आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

यस्तो छ बागलुङ-२ को चुनावी अंकगणित

चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ। बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन्।
 |  बुधबार, कात्तिक १६, २०७९
nespernesper

रासस

रासस

बुधबार, कात्तिक १६, २०७९

बागलुङ- जित हारका शृंखलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब १८ दिन मात्र बाँकी छ। चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन्। 

triton college

चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ। बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन्। हिजो दुई ध्रुवमा बाँडिएका आज एकैठाउँ उभिएका छन्। यो स्थितिमा चुनावी गणितमा पनि फेरबदल आएको छ। वाम शक्ति अलग्गिएका छन्। 

कांग्रेसलगायतका दललाई गठबन्धनको आड छ। विसं २०७४ को चुनावमा बेहोरेको नमिठो हारलाई गत वैशाखको स्थानीय चुनावबाट पूर्ति गरेको कांग्रेस गठबन्धनका बलमा अहिले पनि जित निकाल्न चाहन्छ। यसअघिको संघ र प्रदेश चुनावमा एक्लै वाम गठबन्धनको सामना गरेको कांग्रेसले यहाँका सबै 'सिट' गुमाएको थियो। यसपालिको चुनावमा संघ गठबन्धनका अरु दललाई छाडेर कांग्रेस प्रदेशका चारै 'सिट' मा प्रतिस्पर्धा गर्दैछ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्दा विसं २०७४ मा कांग्रेस किनारामा परेको थियो। अहिले कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी गठबन्धनमा छन्। विसं २०७४ मा कांग्रेसझैँ अहिले नेकपा (एमाले) एक्लै चुनावी मैदानमा छ। छ वटा स्थानीय तह भएको बागलुङ–२ मा गत वैशाखमा भएको स्थानीय चुनावमा सत्ता गठबन्धनले एउटा पालिका प्रमुखबाहेक सबैमा जित हासिल गरेको थियो। राष्ट्रिय जनमोर्चाको विद्रोही समूहलाई साथ लिएर चुनाव लडेका एमालेका देवकुमार नेपाली ढोरपाटन नगरपालिकाको प्रमुखमा विजयी बनेका थिए।

त्यस क्षेत्रका कूल ४८ वडामध्ये ढोरपाटनका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो। त्यसबाहेक ढोरपाटन–४ मा जनमोर्चाको विद्रोही समूहका तिलक पुन र अरु सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए। निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकामा एमालेले एउटै वडा पनि जित्न सकेको थिएन। वडाध्यक्षका उम्मेदवारको कूल मतभार जोड्दा सत्ता गठबन्धनका उम्मेदवारले एमालेकाले भन्दा १५ हजार पाँच सय १९ मत बढी ल्याएका थिए। सत्ता गठबन्धन दलले वडाध्यक्षमा ३४ हजार पाँच सय ६८ मत पाउँदा एमालेले जम्मा १९ हजार ४९ मत पाएको थियो।

Metro Mart
vianet

गत स्थानीय तह चुनावको मत परिणाम हेर्दा बागलुङ–२ मा सत्ता गठबन्धन एमालेका लागि चुनौती बन्ने देखिन्छ। एमाले पनि गठबन्धनलाई पछि पारेर चुनाव जित्ने दाउमा छ। गठबन्धनका साझा उम्मेवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका विरुद्ध एमालेका मञ्जु शर्मा चालिसे चुनावी मैदानमा छिन्। गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसले उम्मेदवार नबनाएपछि स्वतन्त्ररूपमा गलकोट नगरपालिकाको प्रमुखमा चुनाव लडेकी चालिसेपछि एमाले प्रवेश गरेकी थिइन्। स्थानीय तह चुनावमा उनले तीन हजार दुई सय ६३ मत ल्याएकी थिइन्। कांग्रेस त्यागेर आउनासाथ एमालेबाट उम्मेदवार बनेकी उनी अन्य दलभित्रका असन्तुष्ट मत बटुलेर जित्ने आशमा छिन्।

