काठमाडौं-अबको तीन वर्षपछि मुलुकको आर्थिक वृद्धिदर ९.५ प्रतिशत पुग्ने देखिएको छ । मध्यकालीन प्रमुख समष्टिगत सूचांकको आधारमा आगामी तीन वर्षमा मुलुकको वार्षिक आर्थिक वृद्धिदर ९.५ प्रतिशत पुग्ने राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
उनले सिंहदरबारमा आइतबार बसेको संघीय संसदको आर्थिक समिति बैठकमा रष्ट्रिय योजना आयोगको भूमिका विगतका प्रयास र आगामी कार्यदिशा प्रस्तुत गर्ने क्रममा आर्थिक वृद्धिदर बढ्ने दाबी गरेका हुन् ।
‘गएको आर्थिक वर्ष ५.९ प्रतिशत मुलुकको आर्थिक वृद्धिदर थियो। चालु आर्थिक वर्ष ७.९ प्रतिशत पुर्याउने लक्ष्य राखिएकोमा अगामी आर्थिक वर्ष ९.१ र अबको तीनवर्षपछि आर्थिक वर्ष ०७७/७८ मा ९.५ प्रतिशत पुग्ने हाम्रो प्रक्षेपण हो,’ उलने भने ‘त्यस्तै कृषि, गैरकृषि, उद्योग, सेवाको वृद्धिदर समेत बढ्ने प्रक्षेपण गरेका छौं ।’
उनका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको ४.८, गैरकृषि ८.९, उद्योग १२.२ र सेवा क्षेत्र ७.९ प्रतिशत वृद्धिको लक्ष्य राखिएकोमा तीन वर्षपछि ती क्षेत्रमा क्रमशः ५.६, १०.७, १४.९ र ९.४ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ ।
मुद्रास्फीति दर ६.५ प्रतिशतमै कायम हुने प्रक्षेपण गरिएको छ ।
उनकाअनुसार आगामी तीन वर्षको अबधिमा मुलुकमा रहेको गरिबीको रेखामुनिको जनसङ्ख्या १७ प्रतिशतबाट १४ प्रतिशतमा, बहुआयामिक गरिबीको सूचांक २३ प्रतिशतबाट २०.५, प्रतिलाख हुने जीवित मातृ मृत्युदर चालु आव १४५ जनादेखि घटाएर १२५ र प्रतिहजार जीवित बाल मृत्युदर चालु आवमा ३० जना पुर्याउने लक्ष्य राखिएकोमा तीन वर्षपछि आव ०७७/७८ मा झनै घटेर २६ जना मात्रै पुग्ने आयोगको सर्वेक्षण छ ।
प्रतिव्यक्ती आय ३७ हजार बढ्ने
आगामी तीन वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३७ हजार रुपैयाँ बढ्ने भएको छ । राष्ट्रिय योजना आयोगकोअनुसार नेपालीको गएको आव ०७४/७५ मा प्रतिव्यक्ति आम्दानी एक लाख तीन हजार रुपैयाँ थियो । चालु आवमा उक्त ग्रार्हस्थ्य प्रतिव्यक्ति नेपालीको आम्दानी एक लाख १७ हजार पुग्ने लक्ष्य राखेको छ ।
उक्त अम्दानी बढेर आगामि अवमा एक लाख ३४ हजार र तीनवर्षपछि ०७७/७८ मा एक लाख ५४ हजार रुपैयाँ पुग्ने आयोगले प्रक्षेपण गरेको सचिव अर्यालले बताए ।
‘मानव विकास सूचंकाक समेत चालु आवमा ०.५७ प्रक्षेपण गरिएकोमा तीन वर्षपछि बढेर ०.६१ पुग्ने अनुमान हामीले गरेका छौं,’उनले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४