मोरङ- मंसिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आ–आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित पुगिसकेका छन्। मतदातालाई भेट्ने, उनीहरुका समस्या र गुनासा सुन्ने तथा आफ्ना कुरा भन्ने काममा उम्मेदवार आफ्ना एजेण्डा लिएर सक्रिय भइरहेका छन्।
दसैँ, तिहारजस्ता मूख्य पर्व सकिएसँगै चुनावी कार्यक्रमका शृंखला बढेका छन्। मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्र रहेका छन्। मोरङ ३ को चुनावी प्रतिस्पर्धा र गतिविधिलाई निकै उत्सकुतापूर्वक हेरिएको छ। गणतन्त्र घोषणपश्चात् वि.सं.२०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) बाट सावित्रीकुमार काफ्ले विजयी बनेका थिए।
दोस्रो संविधान सभाको निर्वाचन, २०७० मा नेपाली कांग्रेसबाट दिलिप गच्छदार विजयी बन्न सफल भए। गत २०७४ सालको आमनिर्वाचनमा नेकपा (एमाले) बाट भानुभक्त ढकाल विजयी भएका थिए। गत निर्वाचनमा एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनील शर्माबीच मुख्य प्रतिस्पर्धा रहेको थियो भने यसपटक पनि ढकाल र शर्माबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ। यद्यपि राप्रपाकी रेखा थापाले पनि दुवैको मत काट्ने आकलन गरिएको छ।
गत निर्वाचनमा खसेको ९१ हजार ६०६ मतमध्ये ढकालले ४२ हजार ४१३ मत ल्याएर विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी शर्माले ४० हजार ५०६ मत ल्याएका थिए।
मोरङ-३ (१) बाट कांग्रेसका सूर्यमाराज राई प्रदेश सभा सदस्यमा विजयी भएका थिए। उनले २० हजार २९९ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीता तिम्सीनाले १९ हजार ३९९ मत ल्याएकी थिइन्।
मोरङ-३ (२)मा एमालेबाट राजकुमार ओझा विजयी बनेका थिए। ओझाले २२ हजार ८२० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका ललित श्रेष्ठले २० हजार २८७ मत ल्याएका थिए।
मोरङको क्षेत्र नम्बर ३ मा सङ्घ र प्रदेशमा गरी ३३ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये १९ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। नेमकिपाका ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीका भवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, नेकपा (माले) का उद्धिमबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेसनलिस्ट पिपल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती पनि चुनावी मैदानमा छन्।
त्यसैगरी स्वतन्त्रमा दिनेश चापागाईं, जयराज संयोग, कृष्ण राई, पङ्कजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेदवार बनेका छन्।
आगामी निर्वाचनमा मोरङ-३ (१) तर्फ कांग्रेसका शेखरचन्द्र थापा एमालेका दिलिपकुमार राई, राप्रपाका तिर्थबहादुर गुरुङलगायत सात जनाको उम्मेदवारी रहेको छ भने दुईतर्फ एमालेका ज्ञानेन्द्र सुवेदी, नेकपा(एकीकृत समाजवादी)बाट लक्ष्मीकुमार श्रेष्ठ र राप्रपाबाट रमेश रिजाललगायत १३ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाँउपालिका र पथरी शनिस्चरे नगरपालिकाका २४ वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार ८३३ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश–१ मा ७५ हजार ३९३ कुल मतदाता संख्या रहेकोमा ३८ हजार ६१२ महिला मतदाता छन्।
त्यस्तै प्रदेशसभाको २ तर्फ ७४ हजार २४० कुल मतदाता संख्या रहेकोमा ३८ हजार ६२७ महिला मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले बताए। क्षेत्रभर ४८ मतदान केन्द्र रहनेछन् जसमध्ये सबैभन्दा बढी बेलबारीमा २८, पथरी शनिस्चरेमा १, सुन्दरहरैँचामा १२ र कानेपोखरीमा आठ मतदानस्थलमा रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत संख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ। एकल मतमा भने एमाले थोरै अगाडि छ। सो निर्वाचनमा एमालेको ३७ हजार ४१० र जनता समाजावादी पार्टीको ४६३ मत आएको थियो। जसपा एमाले गठबन्धनमा ३७ हजार ८७३ मत देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुई हजार १२१ मत छ। अर्कातर्फ कांग्रेसको ३६ हजार ९१६, माओवादीको सात हजार तीन सय ७३, एकीकृत समाजवादीको एक हजार ८५५ मत रहेको छ। सत्ता गठबन्धनको कूल मत ४६ हजार १४१ मत रहेको छ।
कांग्रेसका उम्मेदवार सुनिल शर्मा ‘स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउँछन्। ‘अघिल्लो चुनावमा थोरै मतले मात्रै हारेँ, यसपटक गठबन्धनसमेतको साथ रहेकाले दोब्बर मतले जित्छु,' शर्मा बताउँछन्।
एमालेका उम्मेदवार भानुभक्त ढकालले अघिल्लो पटक जितेर मन्त्री बन्दा महत्वपूर्ण कानुन बनाउनै धेरै समय लागेको र अधुरा काम पूरा गर्ने योजना रहेको बताउँदै यस पटक पनि सहजै आफ्नो जित रहने बताए।
यहाँ राप्रपाबाट नायिका रेखा थापाको उम्मेदवारी रहेको छ। अघिल्ला चुनावमा जितेका सांसदले काम नगरेपछि आफू जन्मभूमि फर्किएर उम्मेदवारी दिएको उनको भनाइ छ। उनी पनि घरदैलो र जनतासँग भेटघाट एवम् घरदैलोमा व्यस्त छन्। आफू मतदातासँगै रहने भन्दै उनले भोट मागिरहेकी छन्। उनले विगतमा राप्रपाका उम्मेदवारले ल्याएको भन्दा निकै बढी मत ल्याउने अनुमान गरिएको छ। यद्यपि सांगठनिक मत कम भएका कारण जितका लागि पर्याप्त मत ल्याउन चुनौतीपूर्ण भएको स्थानीयको भनाइ छ।
आँउदो निर्वाचनमा पहिलो पटक भोट हाल्ने तयारीमा रहेका बेलबारी ११ का साभार श्रेष्ठ असल, भ्रष्टचारविरोधी अनि आम जनभावना बुझ्ने उम्मेदवारलाई भोट हाल्ने बताउँछन्। यस निर्वाचन क्षेत्रमा सुकुम्बासी समस्या मुख्य रहेकोले यसको दिर्घकालीन समाधान गरिदिन उम्मेदवारसँग माग रहेको पथरी शनिश्चरेकी माया राई बताउँछिन्। -विवेक मिश्र/रासस