नवलपरासी- स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिकस्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ। स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ।
जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ। त्यतिमात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत बौदीकाली गाउँपालिका–६ लहापेमा पर्ने गुरुङ घरबासले अझै पनि घरबासको मर्मलाई कायम राख्दै आएको हो। पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने यस घरबासमा पुग्ने पाहुनाको रोजाइमा कोदोको ढिडो, सिस्नोको तरकारी र तामाको अचार पर्ने गरेको छ।
घरबासमा आएका पाहुनाको रोजाइमा परेका ती परिकारको स्वाद चखाइरहेका छन् गुरुङ घरबासका सञ्चालक। ‘यहाँ आउने पाहुनाले यहाँको स्थानीय खान के पाइन्छ भन्ने गर्नुहुन्छ, हामीकहाँ कोदोको ढिँडो र सिस्नोको तरकारी मुख्य हो भन्दा उहाँहरू खुसी हुँदै त्यही माग्नुहुन्छ’, घरबास सञ्चालक पवित्रा गुरुङले भनिन्। कतिपयका लागि सिस्नोको तरकारी खाएको अनुभवसमेत नहुने हुँदा त्यसको माग गर्ने उनले बताइन्। यससँगै स्थानीयरूपमा उत्पादन गरिएका खाद्यान्न तथा तरकारी, स्थानीय जातका कुखुराका परिकार घरबासमा बस्ने पाहुनालाई प्रदान गर्ने गरिएको उनले जानकारी दिइन्।