काठमाडौं- आर्टुडियोले समावेशीकरण र समानता विषय केन्द्रित भित्ते कला उत्सव आयोजना गर्ने भएको छ।
आर्टुडियोले अमेरिकन एम्बेसीसँगको सहकार्यमा गर्ने भित्ते चित्रकला उत्सवमा समावेश हुन नेपाली कलाकारलाई खुल्ला आह्वान गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
भित्ते कला परियोजना २०२२ नाम दिइएको कार्यक्रमका लागि १८ देखि ४० वर्ष बीचका कलाकार, म्युरलिस्ट, सडक/ग्राफिटी कलाकार, लोक परम्परागत कलाकार तथा आदिवासी सृजनात्मक अभ्यासकर्ताले आवेदन दिन पाउने गरी आह्वान गरिएको हो।
यही नोभेम्बर १३ सम्मको डेटलाइन तोकिएको आह्वानपछि दुई चरणमा छनोट भएका कलाकारलाई क्युरेटोरिअल मध्यस्थतामा विभिन्न कलात्मक गतिविधिसहित जनकपुर र काठमाडौंमा भित्ते चित्र सिर्जनामा सहभागी गरिने छ।
आह्वान मार्फत सहभागी हुने सम्पूर्ण कलाकारका अवधारणा चित्रमध्ये १० विशिष्ट कला अवधारणा छनोट गरिने छन्।
सामाजिक विविधता र पहिचानसहित ऐतिहासिक विरासत बोकेको कला भएकोले भित्ते चित्रकलालाई समसामयिक सन्दर्भमा प्रवर्द्धन गर्न र उत्प्रेरित गर्न यो परियोजनाको परिकल्पना गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।
सामाजिक परिवर्तनका लागि प्रेरित गर्न तथा समावेशीकरण र समानताका प्रमुख मुद्दाहरूमा महत्त्वपूर्ण सार्वजनिक संवाद स्थापना गर्न भित्ते चित्रकलाको प्रयोग गर्न लागिएको आयोजकको भनाइ छ।
सांस्कृतिक आदानप्रदान, अनुसन्धान, कार्यशाला, सार्वजनिक प्रवचन र प्रकाशनको संयोजन गरेर सहरका भित्ताहरूलाई जीवन्त बनाइने समेत विज्ञप्तिमा उल्लेख छ।
आर्टुडियोका संस्थापक तथा कलाकार श्रेष्ठका अनुसार, नेपाली स्थानीय कलाकार र संयुक्त राज्य अमेरिकाका प्रतिष्ठित भित्ते चित्रकारहरूबीच सहकार्य गरिने यो कार्यक्रमले सार्वजनिक थलोको सम्मान, कलाकारहरूबीच सहकार्य, आत्मनिरीक्षण प्रवर्द्धन र आम समुदायलाई सकारात्मकतातर्फ उन्मुख हुन प्रेरित गर्नेछ।
सहरका सार्वजनिक खाली भित्ताहरूमा सिर्जना गर्ने र उजाड भित्ताहरूको मुहार पनि फेर्ने गर्ने गरी कार्यक्रमको परिकल्पना गरिएको आर्टुडियोका संस्थापक, कलाकार तथा परियोजना क्युरेटर कैलाश के श्रेष्ठले बताए।