नुवाकोट- रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस रसुवाको कालिकामा दुर्घटना भएको छ। कालिका गाउँपालिका-३ मा कालिकास्थानमा बस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्।
घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशूली र काठमाडौंमा उपचार भइरहेको छ। गम्भीर घाइतेको काठमाडौको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
सडकमार्गमा अनियन्त्रित भई कान्तिपुर यातायातको बा३ख ६०३५ नम्बरको यात्रुबस कालिकास्थान मुनिको घुम्तीमा दुर्घटना भएको रसुवा प्रहरीले जनाएको छ। बसमा तिहार मनाएर नुवाकोट र काठमाडौं जाँदै गरेका यात्रु रहेको जनाएको छ।
प्रहरीले बसका सहचालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। घाइतेलाई दुर्घटनापछि उद्धार गरी स्थानीय मेडिकल, त्रिशूली अस्पताल तथा काठमाडौं पठाएर उपचार भइरहेको बताइएको छ। बसका चालक भने दुर्घटनापछि फरार रहेका छन्।