन्फोलिबजस्ता पत्रिकाको सम्पादक तथा प्रधानसम्पादकका रूपमा कार्य गरिसकेका थापा बिपी र गोठालेका कथामाथि गहिरो लगाव सुनाउँछन् । त्यसपछि पारिजात, धु्रवचन्द्र गौतम, नारायण ढकाल, माया ठकुरी, भागरथी श्रेष्ठ, नयनराज पाण्डे, महेशविक्रम शाह, महेश पौड्यालका कथा उनी रुचाउँछन्।
तर आफ्ना विद्यार्थीमाझ भाषा साहित्य पढाइरहँदा उनको अनुभवमा अहिले नेपाली युवालाई ‘मोटिभेसन’ गर्ने खाले कथासाहित्य पढ्न रुचि राखेको बोध गर्छन्। रुन्चे साहित्यबाट अलिकति छुटकारा पाउन खोजेको लाग्छ युवाहरू’, उनी भन्छन्, ‘सारमा कथा आफ्नै परिवेशका भए पनि हृदय छुने र उत्प्रेरणा जगाउने खाले हुनुपर्छ भन्ने हो।’
कथा कमजोर हुनुको कारण छद्म लेखन पनि ठान्छन् थापा। बजारमा के गरिरहेका छौं भनेर कतिपय मित्रहरूलाई सोधियो भने म फलानाको किताब लेखिरहेको छु भन्ने उत्तर पाइन्छ। उनी भन्छन्, ‘तीसदेखि पचासअघिका कथाहरू उन्नत थिए। अहिले लेखन प्याट्रन पहिल्याउन नसक्नु र बजारमा छद्म लेखन फस्ट्याएपछि कथा थप कमजोर हुँदै आएका हुन्।’
थापाले सन्तापको धूनको पहिलो कथा ‘हात्तीछाप चप्पल’ कथाको अन्तिममा अंग्रेजी शब्द नै प्रयोग गरेका छन्। पछिल्लो समय नेपाली कथा साहित्यमा अंग्रेजी अत्यधिक प्रयोग हुन थालेको छ। सम्भवतः लेखक कुमार नगरकोटी अंग्रेजी अक्षर प्रयोग गर्नेमध्येमा अग्रपंक्तिमा छन्। यो ट्रेन्ड हो वा आवश्यकता? के अंग्रेजी शब्द प्रयोग गर्दा नेपाली साहित्य बलियो हुन्छ?
‘अंग्रेजी शब्द प्रयोग हुनु स्वाभाविक छ किनभने हामी अंग्रेजी भाषिक उपनिवेशको चपेटामा छौं। मैले पनि एउटा कथाको शीर्षक ‘भजाइनल ट्रमा’ राखेको छु, जसको नेपालीकरण गरियो भने अश्लील सुनिन्छ। स्त्री यौनांगको कुरालाई भन्नुपर्दा अंग्रेजीको सहारा लिनुपरेको हो’, उनी प्रस्टीकरण दिन्छन्, ‘ठाउँ–ठाउँमा अरू अंग्र्रेजी शब्द पनि परेका हुन सक्छन्। त्यसलाई निफन्न नसकेको हो र पाठकले पचाइसकेका अंग्रेजी शब्दप्रति उदारता देखाएको हो। नेपाली भाषामा वैकल्पिक शब्दको अभाव पनि हुन सक्छ।’
थापा कथा सरल र सहज हुनुपर्छ भन्ने विषयमा सहमत छन्। तर पछिल्लो समय प्रयोगको नाममा कथाहरू जटिल बनेको बताउँछन् उनी। कथाका पाठक उपल्लो तह अध्ययन गरेका विद्यार्थी मात्रै होइनन्, निमाविमा पढ्दै गरेका स्कुले विद्यार्थी पनि हुने भएकाले सरल कथा लेखिनुपर्छ भन्ने लाग्छ उनलाई।
‘कथाहरू बौद्धिकताले थिचिनु भनेको निमोनियाले ग्रस्त बिरामी दौड्न खोज्नुजस्तै हो। बौद्धिकताले थिच्नु भनेको लेखकको असफलता र पाठकप्रतिको बेइमानी पनि हो। हो, मेरा केही कथामा प्राध्यापकीय शैली र समालोचकीय शैली घुसेको छ भन्ने आलोचना भएको छ। म त्यसलाई स्वीकारेर आगामी दिनमा सचेत भएर सिर्जना गर्न चाहन्छु’, उनले भने।
लेखनकर्म निकै जटिल भएको स्वीकार्दै सन्तापको धूनको भूमिकामा ‘अबदेखि कसैको कृतिमाथि कडा टिप्पणी र समालोचना गर्दिनँ’, भनेर लेखेका थिए, उनले। तर थापा लेखनीमा सुधार ल्याउने हो भने आफ्ना कृतिमाथि भएका टिप्पणी वा समीक्षालाई स्वीकार्नुपर्छ भन्दै समालोचकीय दृष्टिकोणलाई निरन्तरता दिने सोचमा पुगेका छन्।
‘म उदारवादी समीक्षक हुँ जस्तो लाग्छ। सिर्जनाको मूलो जरो निमोठेर अब्बल समीक्षक बन्न सकिन्छ भन्नेमा मैले कहिल्यै विश्वास गरिनँ। समीक्षा खास विचारले मात्र भेदिएर गर्नुहुँदैन’, उनी भन्छन्, ‘पक्षधरताका आधारमा गरिएका समालोचना खासमा पार्टी कार्यकर्ताले गरेका चुनावी रणनीतिजस्तै हो। मेरो मान्यता के भने हिमाल आफैंमा सुन्दर छ। त्यसमा बिहानको लालिमाले जस्तै टलक ल्याउनु समालोचनाको पहिलो सर्त हुनुपर्छ। हुन त, यो समालोचनाले नेतृत्व गरेको समय भने होइन।’