काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
मंगलबार बयान सकिएसँगै बुधबार थुनछेक बहस सुरू भएको हो। बुधबार ९ जना वकिलले बहस गरेका थिए।
पीडित पक्षका चार जना सरकारी वकिल, तीन जना वकिलले बहस गरेका थिए। प्रतिवादीको तर्फबाट अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरे।
थुनछेक बहस बिहीबार पनि जारी रहनेछ। बहस सकिएपछि इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गर्न सक्नेछ।
सोमबार अदालतमा दर्ता भएको मुद्दामा मंगलबार बयान लिइएको थियो। सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरी दिएकी थिइन्।
सन्दीपलाई २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।
भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।