काठमाडौं- कार्यालय परिसरमा महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयासमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत धादिङले मंगलबार उनलाई थुनामा पठाउन आदेश दिएको हो।
जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो। अदालतको फैसलापछि उनलाई मंगलबार नै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।
पीडित महिलाले खानिखोलामा कार्यरत ढुंगानाले १० असोजको राति आफूलाई जबर्जस्ती करणीको प्रयास गरेको उजुरी दिएकी थिइन्। लिखित उजुरी परेपछि १६ असोजमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा छिरी ती महिलामाथि ढुंगानाले जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको थियो।
केही समयअघि उनीमाथि मदिरा सेवन गरेर हवलदारलाई कुटपिट गरेको समेत आरोप लागेको थियो।