काठमाडौं- नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ३ मा माओवादीले उम्मेदवारी फिर्ता नलिए काठमाडौंको अन्य क्षेत्रमा त्यसको प्रत्यक्ष असर पर्ने चेतावनी दिएको छ। काठमाडौं ३ मा कांग्रेसबाट सन्तोष चालिसे उम्मेदवार छन्। देशभर सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएपनि यो क्षेत्रमा माओवादी केन्द्रले बद्री बजगाईँलाई उम्मेदवार बनाएको छ।
काठमाडौं-३ मा कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक हरिबोल भण्डारीले बजगाईँको उम्मेदवारी फिर्ता नभए काठमाडौं २ बाट उम्मेदवार बनेकी माओवादी नेतृ एंव पूर्वसभामुख ओनसरी घर्तीलाई समेत असर पर्ने चेतावनी दिए। उनले भने, ‘यस क्षेत्र सत्ता गठबन्धनबाट कांग्रेसलाई परेको हो। तर माओवादीले पनि उम्मेदवारी दिएको छ। फिर्ता नगरे काठमाडौं क्षेत्र २ को नतिजा पनि राम्रो हुँदैन।’
नेता भण्डारीले नेपाली कांग्रेसले अहिले गठबन्धनलाई धर्म जस्तै मानेको भन्दै अन्य दलहरुले पनि गठबन्धनलाई आफ्नो धर्म मान्नु पर्ने बताए। उनले माओवादीलाई कांग्रेसले काठमाडौं उपत्यकामा ४ वटा सिट दिएर सम्मान गरेको उल्लेख गर्दै विगतमा एक सिट जितेको माओवादीलाई ४ सिट दिएर सम्मान गरेको बताए।
भण्डारीले बजगाईँको उम्मेदवारीबारे वर्षमान पुनदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ध्यान दिनुपर्ने बताए। गठबन्धनका कारण कांग्रेस धेरै खुम्चिनुपरेकोबारे पार्टी सभापति शेरबहादुर देउवा र काठमाडौं ४ बाट उम्मेदवार रहेका कांग्रेस महामन्त्री गगन थापाले पनि ध्यान दिनुपर्ने भण्डारीको भनाई छ। भण्डारीले भने, ‘क्षेत्र ३ का जनताको सम्बन्ध क्षेत्र २ का जनतासँग निकै नजिक छ। अधिकांश भुगोलपनि एकै छ। काठमाडौं १० वटा क्षेत्र हुँदा विगतमा ३ नम्बर क्षेत्रको भूगोल अहिले २ नम्बर क्षेत्रमा छ। यसैले आउने दिनको विषयमा देउवा, दाहाल, वर्षमानहरुले सम्बोधन गरुन्।’
काठमाडौं ३ मा प्रदेशतर्फ (क) मा कांग्रेसका छिरिङ दोर्जे लामा र (ख) मा विमल ठकुरी उम्मेदवार छन्। माओवादीबाट (क) तर्फ कपिलमणि उप्रेती र (ख) मा महेश्वर फुयाल उम्मेदवार छन्। एमालेले काठमाडौं ३ मा प्रतिनिधि सभामा कृष्ण राईलाई उम्मेदवार बनाएको छ। राई अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।