शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा पोलिसी सरेन्डर : ५ कम्पनीले घटाउँदा करिब २५ प्रतिशत सुधार

बिमा पोलिसी सरेन्डर : ५ कम्पनीले घटाउँदा करिब २५ प्रतिशत सुधार

नेपाल लाइफ, लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र एसियन लाइफले साउनको तुलनामा पोलिसी सरेन्डर कम गरेपछि औसतमा करिब एक चौथाइ सरेन्डर दरमा सुधार आएको हो।
 |  आइतबार, कात्तिक ६, २०७९

भीमा पन्थी

भीमा पन्थी

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं– जीवन बिमा गरेर समयावधि नपुग्दै पोलिसी त्याग गर्ने (बिमा सरेन्डर) बीमितको संख्यामा सुधार आएको छ। चालू आर्थिक वर्षको भदौमा बिमा सरेन्डर गर्नेको संख्या कम रहेको बिमा समितिले जानकारी दिएको हो।

triton college

समितिको तथ्यांकअनुसार भदौमा १ अर्ब १४ करोड ८६ लाख ७२ हजार रुपैयाँका ८ हजार ५२ वटा पोलिसी त्याग भएका छन्, जुन सरेन्डर रकम साउनको तुलनामा २४.०६ प्रतिशतले कम हो। अर्थात्, साउनमा १ अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका थिए।

यी हुन् पोलिसि सरेन्डर कम गर्न सफल ५ कम्पनी
पोलिसी समर्पण(त्याग) संख्या र समर्पण रकमको आधारमा हेर्दा ४ कम्पनीमा मात्रै सुधार आएको देखिन्छ। नेपाल लाइफ, लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र एसियन लाइफले साउनको तुलनामा पोलिसी सरेन्डर कम गरेका हुन्। चार वटा  कम्पनी मात्रै पोलिसी सरेन्डर कम गर्दा औसतमा करिब एक चौथाइ सरेन्डर दरमा सुधार आएको हो।

नेपाल लाइफले साउनको तुलनामा पोलिसी सरेन्डर संख्या ६६८ कम गर्दा समर्पण रकममा पनि २२ करोड ५० लाख ९२ हजार कमी आएको छ। अर्थात्, कम्पनीका साउनमा ६४ करोड ९९ हजार रुपैयाँ बराबरका ३ हजार ६२४ पोलिसी सरेन्डर भएका थिए भने भदौमा ४१ करोड ४९ लाख ९९ हजार रुपैयाँ बराबरका २ हजार ९५६ पोलिसी सरेन्डर भएका थिए।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पाेरेसन पनि पोलिसी सरेन्डर कम गर्न सफल भएको छ। साउनमा ३३ करोड ४५ लाख ५९ हजार रुपैयाँ बराबरका १ हजार ६६६ पोलिसी सरेन्डर भएकामा भदौमा २८करोड १ लाख ९६ हजार रुपैयाँ बराबरका १ हजार ३३८ पोलिसी संख्या मात्रै सरेन्डर भएका हुन्।

corrent noodles
Metro Mart

एसियन लाइफले सरेन्डर पोलिसी संख्या र रकममा भने केही नियन्त्रण गर्न सफल भएको छ। साउनमा यस कम्पनीका बीमितले ७ करोड २४ लाख रुपैयाँ बराबरका ७३७ पोलिसी सरेन्डर गरेका थिए। भदौमा मात्रै ४ करोड ३४ लाख बराबरका ६०६ पोलिसी सरेन्डर भएका हुन्।

सानिमा लाइफमा पनि साउनको तुलनामा भदौमा पोलिसी सरेन्डर कम देखिएको छ। साउनमा ३२ वटा पोलिसी सरेन्डर हुँदा यसको रकम ३८ लाख ६६ हजार रहेको थियो भने भदौमा २३ पोलिसी सरेन्डर हुँदा यसको रकम पनि कम भई २७ लाख ४६ हजारमा खुम्चिएको हो।

त्यसैगरी, रिलायन्स लाइफका साउनमा ६१ लख बराबरका ७२ वटा पोलिसी सरेन्डर भएका छन् । भदौमा घटेर ४४ लाख बराबरका मात्रै ४९ पोलिसी सरेण्डर भएका छन्।

नेपाल लाइफ र लाइफ इन्स्योरेन्सकै ५० प्रतिशत बढी हिस्सा
सबैभन्दा ठूलो संख्यामा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पाेरेसनका बीमित रहेका छन्। कुल सरेन्डर पोलिसी संख्याको आधारमा यी दुई कम्पनीको हिस्सा ५० प्रतिशत बढी रहेको छ।

भदौमा नेपाल लाइफका बीमितले २ हजार ९५६ र लाइफ इन्स्योरेन्स कर्पाेरेसनका १ हजार ३३८ गरी दुई कम्पनीका कुल ४ हजार २९४ पोलिसि संख्या सरेन्डर(त्याग) गरेका छन्। जुन भदौमा कुल सरेन्डर संख्या ८ हजार ५२ वटाको ५३.३२ प्रतिशत हो। यस्तो हिस्सा अर्थात् साउनमा कुल सरेन्डर संख्यामा यी दुई कम्पनीको हिस्सा ६२ प्रतिशत बढी थियो। कुल सरेन्डर रकम १ अर्ब १४ करोडमा यी दुई कम्पनीको हिस्सा ६० प्रतिशत हो। साउनमा यस्तो हिस्सा ६४ प्रतिशत थियो। 

बिमा क्षेत्रको नियामक बिमा समिति।
पोलिसी सरेन्डर दर बढेका ११ कम्पनी
साउनको तुलनामा भदौमा १० कम्पनीको पोलिसी सरेन्डर दर बढ्दो छ। मेट, गुराँस, सूर्या, आइएमई, ज्योति, सन नेपाल, रिलायबल नेपाल लाइफ, सिटिजन, प्रभु र महालक्ष्मी लाइफको सरेन्डर दर बढेको छ। तथ्यांकअनुसार सरेन्डर पोलिसी संख्या र सरेन्डर रकम दुवैको दर बढ्दो देखिएको छ।

मेट लाइफका साउनमा २ करोड ८८ लाख ९५ हजार बराबरका ३५५ पोलिसी समर्पण भएका थिए। भदौमा ३ करोड ६३ लाख २८ हजार बराबरका ३८६ पोलिसी सरेन्डर भएका छन्।

गुराँस लाइफको पनि पोलिसी सरन्डर दरमा वृद्धि भएको छ। साउनमा १ करोड ७८ लाख रुपैयाँ बराबरका २०५ पोलिसी सरेन्डर भएकामा भदौमा २ करोड ५० लाख बढीका ३२३ पोलिसी सरेन्डर भएका छन्।

सूर्या लाइफका साउनमा १०९ पोलिसी समर्पण भएकामा भदौमा ३०४ पुगेका छन्। समर्पण रकम २ करोड ६४ लाख भएकामा भदौमा ६ करोड २९ लाख रहेको छ।

आइएमई लाइफका अघिल्लो महिना ३१ वटा मात्रै पोलिसी सरेन्डरमा भएकामा भदौमा यस्तो संख्या ४६ पुगेको छ। सरेन्डर रकम साउनमा ४० लाख रहेको थियो भने भदौमा ५२ लाख छ।

ज्योति लाइफका साउनमा ३२ वटा पोलिसी सरेन्डर भएकामा भदौमा यस्तो संख्या ९५ रहेको छ। साउन र भदौमा सरेन्डर रकम क्रमशः ४५ लाख र १ करोड ९ लाख रहेको छ।

सन् नेपाल लाइफका साउनमा समर्पण संख्या १३ रहेकामा भदौमा ३९ रहेको छ। समर्पण मूल्य १० लाखबाट ५८ लाख पुगेको छ।
रिलायबल नेपाल लाइफका साउन र भदौमा क्रमशः १४५ र १५४ समर्पण संख्या रहेका छन्। समर्पण रकम क्रमशः ६४ लाख र ७४ लाख रहेको छ।

सिटिजन लाइफका समर्पण संख्या साउनमा ४८ रहेकामा भदौमा सय रहेको छ। त्यस्तै, समर्पण रकम २८ लाखबाट ७५ लाख पुगेको छ।
प्रभु लाइफका बीमितले साउनमा ३४ पोलिसी सरेन्डर गरेका थिए भने भदौमा ५२ सरेन्डर भएका हुन्। समपर्ण रकम ६६ लाखबाट ९३ लाख पुगेको हो।
महालक्ष्मी लाइफ कम्पनीका साउनमा १७ पोलिसी समर्पण भएका छन् भने भदौमा ३२ वटा। दुई महिनामा क्रमशः ४४ लाख र ५६ लाख बराबरका उक्त पोलिसी सरेन्डर भएका हुन्।

त्यसैगरी युनियनमा साउनमा ५० लाख बराबरका ३६ पोलिसी सरेन्डर भएका थिए भने भदौमा १ करोड ३७ लाख बराबरका ४८ पोलिसी सरेन्डर भएका छन्।

त्यस्तै, नेसनल लाइफमा पोलिसी सरेन्डर संख्या बढे पनि रकममा भने गिरावट आएको छ। साउनमा ६१६ पोलिसी सरेन्डर हुँदा यसको  रकम २८ करोड थियो भने भदौमा संख्या बढेर ८७३ पुगे पनि रकममा भने गिरावट आएको छ। भदौमा मात्रै १४ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो।

प्राइममा सरेन्डर पोलिसी संख्या बढे पनि रकम भने कम देखिएको छ। साउन र भदौमा सरेन्डर रकम र संख्या क्रमशः ७८ लाख बराबरको ४२ र ५५ लाख बराबरका ७५ पोलिसी सरेन्डर भएका छन्।

राष्ट्रिय बिमा संस्थानका बीमितले त्याग गरेको पोलिसी संख्या साउनको तुलनामा कम देखिए पनि रकम बढी देखिएको हो। भदौमा संस्थानका बीमितले ६ करोड रुपैयाँ बराबरका ५५३ पोलिसी त्यागेका छन्। साउनमा ५ करोड ९० लाख बराबरका ६०८ पोलिसी त्याग भएका थिए।

बिमा समितिका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरका ८१ हजार ८६० बिमालेख समर्पण (त्याग) भएका थिए, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा समर्पण संख्या २९.२८ प्रतिशतले बढी हो भने समर्पण रकम २३.२७ प्रतिशतले बढी थियो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी त्याग भएका थिए।

समितिले अस्वाभाविक पोलिसी सरेन्डर दर घटाउन कम्पनीलाई निर्देशन दिँदै आएको छ। पोलिसीमा समेत परिवर्तन गरेको छ। समितिले बिमालेख खरिद गरेको १ वर्षमै पोलिसी सरेन्डर गर्न सक्ने व्यवस्थामा कडाइ गर्दै ३ वर्ष पुर्याएको छ। यद्यपि केही कम्पनीबाहेक धेरैले सरेन्डर दर कम गर्नेतर्फ नलागेको देखिन्छ।

प्रकाशित: Oct 23, 2022| 07:36 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्