काठमाडौं- चितवनमा निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका ३२ थान हतियार स्थानीय प्रशासनमा बुझाइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ५ गतेसम्म हतियार बुझाउनका लागि गरेको आह्वानका क्रममा सो सङ्ख्यामा हतियार बुझाइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय भण्डारामा ती हतियार बुझाइएको हो। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन इजाजतप्राप्त हतियार बुझाउन गरिएको अनुरोधका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा २१ थान, वडा प्रहरी कार्यालयमा सात थान र इलाका प्रहरी कार्यालय भण्डारामा चार थान बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार बुझाइएका हतियारमध्ये १२ बोरको १४ थान, १३ बोरको एक थान, पइन्ट टुटु राइफल १० थान, एकनाले बन्दुक एक थान, दुईनाले बन्दुक एक थान र अन्य हतियार रहेका छन्।
इजाजतप्राप्त हतियार बुझाउन आनाकानी गरेको पाइएमा हतियार नियन्त्रणमा लिइने प्रशासनको चेतावनी छ। नबुझाएका हतियार नियन्त्रणमा लिएर कानुनी प्रक्रिया सुरु गरिने उनले जानकारी दिए।