काठमाडौं- सामाजिक क्षेत्रमा गरेको उल्लेखनिय सेवाको कदर स्वरुप विश्वभर ५४ देशमा रहेको राउण्ड टेबलहरुमध्येबाट राउण्ड टेबल नेपाललाई बेस्ट एसोसियसन अवार्ड २०१७–०१८ बाट सम्मानित गरेको छ।
हालै श्रीलंकामा आयोजित राउण्ड टेबलको वार्षिक अधिवेशनको एक विशेष समारोहमा उक्त सम्मान राउण्ड टेबल नेपालका निवर्तमान अध्यक्ष जयन्त कुमार अग्रवाल र राउण्ड टेबल नेपालका वर्तमान अध्यक्ष रवि खेतानका साथै राउण्ड टेबल नेपालका पदाधिकारीहरुले ग्रहण गरेका थिए।
यो सम्मान नेपालको लागि नै गौरवपूर्ण पल रहेको र यसबाट अझ बढी सामुदायिक उत्तरदायित्व निभाउँदै समाजको सेवामा लाग्न उत्पे्ररित गरेको जयन्त कुमार अग्रवालको भनाई छ ।
गतवर्ष राउण्ड टेबल नेपालले विपन्न वर्गका विद्यार्थीहरुको शिक्षाको लागि नेपालको विभिन्न भागमा ३२ भन्दा बढी कक्षा कोठाहरुको निर्माण गरेको थियो साथै रक्तदान नै जिवनदान भन्ने नारालाई हृदयगमन गरी रक्तदान कार्यक्रम सञ्चालन गरी एकै दिनमा ८५३ पिन्ट रगत सम्बन्धित निकायमा दिएको थियो।
अझ बढी युवाहरुलाई यस महानकार्यमा संलग्न गर्न थप दुई शहरहरुमा यसका क्लवहरुको स्थापना गरेको छ। यससँगै विभिन्न दुर्गम क्षेत्रहरुमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा राउण्ड टेबल नेपालको कार्यहरु केन्द्रित रही विभिन्न पाठ्यपुस्तकहरु वितरण तथा हेल्थ क्याम्पहरु सञ्चालन गर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४