रुपन्देही- भारतीय नागरिकलाई नेपाली नागरिक सिफारिस गरी नागरिकता बनाइदिएका कपिलवस्तुका पूर्व वडाअध्यक्ष पक्राउ परेका छन्। मायादेवी गाउँपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष फते मोहम्मद मुसलमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भारतीय नागरिक मोहम्मद अमिर फकिरले २०७८ माघ १२ गते जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरा स्थायी ठेगाना राखी नेपाली नागरिकता लिएका थिए। उनलाई नागरिकता दिलाउन तत्कालीन वडाअध्यक्ष फते मोहम्मद मुसलमानले सिफारिस गरेकोमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका पूर्व वडाअध्यक्ष फते मोहम्मदले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मायादेवी गाउँपालिका वडानम्बर ४ को वडाअध्यक्षको निर्वाचन जितेका थिए। २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाअध्यक्षका उम्मेदवार रहेका उनी निर्वाचनमा पराजित भएका थिए।
नागरिकता पाएका फकिरले तत्कालै द्रुत सेवाको राहदानी लिएका थिए। नेपाली नागरिकता र राहदानी पाएका उनले बैदेशिक रोजगारीका लागि मलेसिया जाने क्रममा अध्यागमन कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन साताअघि नियन्त्रणमा लिएको हो।
मोहम्मदलाई नियन्त्रणमा लिई नेपाल नागरिकता सम्बन्धी कसुरमा मुद्दा चलाई अनुसन्धानका लागि कपिलवस्तु अदालतबाट तीन दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए।