काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ।
योसँगै समानुपातिक तथा प्रत्यक्षतर्फ दुवै गरी कुल संख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको हो।
आइतबारसम्म प्रत्यक्षतर्फ १ करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको छ। जसमा प्रतिनिधिसभाका लागि ८७ लाख १ हजार र प्रदेशसभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ।
आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्नेछ।
आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ।
अब ९ वटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ। ढुवानी भएकामध्ये प्रदेशसभाका लागि १ करोड ९६ लाख १७ हजार तथा प्रतिनिधिसभातर्फ १ करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ।
अब प्रदेशसभाको ५ लाख ६८ हजार तथा प्रतिनिधिसभाको ५ लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ।