काठमाडौं– निर्वाचन आयोगले गत २८ असोजदेखि सञ्चालन गरेको कल सेन्टरमा बिहीबारसम्म २ हजार ३९८ वटा जिज्ञासा आएको बताएको छ। कल सेन्टरमा आएका सबै जिज्ञासा समाधान भएको कल सेन्टरका प्रमुख कमल भट्टाराईले बताए।
आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको हो। निःशुल्क टोल फ्री ११०२ नम्बरमा जुनसुकै दूरसञ्चार सेवाप्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा ल्याइएको छ। उनले भने, ‘सेवाका लागि ६ कर्मचारी २४सै घन्टा सेन्टरमा खटिएका छन्।’
उनका अनुसार यसका लागि बिहान ९ देखि साँझ ७ बजेसम्म कर्मचारी रहने गरेका छन्। कर्मचारी नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वतः रेकर्ड हुने व्यवस्था छ।
उक्त रेकर्डेड प्रश्नलाई पछि कर्मचारीले सुनेर सम्बन्धित व्यक्तिको उत्तर दिने व्यवस्था छ। उनले भने, ‘कल सेन्टरका कर्मचारीले प्रश्नकर्ताको उत्तर दिने गर्छन्। आफू नसक्ने प्रश्नका लागि सम्बन्धित विभागमा पठाउँछन्।’
कल सेन्टरमा आउने जिज्ञासा निर्वाचनसँग सम्बन्धित हुने गरेको उनले बताए। उनका अनुसार स्थानीय तह गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिले दलको चुनाव प्रचार–प्रसार गर्न पाउँछन् कि पाउँदैनन्? कार्यपालिकाको निर्णयअनुसार करारमा कार्यरत कर्मचारीले के गर्न मिल्छ? मिडियालाई अनुगमन गर्न सेना र प्रहरी प्रयोगमा छन् कि? वास्तविक मतपत्रको नमुना कहिले आउँछ? निर्वाचनमा मतपत्र कस्तो हुन्छ? कसरी मत दिने हो? नामावली कसरी हेर्ने? मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न पाइन्छ? नमुना मतदानका लागि मतपेटिका उपलब्ध गराइन्छ? के गर्दा आचारसंहिता विपरीत हुन्छ? पत्रकारले मतदान केन्द्रमा स्थलगत रिपोर्टिङ गर्न कसको अनुमति लिनुपर्छ? जस्ता जिज्ञासा आएका छन्।