गठबन्धन दल भने आफ्नो भएको जनमत जोगाउन सके चुनाव जितिने ठान्छन्। माओवादी केन्द्रका सचिवसमेत रहेका शिक्षामन्त्री पौडेलका लागि पनि पुनः सोही क्षेत्रका मतदाताबाट अनुमोदन हुनुपर्ने चुनौती छ। विसं २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट उनी विजयी भएका थिए। पौडेलले २८ हजार आठ सय २७ मत ल्याउँदा उनीसँग पराजित कांग्रेसका नीरज पुनले १९ हजार नौ सय पाँच मत पाएका थिए। उक्त चुनावमा एमाले बागलुङ–१ र १ को (१), माओवादी केन्द्र बागलुङ–२ र २ को (२), राष्ट्रिय जनमोर्चा १ को (२) र २ को (१) मा विजयी बनेको थियो। कूल ९५ हजार पाँच सय ६१ मतदाता रहेको बागलुङ–२ (१) र (२) मा अहिले भने सत्ता गठबन्धन र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धी छन्। 

गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा समेटिएको प्रदेश (१) मा गठबन्धनबाट कांग्रेसका जीत शेरचन चुनावी मैदानमा छन्। एमालेले आफ्नै उम्मेदवार नउठाए पनि स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई सघाउने भएको छ। घर्ती पनि गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्ररूपमा लडेका थिए। माओवादी केन्द्रले टिकट नदिएपछि बिच्किनुभएका घर्ती अहिले एमालेको समर्थन लिएर चुनावमा होमिएका छन्। विसं २०७४ को स्थानीय तह चुनावमा उनी माओवादी केन्द्रबाटै ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। घर्तीका प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति शेरचन यसअघि दुई पटकसम्म प्रदेशसभा सदस्यमा पराजित भएका थिए। 

विसं २०७४ र विसं २०७६ मा भएको उपचुनावमा बागलुङ–२ (२) बाट उम्मेदवार बनेर हारेका शेरचनले यो चुनावमा (१) क्षेत्रलाई रोजेका हुन्। कांग्रेस र माओवादीको जनमत बढी रहेको यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता छन्। विसं २०७४ को चुनावमा यस क्षेत्रबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बनेका थिए। वाम गठबन्धनबाट चुनाव लडेकाका बुढाले १७ हजार चार सय १५ मत ल्याई कांग्रेसका मञ्जेशबम मल्ललाई पराजित गरेका थिए। मल्लले जम्मा ११ हजार पाँच सय ४६ मत ल्याएका थिए। त्यतिबेला वाम दल एकठाउँ भएर कांग्रेस विरुद्ध चुनावमा होमिएका थिए। बागलुङ–२ (२) मा गठबन्धनबाट कांग्रेसका द्रोर्ण कुँवर चुनावी प्रतिस्पर्धामा छन्। त्यस क्षेत्रमा एमालेबाट लक्ष्मण पुन उम्मेदवार छन्।

ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका समेटेको सो क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता छन्। यसअघिको प्रदेशसभा उपचुनावमा सो क्षेत्रमा जनमोर्चाका खिमविक्रम शाहीले ११ हजार दुई सय ३५ मत ल्याएर चुनाव जितेका थिए। कांग्रेसका शेरचनले नौ हजार एक सय ३८ मत ल्याएका थिए। अहिले भने कांग्रेसका उम्मेदवारलाई केही सहज हुने देखिन्छ। त्यहाँका २२ वडामध्ये गत स्थानीय चुनावमा एमालेले पाँच मात्रै जितेको थियो। सत्ता गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको मतभार एमालेका उम्मेदवारको भन्दा बढी छ। विगतको समीकरण र मतभार जेजस्तो भए पनि आउँदो चुनावको परिणामबारे कोही पनि ढुक्क हुने स्थिति छैन। जितको दाबीसहित दल र उम्मेदवार मतदाता रिझाउन तल्लिन छन्।

मन्त्रीदेखि र पार्टीका शीर्ष नेतासम्म चुनावी मैदानमा भएकाले यहाँको चुनावलाई पनि चासोपूर्वक हेरिएको छ। बागलुङ–१ मा सत्ता गठबन्धनका तर्फबाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। बागलुङ–१ (१) मा गठबन्धनबाट कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर केसी र ९२० मा कांग्रेसका डिल्लीराम सुुवेदी र एमालेका नवराज पौडेल चुनावी मैदानमा छन्।

प्रकाशित: Nov 02, 2022| 11:57 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...