काठमाडौं– सुन्दरी प्रतियोगिताका नाममा किशोरी बलात्कार गरेको आरोपमा थुनामा रहेका मनोजकुमार पाण्डेविरुद्धको मुद्दामा आज मंगलबार सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौंमा केशवप्रसाद अधिकारीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो।
सृजनशील संस्था नेपालको आयोजना र सोइया स्वाबलम्बी संस्थाको समन्वयमा भएको मिस ग्लोबल इन्टरनेसनल २०१४ की फस्ट रनरअप सुस्मिता रेग्मीले सामाजिक सञ्जालमार्फत ८ वर्षअघि आफू १६ वर्षको उमेरमा हुँदा पाण्डेले पटकपटक बलात्कार गरेको आरोप लगाएकी थिइन्।
पाण्डेले आफूले मात्रै यौन शोषण गरेको नभई अन्य व्यक्तिसँग समेत जबरजस्ती सम्बन्ध राख्न लगाएको आरोप उनले लगाएकी थिइन्। उक्त आरोपपछि प्रहरीले गत जेठ ७ मा अभियुक्त पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको थियो।
पाण्डेविरुद्ध १५ वर्ष कैद सजायको माग दाबी गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उक्त मुद्दा अघि बढाएको थियो।
उनीविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखन तथा ओसारप्रसार उद्योगमा प्रहरीले अनुसन्धान गरेको थियो। बलात्कार मुद्दामा हदम्याद तगारो बन्ने देखिएपछि उनीविरुद्ध प्रहरीले मानव बेचबिखन र ओसारपसार कसुरअन्तर्गत अनुसन्धान गरेको थियो।