काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरी नाबालिग नभएको दाबी गर्दै उनी पक्षका वकिलले अदालतमा 'प्रमाण' पेस गरेका छन्।
जिल्ला अदालत काठमाडौंमा जारी थुनछेकको बहसका क्रममा बुधबार सन्दीपका वकिलहरुले पीडित नाबालिग नरहेको भन्दै प्रमाण पेस गरेका हुन्। सन्दीपका वकिलले पीडित नाबालिग नभएको प्रमाणस्वरुप जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेेस गरेका हुन्। कानुन व्यवसायी मुरारी सापकोटाले उक्त प्रमाण न्यायाधीशसमक्ष पेस गरेका हुन्।
उक्त प्रमाणपत्रअनुसार किशोरीको जन्म २०६१ असार १८ गते भएको हो। यो जन्ममिति कायम हुँदा बलात्कार घटना भएको मितिमा पीडितको उमेर १८ वर्ष पूरा भएको देखिन्छ।
पीडित बालिकाले आफू नाबालिग भएको भन्दै सन्दीपविरुद्ध बलात्कार आरोपमा भदौ २१ गते उजुरी दिएकी थिइन्। उनको उजुरीका आधारमा १२ वर्षसम्म कैद सजायको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा दुवै पक्षका वकिलहरुले बहस गरिरहेपनि बुधबार पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। उक्त मुद्दामा बिहीबार पनि बहस हुनेछ। बहसपछि सन्दीपलाई पुर्पक्षका थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय अदालतले गर्नेछ।