पर्यटकलाई बिछट्टै लोभ्याउने स्थलमा पर्छ, पोखरा। पोखरा घुम्ने जोकोहीले उत्साहपूर्वक बोल्ने गर्दछन् यो। मेरा लागि यस पटकको पोखरा यात्रा थप उत्साहप्रद हुनेवाला थियो।
दुई साताअघि मात्र एक दिनका लागि पोखरा जान पाएको हो। सात दिनका लागि जाने तयारीमा थिएँ। तर भ्रमण घुम्नका लागि मात्र थिएन। नवौं राष्ट्रिय खेलकुद पोखरामा हुँदै थियो। त्यसकै सिलसिलामा म असोज २८ गते जाँदै थिएँ।
पोखरा जान सम्पादकको अनुमति पाएकै दिन रातको समयमा फोन आयो। मुकुन्दको रहेछ। उनी पहिलोपोस्टमा खेलकुदमा कलम चलाउँछन्।
‘हेलो,’ मैले फोन उठाएँ।
‘अँ। पोखरा जाने, बस्ने केही योजना बन्यो?’ प्रश्न थियो।
‘छैन केही पनि,’ मैले उत्तर दिएँ।
‘म बाइकमा जाने सोचिरहेको छु। लग्ने हो बाइक?’
‘एक्लै पुर्याउने आँटै छैन।’
‘त्यसो भए मेरो बाइकमा जाऔं दुवै जना।’
मैले हुँदैन भन्ने कुरै थिएन। चारपांग्रेमा सहज नलाग्ने मैले बाइकको अफर किन छाड्नु? अब रमाइलो थपिँदै थियो। आफ्नै समयमा जान मिल्यो। ठाउँ हेर्दै, आराम गर्दै। बाइकको मजा यही हो।
मैले योजना बनाउन थालेँ। ३६ खेलका तीन सयभन्दा धेरै इभेन्ट भइरहेका थिए। सकेसम्म धेरै इभेन्ट कभरेज गर्ने अनि बीचमा केही समय निकालेर घुम्ने। मलाई थाहा थियो सेड्युल टाइट हुनेवाला छ।
अघिल्लो दिन बेलुका उद्घाटनको तालिका आइसकेछ। २८ असोजमा रंगशालामा ३ बजे उद्घाटन हुने भएपछि ९ बजे काठमाडौंबाट निस्कने योजना बनायौं। यो समय थानकोटमा धेरै जाम हुने याद नगरी हिँड्दा कम सकस भएन।
मुग्लिनमा चियाको चुस्की लिएर हामी मर्स्याङ्दीको छङछङ सुन्दै अघि लाग्यौं। यो बाटोमा यात्रा पहिलो थियो। गज्जबको बाटो, त्यसमाथि अग्लाअग्ला डाँडा साथै भर्खरै खुलेको मौसम। मोबाइल निकालेर भिडियो बनाउन लागेँ।
जामले हामीलाई एक घण्टा ढिलो गराएकै हो। भाग्यवश मलेखु पुग्नुअघि बाटो बनिरहेको ठाउँमा जामको सुरुमा पर्यौं। त्यहाँबाट अघि लाग्न पाएपछि त्रिशूलीको शान्तपन अनि भिरपाखा हेर्दै सरर अघि बढ्यौं। बाइकमा पछि बस्नुको रमाइलो भनेकै सबैतिर हेर्न पाउनु हो।
‘यो बाटो बसमा हिँड्दा पत्रु लागे पनि यसको असलियत बाइकमा हिँडेपछि थाहा हुने रहेछ। साइडमा देखिने रमाइला गाउँ बसमा मिस हुने रहेछन्,’ मैले मुकुन्दलाई जानकारी दिइरहेको थिएँ।
‘बसेर हेर्न हुन्थ्यो। तर पछिका बस र ट्रकले उछिन्ला अनि उद्घाटन हेर्न नपाइएला,’ जवाफ आयो।
मुग्लिनमा चियाको चुस्की लिएर हामी मर्स्याङ्दीको छङछङ सुन्दै अघि लाग्यौं। यो बाटोमा यात्रा पहिलो थियो। गज्जबको बाटो, त्यसमाथि अग्लाअग्ला डाँडा साथै भर्खरै खुलेको मौसम। मोबाइल निकालेर भिडियो बनाउन लागें।
‘ओहो! क्या दामी आयो,’ भिडियो सुरु नगर्दै मुखबाट फुत्किइहाल्यो।
तर सधैं त्यस्तो रहेन। तनहुँको बाटोले हायलकायलै बनायो। ट्रक अघि लागेको कुनै ठाउँमा त बाटै नदेखिने गरी धुलो हुन्थ्यो। अनि लगातार बाइक उफ्रिएर खुट्टा दुख्न थालिसकेको थियो।
२ बजेपछि खाना खोज्न लागियो। साइडको पसलमा चटपटे खाने मनशायले आर्लिंदा हामी धुलैधुलो थियौं।चटपटेसँगै १५ मिनेटको बसाइपछि उकालो लाग्यौँ।