काठमाडौं- नेपाली समाजमा कुप्रथालाई तिलाञ्जली दिइए पनि व्यवहारिक रूपमा भने अझैं सतप्रतिशत तिलाञ्जली दिन नसकिएको दृष्टान्त हाम्रा सामु घाम जत्तिकै छर्लङ्ग छ।
कानुनमा कुप्रथा अन्त्यका दस्तावेज कोरिए तर कानुन त मान्नेका लागि मात्र न हो, नमान्नेका लागि कानुनका दस्तावेजले पनि कुनै अर्थ राख्न सकेका छैनन्। परिणामतः साहित्यमा यस्ता विषयवस्तु बारबार उठान गरिन्छ।
यस्तै विषयवस्तु बोकेको चलचित्र ‘निरमाया’ हो। पश्चिम नेपालको दाङका दुई नायक अनुबन्धित भएर निर्माण कार्य सम्पन्न भई प्रदर्शनको तयारीमा ‘निरमाया’ चलचित्र रहेको छ।
चलचित्र निरमायामा लामो समयदेखि कलाक्षेत्रमा सक्रिय रहँदै आएका दाङका अजित लामिछाने र जेबि डिसी नायकका रूपमा रहेका छन्। चलचित्र निरमायाको केही दिनअघि टिजर सार्वजनिक गरिएको छ।
मदानी मुभिजको प्रस्तुतीमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौं समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ।
अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुती रहेको नेपाली सामाजिक चलचित्र ‘निरमाया’को निर्देशन रमेश कोइरालाले गरेका हुन्। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्।
चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्र ‘निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बोकेको छ।
चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ।
रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ। विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो।
एक मिनेट ४५ सेकेन्ड लामो टिजरले वर्षौंदेखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ। टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
नेपाल सरकारको संविधानमा १७ वर्षअघि अन्त्यको घोषणा गरिएको जातीय छुवाछुतको वर्तमान अवस्थामा पनि शहर केन्द्रित भएको तर गाउँ गाउँ कुना कन्दरासम्म यसको प्रभाव अझै रही रहेको र यस चलचित्रले उक्त विषयमाथि आम जनमानस र नयाँ पिंढीहरूलाई सकारात्मक सन्देश दिई समाज र सोच परिवर्तन गर्न सफल रहने विश्वास निर्माण टिमको रहेको छ। निर्माण टिमले यस चलचित्रलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न शोजहरू गरी जना चेतना जगाउने लक्ष्य लिएको छ।