सिन्धुली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले मत माग्न आउने एमालेका उम्मेदवारलाई ओली सरकारले गरेको संसद विघटनबारे समेत प्रश्न गर्न आग्रह गरेका छन्। सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ डुँडभज्याङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मतदातालाई एमालेका उम्मेदवारलाई यसबारे प्रश्न गर्न आग्रह गरेका हुन्।
‘ओलीको मतियारलाई मत माग्दा सोध्नुस्- हामीले विश्वास गरेर दिएको त्यो बहुमतको दुरुपयोग गरेर संसदको विघटन किन गर्यौ? ओलीको कारण संसारमा नभएको प्रधानन्यायाधीशविरुद्ध अनौठा आन्दोलन भयो,' उनको भनाइ थियो, 'आज देशमा संविधान, लोकतन्त्र, न्यायलय र संसदको रक्षा गर्न यो गठबन्धनको आवश्यकता पर्यो।’
अग्रगमनको पक्षपातीहरु र यो संविधान र त्यसभित्र समेटिएका उपलब्धि ल्याउन भूमिका खेल्ने प्रमुख शक्तिहरु एक ठाउँमा उभिएर प्रतिगमनलाई परास्त गर्ने घिमिरेको जिकिर छ। चुनावपछि तीनै तहमा गठबन्धनको सरकार बन्ने र त्यसले विद्युत विस्तार, खानेपानी, गाउँ जोड्ने सडक, गुणस्तरीय शिक्षा, स्वास्थ्य चौकी निर्माण, रोजगारीको सिर्जना, उत्पादन कृषि सामग्रीको लागि कृषकको बजारको व्यवस्था, कृषि सडकहरूको विकास गर्ने उनको जिकिर छ।
चुनाव जितेपछि आफू ढुक्कले काठमाडौं नबस्ने र जनताको बीचमा आइरहने वाचा गर्दै सिन्धुली-१ का उम्मेदवार घिमिरेले मध्यपहाडी क्षेत्रको विकासको लागि दुई रणनीतिक सडक आफ्नो प्राथमिकतामा रहेको समेत बताए।
‘म सांसदको रुपमा निर्वाचित भएर काठमाडौं गएर ढुक्कले बस्ने छैन, संधै तपाइँहरुको बीचको हुनेछ,’ उनले भने, ‘मध्यपहाडी राजमार्गमा जोड्ने २ वटा रणनीतिक सडकको रुपमा शुलीभज्याङ–धापचौकी–भिमस्थान–भिमान जोड्ने पक्की सडक र नवलपुर–चकमके–डकाहा हुँदै गोदार निस्कने पक्की सडक ५ वर्षमा बनाउने कसम खाएको छु, यो मेरो सडक बाटोको रुपमा पहिलो प्राथमिकतामा पर्नेछ।’
कार्यक्रममा प्रदेशसभाका उम्मेदवारसँगै जिल्ला तहका अन्य नेताहरु पनि उपस्थित थिए। नेपाली कांग्रेसका नेता मोहनप्रसाद बरालले घिमिरेको कुरामा समर्थन गर्दै अहिलेको एकता व्यवस्था जोगाउने एकता रहेको बताए।