मलेखु– धादिङ क्षेत्र–२ मा आगामी ४ मंसिरको निर्वाचनको माहोल बेस्सरी तातेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन्।
धादिङ–२ मा सत्ता गठबन्धनबाट कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसका अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा नेपाल समाजवादी पार्टीको साथ रहेको छ। एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ।
त्यसो त, यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वसुमाया तामाङ, कांग्रेस बिपीबाट शंकर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट धनमाया तामाङ प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै उम्मेदवारबीच हुने देखिएको छ।
नीलकण्ठ नगरपालिका–१२ का कुलप्रसाद ढकाल भन्छन्, ‘एउटै व्यक्तिलाई धेरै पटक भोट हालियो। हाम्रा चार पुस्ताले एउटै उम्मेदवारलाई जितायौं तर गाउँको विकासले मुहार फेर्न सकेन।’
विगतमा तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीयतापछि राज्य पुनःसंरचना गर्दा दुई वटा निर्वाचन क्षेत्र कायम भएको छ। तीमध्ये पृथ्वी राजमार्गदेखि दक्षिणको महाभारत सिमानालाई जोडेर एउटा क्षेत्र–१ र जिल्ला सदरमुकामदेखि उत्तरको हिमाली भेगलाई समेटेर क्षेत्र–२ बनेको छ। एउटा प्रतिनिधिसभा क्षेत्रभित्र दुई वटा प्रदेशसभा क्षेत्र छन्।
क्षेत्र–२ मा नीलकण्ठ नगरपालिकासहित ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुना, नेत्रावती डबजोङ, खनियाबास र रुविभ्याली गाउँपालिका पर्दछ। सो क्षेत्रमा १ लाख ३६ हजार ७४२ मतदाता छन्।
जिल्ला निर्वाचन कार्यालय धादिङको तथ्यांकअनुसार प्रदेशसभा (क)मा ७२ हजार ४१४ र प्रदेशसभा (ख)मा ६४ हजार ३२८ मतदाता छन्। संघीयतापछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट एमाले नेता खेमप्रसाद लोहनी विजयी भएका थिए। कांग्रेस नेता दिलमान पाख्रिनलाई ६४० मतले पराजित गर्दै लोहनी विजयी भएका थिए। लोहनीलाई तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रको साथ थियो।
यस पटक पनि उम्मेदवारी दिएका सबै व्यक्ति र दलले आफूले नै विजय हासिल गर्ने बताइरहँदा गठबन्धनबाट कांग्रेस र राप्रपासँग तालमेलमा रहेको एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा कुन उम्मेदवार कति बलियो भन्ने लेखाजोखा निकाल्न सकिन्छ।
यस्तो छ धादिङ–२ को लेखाजोखा
धादिङमा रहेका कुल १०४ वडामध्ये ५१ वडा रहेको संघीय क्षेत्र–२ मा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अधिकांश वडामा राजनीतिक दल एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए। एमालेले ५१ वटै वडा, कांग्रेसले ४३ वडा र माओवादी केन्द्रले ३४ वडामा आफ्नो उम्मेदवार उठाएका थिए।
त्यस्तै, एकीकृत समाजवादी पार्टीले २४ वडा, राप्रपाले ४६ वडा र जनता समाजवादी पार्टीले १३ वडामा आफ्नो उम्मेदवार उठाएको थियो। तीमध्ये कांग्रेस २२ वडामा विजयी हुँदा माओवादी केन्द्र १० वडामा विजयी भएको थियो भने एमालेले आठ वटा वडामा विजय हासिल गरेको थियो।
त्यस्तै, राप्रपाबाट चार, स्वतन्त्रबाट तीन, जनता समाजवादीबाट एक र एकीकृत समाजवादीबाट तीन जना उम्मेदवार वडामा विजयी भएका छन्। जितेका र हारेका सबै वडा अध्यक्षले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा कांग्रेस २९ हजार ९६५ मत प्राप्त गरी पहिलो स्थानमा छ। एमालेले २५ हजार ९३८ मत पाउँदा माओवादीले १४ हजार ३८० मत पाएको थियो।
त्यस्तै, राप्रपाले ५ हजार २८७ मत र नेकपा एकीकृत समाजवादीले ३ हजार ४५६ मत पाएका छन्। स्वतन्त्रलगायत अन्य साना दलले ४ हजार ९सय ४४ मत पाएका छन्। स्वतन्त्रबाट विजयी भएका तीन वटै वडामा कांग्रेसकै बागी उम्मेदवार रहेकाले स्वतन्त्र उम्मेदवारले पाएको आधाजसो मत नेपाली कांग्रेसकै मत हुन सक्छ।
सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा ४७ हजार ८०१ हुन आउँछ। त्यस्तै, एमाले र राप्रपाका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार २२५ मत हुन आउँछ।
उम्मेदवारी दिएका सबै व्यक्ति र दलले आफूले नै विजय हासिल गर्ने बताइरहँदा गठबन्धनबाट कांग्रेस र राप्रपासँग तालमेलमा रहेको एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
नेपाल समाजवादी पार्टीको पनि सत्ता गठबन्धनलाई नै साथ रहेकाले तत्कालीन जसपा र हाल नेसपाले पाएको भोट १ हजार ६० समेत जोड्दा जिल्लामा सत्ता गठबन्धनका उम्मेदवार अधिकारी १७ हजार ६३६ मतले अगाडि देखिएका छन्। सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई यही अग्रताको मतान्तर विजयी हुने आधार हुन सक्छ भने राप्रपा–एमाले गठबन्धनका उम्मेदवार लोहनीलाई यही मतान्तर हारको बाटो हुन सक्छ।
कांग्रेस उम्मेदवार अधिकारी आफ्नो इमानदारी, त्याग र जनताप्रतिको उत्तरदायी बन्ने प्रवृत्तिले थप सहानुभूतिको भोट प्राप्त गरेर विजयी हुने दाबी गर्छन्। उनी भन्छन्, ‘गठबन्धनको आशले मात्रै मैले उम्मेदवारी दिएको होइन, मेरो सक्रियता, इमानदारी र जनताप्रतिको मेरो सेवाभावले आफ्नै व्यक्तिगत भोट आउनेमा विश्वस्त छु। मेरो जित निश्चित छ।’
स्थानीय तह निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने र गठबन्धन दलमा भएको केही असहमतिका भोट ल्याएर चुनाव जित्ने रणनीतिमा एमाले छ। एमाले उम्मेदवार लोहनी भन्छन्, ‘मेरो चुनाव जित्ने आधार भनेकै विगतमा मैले गरेको काम हो।’ दुवै प्रतिस्पर्धीले पार्टीभित्रको असन्तुष्टि समाधान गर्न सके प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ।