सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पीडित किशोरी र सन्दीपले यस्तो दिए प्रहरीमा बयान [पूर्णपाठसहित]

पीडित किशोरी र सन्दीपले यस्तो दिए प्रहरीमा बयान [पूर्णपाठसहित]

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं- नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। अदालतमा प्रहरीले दायर गरेको अभियोजनपत्रमा सन्दीप र पीडित किशोरी दुवैको बयान समावेश गरिएको छ। 

National life

किशोरीले आफूलाई करबल गरेर सन्दीपले भेट्न बोलाएको, अनुमतिबिनै जबर्जस्ती नगरकोट पुर्याएको, नगरकोटमै बस्न कर गरेको तर आफूले नमानेको र राति काठमाडौं फर्किएको बयान दिएकी छन्। आफ्नो मोबाइल पनि नियन्त्रणमा लिई सन्दीपले गौशालास्थित होटल काठमाडौं इनमा पुर्याएको र सोही राति दुईपटक जबर्जस्ती करणी गरेको बयान किशोरीको छ।

सन्दीपले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्। उनले आफू पीडित भनिएकी किशोरीले कर गरेपछि आफू उनको चित्त नदुखोस् भनेर नगरकोट जान सहमत भएको बयान दिएका छन्।

सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सोमबार काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्।

प्रहरीले एक हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख छ।

पीडित किशोरीको बयान 

सन् २०२२ को मार्चदेखि अप्रिलसम्म नेपालमा आयोजना भएको मलेशिया, नेपाल र पपुआ न्यु गिनीबीच भएको  ट्राई नेशन सिरिज प्रतियोगिताका दौरान नेपाली राष्ट्रिय टोलीको खेलाडी देव खनालले ७२ रन स्कोर गरेपछि मैले देव खनाललाई खेलकुद समर्थकको हिसाबले चासोका साथ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ । त्यसपछि निज देव खनालले फेसबुकमा फ्रेन्ड रिक्वस्ट एसेप्ट गरेपश्चात निजले स्न्याप च्याट भन्ने सामाजिक संजाल एप (एप्लिकेशन) मा फ्रेन्ड रिक्वेस्ट पठाएको र सो पश्चात मैले एसेप्ट गरेकी थिंए ।  त्यसपश्चात निज देव खनाल र निज म बीचमा स्न्याप च्याट एप्स मार्फत छोटो भिडियो सन्देश (स्न्याप) र फोटो आदान प्रदान हुने गरेको थियो ।

यो सिलसिला करिब तीन (३) महिनासम्म चलिरहेको थियो । सोही क्रममा नेपाली राष्ट्रिय टोली केन्यामा हुन लागेको दुई पक्षिय क्रिकेट श्रृंखलाको तयारी स्वरुप कालिमाटी स्थित हायात प्लेसमा  क्लोज क्याम्प चलिरहेको अवस्थामा प्रकरण नं. ३ मा उल्लेखित सन्दिप लामिछानेले मलाई देव खनाल र निज सन्दिप लामिछाने एकै कोठामा बसेका थिए । सोही क्रममा देव खनालले आफु र निज सन्दिप लामिछाने सँगै भएको फोटोमा निज सन्दिप लामिछाने रहेको तस्बिर निज सन्दिप लामिछाने समेतको युजर नेम राखी मलाई पठाएका रहेछन । देव खनालले पहिलो पटक सो तस्बिर (स्न्याप) पठाउँदा मैले निज सन्दिप लामिछानेलाई वास्ता गरेकी थिईन ।

त्यसको करिब दुई (२) दिन पछि  देव खनालले आफु र सन्दिप लामिछाने सँगै भएको फोटो पुनःपठाएका रहेछन । त्यसपछि  १६ अगस्टमा आसपासमा मैले निज सन्दिप लामिछानेलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिंए । निज सन्दिप लामिछानेले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको करिब आधा घन्टा भित्र फ्रेन्ड रिक्वेस्ट स्विकार (Accept) गरिसकेका 

रहेछन । तत्पपश्चात मैले अरु साथीहरुलाई जसरी नै उनलाई पनि छोटो भिडियो पठाईरहेकी थिंए । त्यसपछि म र निज सन्दिप लामिछाने बीचमा सोही स्न्याप च्याट भन्ने एप्स मार्फत हाम्रो पारिवरिक पृष्ठभूमी (बुवा आमा सँगै नरहनु भएको, पढ्नका लागि म आफै संघर्ष गरिरहेको, म आफु होस्टलमा बस्ने गरेको आदी) सामान्य कुराकानी भएको, त्यसपछि निज सन्दिप लामिछाने र म बीचमा सामान्य कुराकानी हुँदै जाँदा निजले मलाई भेट्नका लागि प्रस्ताव गरको र सो लगत्तै मैले आफुले भ्याउँदिन भनेपछि निज सन्दिपले निकै जोडबल गरी आफु अर्को दिन (२०७९ साल भदौ ६ गते)को बेलुका ०८:०० बजे केन्याको लागी फ्लाइट भएको र त्यसपछि  केन्याबाट नेपाल नफर्किइकन क्यारेबियन प्रिमियर लिग खेल्नका लागि  क्यारेबियन आईल्यान्ड तर्फ जाने र सो को दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौँ भनी निकै जोडबल गरी रहेका थिए ।

सोही कुराकानीका क्रममा निजले आफ्नो mental refreshment  पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकामा मैले  निजलाई हेरौँ के हुन्छ भनेकोमा निज प्रतिवादीले सो भन्दा पनि I will catch you latter भनेर सो बखतका लागि कुराकानी टुङ्गाएका थिए । त्यसपछि बिहान करिब ११ बजेतिर म कलेज गएकी र कलेजमै रहेको अवस्थामा करिब १४:१५ बजे निज प्रतिवादीले फोन नं. ९८‍‍‍******५१ बाट मलाई फोन गरेका रहेछन । म क्लासमा पढिरहेकीले सो फोन उठाउन नपाएकी र करिब १५:५७ बजे मैले सोही नम्बरमा कल ब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाई “ को बोलेको हो ” भनी सोधेकोले मैले नचिनेको मान्छेको नम्बर रहेछ भन्ने ठानी कुनै जवाफ नदिईकन फोन राखि दिएको थिए । पछि मलाई निज प्रतिवादीले सोही नम्बर ९८******५१ बाट १६:१८ बजे पुनः फोन गरी अहिले आफु बैठकका लागि सातदोबाटो गईरहेको र पछि फोन गर्ने बताएकोमा  त्यसपछि म होस्टलमा गएँ, १८:२५ बजे निज प्रतिवादीले   ९८‍‍‍******२५ नम्बरबाट मलाई फोन गरेर आफू कालिमाटीबाट निस्कदै गरेको र मलाई संसद भवन अगाडी आउँदै गर भनी बोलाएका थिए ।

त्यसपछि निज प्रतिवादीलाई मैले आफु संसद भवनतर्फ नआउने, बरु तपाई नै ग्लोबल कलेज अफ म्यानेजमेन्ट तर्फ आउनु भनेकोमा निज प्रतिवादीले आफुलाई ग्लोबल कलेजको लोकेशन थाहा नभएकोले मैले पुरानो बानेश्वर चोक जाने बाटोतर्फ पर्छ भनी ठेगाना बताई दिएकोमा त्यसपछि १८:५३ मा मैले  निज प्रतिवादीलाई १८:५३ बजे फोन गर्दा निजले आफू अन्तराष्ट्रिय सम्मेलन केन्द्रबाट पुरानो बानेश्वर तर्फ मोडिएको बताएका थिए । निज प्रतिवादीले १८:५८ बजे मलाई फोन गरेर आफू लिटिल काठमाण्डौँ भन्ने रेष्टुरेन्ट अगाडी रहेको र पुनः १९:०० बजे फोन गरेर बर्गर हाउस जस्तो रेष्टुरेन्ट छ त्यही आउ भनेकोले उक्त स्थानमा जाँदा निजले रोकि राखेको सेतो रङको अल्फाबेट थाहा नभएको ०२६ च ४४४४ नम्बरको निशान X trail गाडी फेला परेको र उक्त गाडीभित्र निज सन्दिप लामिछाने रहेकोमा निजले मलाई आउ बस भनेपछि म उक्त गाडीको अगाडीको सिटमा बसे पश्चात निज प्रतिवादीले nice to meet you भनेर साईडबाट अंगालोमा राखी त्यसपछि निज प्रतिवादीले  केही पनि नभनीकन गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर निजलाई सोध्दा निज प्रतिवादीले Let’s see भनेर सिनामंगलतर्फ मोडिएर भित्रीबाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगी ।

त्यसपछि निजलाई मैले हामी कता जान लागेको हो र भनेर सोध्दा मेरो मञ्जुरीबिना भित्रीबाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भईसकेपछि  करिब २०:२० बजे मा पुर्‍याएको र सोपश्चात निज प्रतिवादीले मलाई डिंक खाने प्रस्ताव गरेको र मैले कहिल्यै ड्रिंक नखाएकीले ईन्कार गरें । निजले पुनःप्रस्ताव गर्दा पनि मैले पुनः ईन्कार गरें । त्यसपछि निजले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भि.आई.पी रुम बुक गर्ने सम्बन्धमा पटक पटक कुराकानी गरेका र मलाई के गर्ने फर्कने कि यहिँ बस्ने भनेर सोधेकोमा  मैले  अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताएकोमा अन्दाजी २२:४५ बजे निज प्रतिवादीले बिल तिर्न जाने क्रममा निजको गाडीको विद्युत्तिय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसें ।

सो पश्चात निज प्रतिवादीले मलाई नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाण्डौँ फर्कदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले निज प्रतिवादीले का.जि.का.म.न.पा वडा नं. ९ पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा गर्दा मैले  दुईवटा कोठा बुक गर्न भनेकोमा निज प्रतिवादीले आफ्नो मोबाइलबाट कल डायल गरेर “अनिश भाइ, त्यही रुम बुक गरिदिनु ” भनी सो होटलका अनिश नामका एक सहयोगीलाई फोन गरेको र मलाई  होटलमा एउटा मात्र रुम छ भने । त्यसपछि मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा निजले मेरो  मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए । निज प्रतिवादीले होटल नजिक पुग्दा मलाई मास्क छ की छैन भनेर सोधेकोमा मैले आफुसँग मास्क छैन भनेपछि निज प्रतिवादीले मलाई जसरी पनि मास्क लगाउन भनी आफुले लगाएको मास्क खोलेर लगाउन दिइ होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनी मलाई गाडीबाट ओरालेर आफु गाडी पार्क गर्न गई ।

सो पश्चात होटलको गेटमा रहेका अनिश भन्ने सहयोगीले मलाई गेटमा चाबी दिई लिफ्ट खोली माथि ४०७  नं. कोठामा जानु भनेकोले म सरासर कोठा नं. ४०७ मा गएर हातमुख धोईरहेको अवस्थामा निज प्रतिवादी कोठाभित्र आई ए.सी. चलाउन खोज्दा नचलेकाले उक्त कोठाबाट अन्दाजी २३:५५ बजे कोठा नं. ३०५ मा सरेकोमा उक्त दिन म निकै थाकेकीले कुर्चीमा नै अर्धनिन्द्रामा परेको र निज प्रतिवादीले मलाई बेडमा गएर आराम गर भनेपश्चात म बेडमा गइ आराम गर्दै गर्दा प्रतिवादीले मलाई लुगा फुकालेरै सुत भनेकोमा म लुगा नफुकालिकन पल्टेको थिए एकैछिनमा म निदाएछु । 

त्यसको अन्दाजी २० देखि २५ मिनेट पछि २०७९।०५।०६ गते अन्दाजी ००:२५ बजे तिर म ब्युझिदा निज प्रतिवादी मसँग सुत्न आई जबरजस्ती मैले लगाएको पाईन्ट खोली आफ्नो पाईन्ट समेत खोली मैले नमान्दा नमान्दै मेरो ईच्छा बिपरित जबरजस्ती करणी गरेर मेरो शरीरमा बिर्य झारी आफु बाथरुम तर्फ गई पुन बेडमा आई सुतेकोमा त्यसको करिब एक घण्टा पछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने त्यसपछि मलाई  डर लागी रुँदै गर्दा मलाई चल्न नदिई पुनः दोश्रो पटक जबरजस्ती करणी गरी बिहानपख निज प्रतिवादीले मलाई आफ्नो ०७:०० बजे हायात प्लेसमा पी.सी.आर परीक्षण रहेकोले आफु जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दाँ मैले नमानेपछि निज प्रतिवादीले मलाई गाडीमा राखी मेरो होस्टल नजिकै लगेर छोडी गाडी लिई फरार भएका हुन ।

यसरी मलाई प्रतिवादीले फकाई फुल्याई तीलगंगा स्थित होटल काठमाण्डौँ ईनमा लगी जोरजुलुम गरी डर त्रासमा पारी मेरो ईच्छा बिपरित २ पटक जबरजस्ती करणी गरेको हुदाँ निज प्रतिवादी उपर कानून बमोजिम कारबाही र सजाय गरी क्षतिपुर्ती समेत दिलाई भराई पाउँ, व्यहोरा ठिक छ फरक छैन भन्ने व्यहोराको परिवर्तित नाम गौशाला २६ (छ) (१) ०७९/०८० ले गरिदिएको घटना विवरण कागज  । 

सन्दीपको बयान 

मैले बिगत ७ वर्ष देखी पेशागत रुपमा क्रिकेट खेल्दै आएको छु । सन् २०१६ देखी निरन्तर रुपमा नेपालको लागी अन्तराष्ट्रिय खेल खेल्दै आएको छु । सन् २०२१ डिसेम्बर देखी नेपाल क्रिकेट संघको आग्रहमा नेपाल क्रिकेट टिमको क्याप्टेनको रुपमा मलाई जिम्मेवारी दिई  टिमको नेतृत्व गर्दै आएको छु । त्यस्तैमा निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) र हाम्रो क्रिकेट टिमका खेलाडी देव खनालबिच एक आपसमा चिनजान रहेछ । देव खनालले मसँग फोटो खिचेका थिए । सो फोटो निजले पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई स्न्याप च्याटमा पठाएका रहेछन । त्यसपछि निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले मलाई स्न्याप च्याटमा friend request  पठाईएकी  थिईन ।

मलाई मिति र समय याद भएन, पछि देव खनाल र परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) साथी रहेको कुरा पनि थाहा पाएपछि friend request  accept  गरेको थिए ।  निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले मलाई समय समयमा स्न्याप च्याट मार्फत केहि भिडियो र फोटो पठाउने गरेको र मैले त्यस्को बदला सामान्य उत्तर दिने गरेको थिएँ । सोहि क्रममा सामान्य कुराकानी हुँदै गर्दा निजले मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईको Fan  हुँ, तपाईसँग एकदमै धेरै भेट्ने ईच्छा छ भनेकी थिईन ।

मैले निजलाई जवाफमा अहिले मसँग भेट्ने time छैन, म करिब २ महिना पछी खेल सक्काएर फर्किन्छु त्यतिबेला भेटौंला नि भन्दा निजले मलाई बारम्बार स्न्याप च्याट मार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनिय स्थितीमा रहेकोले मलाई तपाईबाट केहि help  चाहिएको हुँदा तपाईलाई भेटी केहि व्यक्तिगत कुराहरु share  गर्न मन छ भनेकोमा मैले के भयो how can I help you ? भनी म्यासेज गर्दा होईन म भेटेर मात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले निजलाई ठिकै छ, मलाई अहिले त फुर्सद छैन, फुर्सद  मिल्यो भने भेटौला नि भनेको थिएँ । मिति २०७९।०५।०५ गते साँझ करिब १६:००/१६:१५ बजेको समयमा निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई मैले फोन गरेको थिएँ ।

कुराकानीकै बिचमा निजले फेरी पटक पटक भेट्ने प्रस्ताव गरेकी थिइन् । मेरो केहि मिटिङ पनि थियो र म व्यस्त पनि भएकोले मैले निजलाई म आज अली व्यस्त छु, मेरो केहि मिटिङहरु पनि छन् । आज तिमीलाई भेट्न सम्भव छैन भन्दा निजले ठिक छ तपाई काम भ्याएर आउनु, म होस्टेलमै पर्खी बस्छु भनेकी थिइन् । मेरो साँझ मिटिङ सक्कियो र मैले बेलुका करिब १९:०० बजे तिर होस्टेल पुग्नुअघि होस्टेलको लोकेशन माग्नको लागी  निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई फोन गरी तिमी कहाँ हो ? म तिम्रो होस्टेलको बाटो हुँदै आउँदैछु भनेको थिएँ । निजले तपाई होस्टेल तिर नआउनुस् होस्टेल नजिकै little Kathmandu restaurant  छ ।

तपाई त्यहि कुरेर बस्नुस, म त्यहि आउँछु भनेकोले म little Kathmandu restaurant नजिकै सडकमा मेरो ०२६ च ४४४४ नम्बरको गाडीमा कुरी बसेको थिएँ । त्यस्को करिब २/३ मिनेट पछि  निज  पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडीको सिटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाई Hello/ Hi  गरी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले आफूलाई बोलाएकोले  what’s your plan ? भनी सोधेकोमा निजले मलाई  let’s go to nagarkot भनेकोमा मैले नगरकोट जान त सम्भव  छैन, बरु दरबारमार्गतिर जाउँ अनि कफि खाउँ भन्दा हैन, मैले आज बिहानदेखी नै नगरकोट जाने mood बनाएको छु, let’s go to nagarkot भनेकोमा मैले फेरी पनि आज सम्भव छैन, भोली म game खेल्न केन्या जानुपर्ने छ र त्यस्का लागी तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होईन, मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भएपनि नगरकोट गएर आउनुपर्छ  भनी कर गरेको-गर्‍यै गरे पछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भई हामी दुबैजना नगरकोट गएका थियौं । निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केहि जानकारी थिएन । त्यहि पनि मैले निजको चित्त नदुखोस भनी गएको थिएँ ।

नगरकोट जाने क्रममा बाटोमा सामान्य कुराकानी हुँदा मैले  निज  पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को बारेमा सोध्दा निजले मलाई आफू होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफु १९ वर्षमा चलिरहेको कुरा बताएकी थिईन । बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा निजलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरी तिम्रो होस्टेल पनि बन्द हुन्छ, फेरी पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा निजले होईन, मेरो होस्टेल बन्द हुदैन, जति बेला पनि खुल्ला हुन्छ र मलाई नगरकोटबाट साँझको View  अवलोकन गर्न पनि ईच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौं । नगरकोट जाने क्रममा मैले देव खनाल र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को मित्रताको बारेमा समेत राम्रोसँग सोध्दा निजले देव खनालको खेलबाट प्रभावित भएर सन् २०२२ मार्चमा सोसल मिडियामार्फत देव खनालसँग चिनजानमा भएको कुरा बताएकी थिइन् । नगरकोट जाने क्रममा हामी बिच धेरै जसो कुरा क्रिकेट र मेरो संगितको बारेमा भएको थियो । हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौ ।

म प्राय जसो आफ्नो family र साथीहरुसँग  कहिले काँही नगरकोट घुमघाम गर्न जाने गरेको हुँदा नगरकोट स्थितमा रहेको बोजिनी रिसोर्टमा पूर्व चिनजान रहेको भएतानि हामी दुईजना बिच खाजा खाएर फिर्ता हुने कुरा भएकोले मैले रिसोर्टमा पनि जानकारी गराएको थिएन । करिब २०:३० बजे तिर हामी बोजिनी रिसोर्टमा संगित सुन्दै हासी खुसीका साथ नगरकोट गएका थियौं । उक्त रिसोर्ट पुगी सकेपछि हामी दुबै जना रिसोर्टको बाहिर बसी सामान्य कुराकानी गरी केहि समयमा खाजा अर्डर गरेका थियौ । हामी दुबै जनालाई संगित मन पर्ने र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई गित गाउन धेरै नै मनपर्ने र मलाई गित सुन्ने ईच्छा जागेकोले मैले आफ्नो गाडीमा राखेको गितार लिई आई हामी दुबैजना भई रिसोर्टको बाहिर बसी केहि गित गाउँदै रमाईलो गरेका थियौं । केहि समय पछि खाजा आयो र हामीले खाजा खायौं । खाजा खाएपछि म रेलिङमा आड लगाई काठमाडौंको view हेरी रहेको थिएँ । त्यसै बिचमा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) मेरो पछाडी आई मेरो काँधमा आफ्नो टाउको अड्याई उभिएकी थिईन ।

त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होईन, ढिला भैसक्यो, रात पर्‍यो, तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा निजले ढिला भएको छैन होस्टेल जति बेला सम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केहि छैन, यतै बसौँला भन्ने कुरा गरेपछि मैले हुदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ, फेरी हामी फर्किने गरी आएको, भोली मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझन भन्दा निजले सायद सन्दिप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैवाट गाडीको लक खोली दिएको थिए । त्यसपछि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) गाडीमा गई बसिन् भने म बिल तिर्न काउण्टरमा गए । बिल तिरी सकेपछि हामी दुबै जना करीब २३:०५ बजेको समयमा नगरकोटको बोजिनी रिसोर्टवाट हिँडेका थियौं ।

हामी बोजिनी रिसोर्टवाट फर्किने क्रममा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) केही रिसाएकी थिइन् । मैले निजको मुड ठिक गर्नका लागी गाडीमा मिठो मिठो गित लगाएँ । त्यस्को केहिछिन पछि कुराहरु सामान्य हुन थाल्यो । करिब २३:१५ बजे तिर हुनु पर्छ, मलाई  निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन, त्यसैले काठमाडौंको जडिबुटी कटेपछि मैले निजलाई होस्टेलको डिटेल सोधी पुर्‍याईदिन्छु भन्दा कहाँ हुन्छ, यति राती भई सक्यो, होस्टेल बन्द भईसक्यो, होस्टेल खुल्दैन भन्न थालिन् । निजको त्यो कुरा सुनेर म एकछिन छक्क  परें, अघि तिमीले आफ्नो होस्टेल जतिबेला पनि खुल्छ भनेकी होईनौ, अहिले होस्टेल बन्द भयो भन्छौ भनेकोमा सोहि क्रममा निजलाई एउटा फोन आएको थियो तर निजले फोन उठाईनन् र म्यासेज मार्फत आफ्नो साथीलाई HE DROPPED ME AT MY FRIEND’S PLACE AND I AM SAFE. I WILL COME TOMMOROW MORNING भनी म्यासेज लेखी पठाएपछि मैले किन यसरी झुठ बोलेको, भोली कसैले थाहा पाएँ भने तिमीलाई नराम्रो सोच्छन् भन्दा DON’T WORRY, फेरी पनि होस्टेल बाहिरबाट कोहि कसैले फोन गर्‍यो भने म होस्टेलमा छु भन्छु र होस्टेल भित्रवाट फोन आयो भने म साथीकोमा छु भन्छु, चिन्ता लिनु पर्दैन भन्ने कुरा गरिन् ।

निजले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिईन तर उक्त कुरा झुठो बोलेकी रहेछिन भन्ने कुरा मलाई आभास भयो । त्यसपछि निजले कुरा गर्दै थिइन् कुरैकुरामा निजले मलाई तपाईसँग कुरा गर्नै पुगेको छैन, म आज तपाईसँग जान्छु, तपाईसँगै धेरै कुरा गर्नु छ र मेरा केहि व्यक्तिगत कुराहरु पनि गर्न बाँकी छ भनेकोमा मैले निजलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु, हायात होटलमा जाउँ, म तिमीलाई एउटा कोठाको प्रबन्ध गरी दिन्छु, त्यहि गएर तिम्रा कुराहरु सुन्छु भनी प्रस्ताव राखेको थिएँ र निज आत्तिंदै त्यहा सबै खेलाडीहरु हुन्छन, त्यसमाथी देव पनि त्यहि हुन्छ भन्दै आनाकानी गर्न थालिन । निज आनाकानी गरेको देखी, ठिकै छ नि त, म भोली क्रिकेटका लागी बाहिर जानु छ, अरु सबै खेलाडीहरु हायातमा बसेका छन, मलाई जसरी भए पनि पुग्नुपर्छ ।

म तिमीलाई मैले चिनेको र म लगायत अन्य खेलाडीहरु कहिलेकाँही क्याम्पका लागी जाने Hotel Kathmandu Inn मा फोन गरी एउटा कोठा बुक गरीदिन्छु, म पनि एक छिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टेल सम्म पुर्‍याई दिनका लागी बिहानै उठेर आउँला भनेकोमा निजले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल Hotel Kathmandu Inn मा फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ । Hotel Kathmandu Inn मा पुगेपछि मैले निजलाई तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउछु भनेपछि निज गाडीबाट आफ्नो मोबाईल र मास्क लिई गइन् भने म गाडी पार्किङ गर्न गएको थिएँ । मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले कोठा चाबी लिई पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन, त्यसपछि म त्यहि कोठामा गएँ, कोठामा पुगी ए.सी. नचेलेको देखी मैले होटलको स्टाफलाई ईनफम गरें । त्यसपछि कोठाको ए.सी. बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भने अनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३:५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ ।

कोठामा पुगीसकेपछि म कुराकानी गर्नका लागी कुर्चीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिईन । मैले किन ढोका लक गरेको भन्दा केहि हुदैन, it’s ok भन्दै जवाफ फर्काईन । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसि रहे भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागी बाथरुम गई पुनः कुर्चीमा आई बसें । त्यसपश्चात खेल जिवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोहि क्रममा मेरो व्यक्तिगत जिवनको बारेमा कुरा गर्दा मैले मेरो girl friend रहेको र छिटै मेरो १/२ वर्षमा बिवाह गर्ने योजना बनाएको कुरा समेत गरेको थिएँ । त्यसपछि मैले तिम्रो बारेमा भनन त भन्दा मेरो घर नुवाकोट हो तर म बिरगंजमा जन्मेकी हुँ । अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्धमा बिच्छेद (divorce) भएको छ । मेरो बावु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं  त कहिले पोखरा गर्दै बिचबिचमा बिद्यालय परिवर्तन गर्दै अहिले पुन काठमाण्डौमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् ।

निजले आफ्नो बावु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थिती समेत राम्रो नरहेको कुरा बताइन् । कुराकानीको क्रममा निज उदास देखिएकोले मैले don’t worry सब ठिक हुन्छ, दुखी नहोउ भन्ने कुरा गरें । निजको आर्थिक अवस्था ठिक नरहेकोले निजले मलाई sponsership का लागी समेत कुरा गरेको र sponsership ले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले  मैले ठिकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरी उदास भएको देखेपछि मैले केहि गित सुनाएँ र त्यसपछि निजको अनुहारमा खुसी देखी मलाई पनि खुसी लाग्यो । कुराकानी गर्दागर्दै करिब ०३:४५/ ०४:०० बज्यो । कुराकानी कै क्रममा निज आफैले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिए, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुवाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरा समेत गरेकी थिईन ।

यो कुरा सुन्दा निजमाथी शंका लागी तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोली बिहान होस्टेलसम्म पुर्‍याई दिन आउँछु भन्दा निजले तपाई अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाई यहि बस्नुस, हामी यहि कुराकानी गरौँला भनी आग्रह गरिन । त्यसपछि मलाई निजले भनेको कुरा पनि ठिक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यहि सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्‍याई दिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन्  र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाई बरु यहि बस्नुस् , हामी यहि बसी अझै केहि गफ गरौँला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सिमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यहि ठिक छु भन्दै निजको आग्रहलाई अस्विकार गरी कुर्चीमा बसे र निज बेडमै थिइन् ।

मैले मेरो मोबाईलमा बिहानको ०६:०० बजे alarm लगाई  कुराकानी गर्दा गर्दै म कुर्चीमा निदाएँ । बिहान ०६:०० बजे alarm बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिईन, मैले निजलाई उठाएँ । म फेरी बाथरुममा फ्रेस भई आई निजलाई तिमी breakfast मा केहि लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६:४५ बजे तिर हामी होटलवाट निस्केका थियौं । कोठाबाट सँगै निस्किने क्रममा म भर्‍याङबाट छिटै तल गई पार्किङमा राखेको गाडी लिन गए भने निजपनि  खुसी हुदै होटलबाट बाहिर निस्की गाडीमा आई बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गई मैले निजलाई होस्टेल नजिक छाडी दिएको थिएँ । त्यसपछि म पनि आफ्नो होटलतिर लागे र सोहि साँझ म लगायत मेरो क्रिकेट टिम भई केन्यातर्फ लागेका थियौं । केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो ।

मैले निजलाई म अब आफ्नो काममा busy  हुन्छु, game मा focus गर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडिया मार्फत एक्कासी निज पीडित भनीएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को दाई परिवर्तित नाम गौशाला २६ (छ) (०७९।०८०) ले म उपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगीसकेको र आफ्नो boy friend  समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गितको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ-आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी सन्दिप लामिछानेको बयान ।



प्रकाशित: Oct 31, 2022| 19:27 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।