काठमाडौं- किशोरी बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस सुरु भएको थियो। बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरू मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए। बहसका क्रममा आफूहरूले पीडित भनिएकी किशोरीको जन्मदर्ता र नागरिकतामा फरक उमेर पाइएको भन्दै जन्मदर्तालाई आधार मान्नुपर्ने माग इजलास समक्ष गरेको अधिवक्ता सापकोटाले बताए।
सरकारी वकीलले जबरजस्तीकरणीको बारदात स्थापित गर्ने कुनै प्रमाण पेस गर्न नसकेकाले सन्दीपलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्न माग गरेको सापकोटाले बताए।
आज बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश दिनेछ।
सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले आफूलाई बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरीमा जाहेरी दिएकी थिइन्।